s

घाइते मजदुरलाई ऋणको भारी

ठाकुरसिंह थारू

दैनिक मजदुरी गर्न नेपालगन्ज आउने बर्दियाकी खड्की चौधरी काम गर्दै गर्दा टाउकोमा चोट लागेर दुई साताअघि घाइते भएकी थिइन् । सामान्य उपचारले निको नभएपछि उनलाई सिटिस्क्यान गराउन पर्‍यो । उपचार गराउन उनले ऋण खोजिन् । घर निर्माणमा मजदुरी गर्ने उनलाई दैनिक ३ सय ज्याला दिइन्थ्यो । घाइते भएपछि काममा लगाउनेले उपचार नगराइदिँदा उनलाई ऋणको भारी थपिएको हो ।

बर्दिया मोतीपुरका रामचरण चौधरी मजदुरी गर्न नेपालगन्ज आएका बेला चोट लागेर घाइते भए । महिना दिनअघि घाइते भएका उनलाई काममा लगाउने व्यक्तिले उपचार नगराइदिएपछि परिवारलाई आर्थिक भार अरू थपिएको थियो । यी घटनाले दैनिक ज्यालामा काम गर्ने क्रममा ठूलो चोटपटक लागेर घाइते भएकाको काममा लगाउने व्यक्तिले उपचार नगराइदिँदा उनीहरूलाई आर्थिक समस्या हुने गरेको देखिन्छ । परिवार पाल्न ज्यान जोखिममा राखेर काम गर्नु पर्दा उनीहरू बेलाबखत सख्त घाइते हुन्छन् ।

दैनिक ज्यालामा काम गर्ने घाइते हुँदा काम लगाउनेले उपचार गराउनुपर्ने कानुनी व्यवस्था नहुँदा यस्तो समस्या आएको हो । श्रम कार्यालय, नेपालगन्जका प्रमुख मानबहादुर रावलले ऐनमा उपचार व्यवस्था नगरिएको बताए । 'सामान्य चोटपटक लागेको अवस्थामा काममा लगाउने व्यक्तिले उपचार गराइदिनुपर्ने कानुनी व्यवस्था छ । तर गम्भीर घाइते मजदुरको उपचारको हकमा कानुन मौन छ,' उनले भने, 'काममा लगाउने व्यक्तिले मानवीय धर्म सम्झेर उपचार गराउन सक्छन् । तर हामीले गराउनै पर्छ भनेर दबाब दिन सक्दैनौं ।'

परिवार पाल्न मजदुरीका लागि नेपालगन्ज आउने तर चोटपटक लागेर घाइते हुनेको अवस्था दर्दनाक बन्ने गरेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरू उपचारबाट वञ्चित हुन्छन् । 'दिनमा तीन सयसम्म कमाउन सकिन्छ । त्यसले परिवार पाल्न सकिन्छ । तर बिरामी घाइते भयो भने ऋणमा फसिन्छ,' घाइते खड्कीले भनिन्, 'अहिले मेरो अवस्था त्यस्तै भएको छ ।'

काम गर्दाका अवस्थामा चोटपटक लागेर घाइते भएकाको उपचार काममा लगाउनेले नै गर्नुपर्ने मजदुर क्षेत्रमा काम गर्ने संस्थाले माग गरेका छन् । जिफन्टले घाइते ४ मजदुरलाई काममा लगाउने व्यक्तिबाट उपचार खर्च दिलाएको जनाएको छ । जिफन्ट केन्द्रीय सदस्य पूर्ण केसीले काम गर्दाका अवस्थामा घाइते भएका मजदुर सम्पर्कमा आए उनीहरूका लागि वकालत गर्ने बताए । 'सबै मजदुरलाई हामीले त्यसबारे जानकारी दिन नसक्नु हाम्रो पनि केही कमजोरी होला,' उनले भने, 'तर हाम्रो सम्पर्कमा आएका त्यस्ता मजदुरका पक्षमा हामी लाग्छांै ।'

नेपालगन्जमा मजदुरलाई निकै जोखिम काममा लगाइन्छ । तर, उनीहरूलाई सुरक्षित हुन र सावधानीका कुनै सामग्री दिइँदैन । दैनिक ज्यालामा काम गर्नेको जीवन र उपचार बिमा केही छैन ।

Published on: 02 May 2014 | Kantipur

Back to list

;