s

हङकङमा इ-नेटवर्किङ

निर्मल श्रेष्ठ

इन्टरनेट नेटवर्किङ व्यवसायीका प्रलोभनमा पर्दा हङकङमा रहेका नेपालीको झन्डै दुई अर्ब रुपैयाँ जोखिममा परेको छ । नेपालीको ठूलो लगानी रहेको तीनमध्ये एक नेटवर्किङ कम्पनी टाट पल्टिसकेको छ । अरू दुईले पनि महिनौंदेखि लगानीसमेत फिर्ता दिन सकेका छैनन् ।

एउटा एकाउन्टका लागि १ हजार २ सय ८८ देखि १ हजार ३ सय ८८ अमेरिकी डलर तिरेबापत महँगा स्मार्टफोन, ल्यापटप, घडीदेखि गाडी र घरसम्म बजार मूल्यभन्दा करिब आधामा उपलब्ध गराउने योजना यी कम्पनीले अघि सारेका थिए । प्रत्येक दिन एउटा एकाउन्टका लागि २० अमेरिकी डलरसम्म लाभांश दिने प्रस्तावसमेत उनीहरूको थियो । सुरुवातमा लगानी गर्नेले कम्पनीको योजना मुताबिकै फाइदा लिए । त्यसबाट यसतर्फको आकर्षण ह्वात्तै बढ्यो । कम्पनीहरूले वेबसाइटमार्फत कारोबार गर्ने गरेका थिए । छोटो समयमै फैलिएको यो व्यवसाय नेपाललगायत मुलुकमा पनि विस्तार गर्ने उनीहरूको योजना थियो । चीन र हङकङका हजारौं चिनियाँ यिनका सदस्य छन् । बेलायत, अस्ट्रेलियामा बस्ने नेपालीले पनि यसमा लगानी गरेका छन् ।

आरएसई बिड, बेटर लिभिङ गोल्बल मार्केटिङ -बीएलजीएम) र केचिङ होल्डिङस लिमिटेड -केसीकेसी) मा नेपालीका मात्र झन्डै दुई अर्ब रुपैयाँ लगानी रहेको अनुमान छ । यी तीन कम्पनीमा झन्डै एक हजार नेपाली सदस्य छन् । तिनले न्यूनतम १० हजारदेखि २८ लाख हङकङ डलरसम्म लगानी गरेका छन् । एक लाख डलर बढी लगानी गर्नेको संख्या अत्यधिक छ । टाट पल्टिसकेको आरएसई बिड ५ महिनाअघि मात्र सञ्चालनमा आएको थियो । उक्त कम्पनीले नेपालीबाट मात्र करिब ८ करोड ६६ लाख रुपैयाँ -७० लाख हङकङ डलर) उठाएको अनुमान छ । यसमा करिब तीन सय नेपाली सदस्य थिए । यसका सञ्चालक पक्राउ परे पनि कम्पनी टाट पल्टिएकाले रकम फिर्ता गर्न नसक्ने बयान उनले प्रहरीसमक्ष बयान दिएका छन् । केसीकेसी र बीएलजीएमका कार्यालय सञ्चालनमै छन् । तर आर्थिक समस्यामा परेको जनाउँदै दुवैले केही महिनादेखि लगानी रकम र इ-बिडिङमार्फत जितिएको सरसामान दिएका छैनन् । बीएलजीएम करिब डेढ वर्ष र केसीकेसी ९ महिनाअघि सञ्चालनमा आएको हो । यी कम्पनीले अझै आकर्षक योजनाहरू सुनाइरहेका छन् । केसीकेसीले सूचना जारी गर्दै ग्राहकको रकम सेयरमा परिणत गरिदिने दाबी गरेको छ । प्रहरीको 'कमर्सियल क्राइम ब्युरो' ले यी कम्पनीहरूमाथि अनुसन्धान थालेको जनाएको छ ।

छोटो समयमा टन्न कमाउने लोभमा कतिपयले स्वदेशको जग्गाजमिन बेचेर र बंैकबाट ऋण लिएरसमेत लगानी गरेको भुक्तभोगीहरूले बताए । कानुनी राज्यका कहलिएको हङकङमा पैसा डुब्दैन भन्ने विश्वासले पनि लगानीका लागि थप बल पुगेको ग्राहकहरूको भनाइ छ । व्यवसायी, संघसंस्थाका पदाधिकारी, कलाकारदेखि पत्रकारसम्म यसका ग्राहक छन् । ठूलो लगानी डुब्ने अवस्था आएपछि यहाँको नेपाली समाजमा यो घटना चर्चाको विषय बनेको छ । चिम सा चोयमा होटल व्यवसाय गरिरहेकी जयन्ती राईले दुई कम्पनीमा गरी करिब ३ लाख १६ हजार हङकङ डलर फसेको बताइन् । यसमध्ये १ लाख ५३ हजार डलर लगानी रहेको आरएसई बिड बन्द भइसकेको छ । 'वेटर लिभिङबाट केही कमाइ भएको थियो, त्यही लोभमा अन्य दुईमा पनि रकम लगाइयो,' केसीकेसीको क्यान्टोन रोडस्थित कार्यालयमा दिनहुँजस्तो धाइरहेकी उनले भनिन्, 'आजभोलि भन्दाभन्दै तीन महिना बढी बितिसक्यो, एक डलर फिर्ता पाएको छैन ।' ग्राहकले लगानी गरेको रकम झक्िन चाहे सुरुका दिनमा यी कम्पनीले बढीमा दुई हप्ताभित्रै लाभांशसहित दिने गरेका थिए । केसीकेसीमै सदस्य बनेका राम कार्कीले समेत ३ लाख ८८ हजार हङकङ डलर डुबेको सुनाए ।

कम्पनीले ग्राहक बटुल्न समाजका अगुवाहरूलाई समेत प्रयोग गरेको हङकङ नेपाली महासंघकी उपाध्यक्ष रिता गुरुङले बताइन् । आफू पनि अरूको दबाबमा सदस्य बनेको उनले उल्लेख गरिन् । 'महिनामा ५० हजार डलरसम्म झर्छ भन्ने देखाएर साथीका दबाबमा सदस्य बन्नेहरू धेरै छन्,' उनले भनिन्, 'यसमा कतिपय समाजका अगुवा भन्नेहरूको पनि चलखेल छ ।' आफूलाई यस्ता व्यवसायमा विश्वास नभएको उल्लेख गर्दै उनले अरूलाई पनि नलाग्न सुझाइन् । अहिले यही व्यवसायकै कारण पारिवारिक कलह र साथी-साथीबीच फाटो आउने अवस्था रहेको संगीतकार दिनेश सुब्बाले बताए । आफू पनि साथीभाइका लहैलहमा सदस्य बनेको उनले सुनाए । 'हङकङजस्तो कानुनी राज्य भएका ठाउँमा पनि यस्तो जालसाजी हुँदोरहेछ,' उनले भने, 'यो थोरैले फाइदा लिने धेरैलाई डुबाउने व्यवसाय रहेछ ।'

छिटो आम्दानी हुने लोभमा व्यवसायबारे नबुझी आँखा चिम्लेर लगानी गर्दा यस्तो अवस्था आएको केसीकेसीका ग्रुप लिडर मधुकुमार राईले बताए । यसअघि सञ्चालित गोल्ड क्वेस्ट, इजी क्यासलगायत नेटवर्किङ व्यवसायमा समेत नेपालीले लाखौं डलर डुबाएका छन् । कम्पनीले सुरुमा लगानी गर्ने १० प्रतिशत जतिलाई राम्रो लाभांश दिई प्रलोभनमा पारेको पत्रकार किसन राईले बताए । 'परम्परागत नेटवर्किङ व्यवसायभन्दा नयाँ आकर्षक योजनासहित आएकाले यस पटक धेरैजना झुक्किए,' उनले भने, 'यस्ता कम्पनीको आयु कति बढी लामो समय झुक्याउन सकिन्छ त्यसैमा भरपर्छ, यो फाइदा हुने व्यापार हुँदै होइन ।

यसरी हुन्छ व्यवसाय

इन्टरनेटका माध्यमबाट गरिने नेटवर्किङ शैलीको व्यवसायमा प्रति एकाउन्ट १ हजार २ सय ८८ देखि १ हजार ३ सय ८८ अमेरिकी डलर तिरेपछि सदस्य बन्न सकिन्छ । एकाउन्ट एउटा मात्र किन्न सकिने भए पनि धेरै लाभ लिने प्रलोभनमा अधिकांशले ३ देखि १५ वटा लिएका छन् । सदस्य बन्नासाथ आफूले तिरिएको रकमको करिब १४ प्रतिशत तुरुन्तै ग्राहकको इन्टरनेट खातामा फिर्ता हुन्छ । त्यसपछि प्रतिदिन प्रतिएकाउन्ट २० अमेरिकी डलर लाभांश जम्मा हुन्छ । तर यसमध्येको आधा अनिवार्य रूपमा कम्पनीकै खातामा राख्नुपर्ने प्रावधान छ । उक्त रकम ९९ देखि १ सय ८ दिनपछि फेरि नयाँ एकाउन्ट खोल्न प्रयोग गर्न सकिन्छ । तोकिएको दिनपछि एकाउन्ट थप्न नचाहेमा प्रतिदिन १० डलरका दरले प्राप्त रकम फिर्ता लिन सकिन्छ । तर नवीकरण नगरे बाँकी १० डलर भने फिर्ता हुँदैन । जसले ग्राहकलाई खाता नवीकरण गर्न बाध्य बनाउँछ । आफू- बाहेकलाई सदस्य बनाउनु आर्थिक रूपमा फाइदा हुने भए पनि अनिवार्य भने छैन । यस योजनामा अरूलाई सदस्य बनाउन नसके पनि निश्चित समयपछि आफ्नै रकमबाट हाँगा थपिँदै जान्छ । यो व्यवसायको लोभलाग्दो पक्ष भनेको इ-बिटिङ हो । सदस्यता लिएपछि प्रतिदिन एक एकाउन्ट बराबर निश्चित पोइन्ट दिइन्छ । उक्त पोइन्ट प्रयोग गरी इ-बिटिङमार्फत भाग्यशाली सदस्यले क्यामेरा, मोबाइल, घडी, ल्यापटपदेखि कार र घरसम्मका उपहार जित्न सक्छन् । यी सामग्री बजार मूल्यभन्दा झन्डै आधामा उपलब्ध गराइन्छ । जुन ग्राहकलाई प्रलोभनमा पार्ने बलियो हतियार हो ।

Published on: 05 May 2014 | Kantipur

Back to list

;