s

हटेन बालीघरे प्रथा

अशोक दर्नाल

सरकारले बालीघरे प्रथा अन्त्यको घोषणा गरे पनि ललितपुरस्थित लामाटार र डाँडाथोकका २२ घर परियार त्यही प्रथामा काम गर्न बाध्य छन् ।  कमजोर आर्थिक अवस्थाका कारण पुख्र्यौली पेसा धान्न भन्दै उनीहरू यसो गर्न बाध्य भएका हुन् ।

पूर्वजले बालीघरे प्रथामै कपडा सिलाएको भन्दै काम लगाउनेले ज्यालामा काम गर्न नमान्ने गरेको स्थानीय ७६ वर्षे भक्त परियारले बताए । उनीहरू वर्षभरि कपडा सिलाएबापत एक घरबाट दुई पाथी चामल, दस पाथी धान र छ पाथी मकै परिश्रम पाउँछन् । 'एक वर्षसम्म निरन्तर घरमै धाएर नयाँ र पुराना कपडा सिलाउनुपर्छ । हामीले लिने गरेको बाली भने अझै बढेको छैन,' अर्का ७१ वर्षे दलबहादुर नेपालीले बताए । वर्षमा दुईपटक र दसैं/तिहार जस्ता चाडमा 'विष्ट'कोमा कपडा सिलाउनुपर्ने उनीहरूले जानकारी दिए । त्यसबाट वाषिर्क रूपमा हुने आम्दानीले वर्षभरि खान नपुग्ने भक्तले सुनाए । परम्परादेखि चल्दै आएको चलन भन्दै उनीहरू जति अन्न आए पनि काम भने छाड्न सक्दैनन् । 'सिलाइको नयाँ शैली अपनाउन ठूला र आधुनिक पसल खोल्न सक्ने अवस्था छैन,' ४८ वर्षे विष्णुमाया परियार भन्छिन्, 'बालीमा काम नगरे छोराछोरी कसरी पढाउनु ?' लामाटार ढुगिनीका ४५ वर्षे राजु परियारले जानेदेखि कपडा सिलाउने पेसाबाटै जीविका चलाउँदै आएका छन् । 'बालीमा काम गर्नु रहर होइन बाध्यता हो,' उनले भने, 'त्यसको विकल्प हामीसित छैन ।' यस क्षेत्रमा जातीय विभेद पनि उस्तै छ । कपडा सिलाएर पुर्‍याउन जानेलाई स्थानीयले छुवाछूतको व्यवहार गर्ने गरेका छन् । 'हामीले लगेको कपडा सुनपानी छर्केर चोख्याउने गर्छन्,' उनले भने ।

सहरका गल्ली चोक र चौबाटोमा छ्यापछ्याप्त्ाी खुलेका टेलरिङले त्यही सट, पाइन्ट र कोट सिलाएर राम्रो आम्दानी गरेका छन् । स्थानीय तहमा पनि यसलाई फैलाउन सके यसबाट राम्रो आम्दानी गर्न सकिने स्थानीय परियारहरू बताउँछन् ।

Published on: 12 September 2013 | Kantipur

Back to list

;