s

हुन्डीमा पक्राउ परेका कारोबारी पटके

राजधानीको खिचापोखरीमा शंकरलाल कोठारीको कार्यालय थोत्रा सामानले भरिएको छ। मिलापचन्द जैनको नाममा व्यवसाय अनुमति लिएका उनको कार्यालयमा बिक्री हुने सामग्री भने छैन। तर आवतजावत भने बाक्लै हुन्थ्यो। महानगरीय प्रहरी अपराध महाशाखाको टोली बुधबार त्यहाँ पुग्दा उनीसँगै थिए मृदु लामा। व्यापारको आवरणमा हुन्डीको धन्दा हुने सूचना पाएको प्रहरीले यी दुवैलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा खुल्यो– मृदु चाइनाबाट आएको हुन्डीको १० लाख लिन त्यहाँ आएका रहेछन्।
 
महाशाखाको टोलीले बुधबार छापा मारेर नियन्त्रणमा लिइएका मनी चेन्जर, सुन रिफाइनरीलगायत ८ कार्यालयका ११ सञ्चालकमाथिको कारबाहीबारे राजस्व अनुसन्धान विभागका अधिकारीसँग छलफल गर्दा उनी हुन्डी कारोबारीका रूपमा विभागको समेत निगरानीमा रहेको खुल्यो।
 
विभिन्न कारोबारको आवरणमा हुन्डी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले बुधबार पक्राउ परेकामध्ये अन्य २ कारोबारीसमेत पटके रहेको पुष्टि भयो। प्रहरीले ५९ लाख रुपैयाँसहित टोखास्थित नर्थप्वाइन्ट मनी एक्सचेन्जका सञ्चालक राजाराम पाण्डे र ८८ लाख ३५ हजारसहित आरबी कम्प्लेक्सस्थित नीलगिरी रेमिट प्रालिका सञ्चालक किरणकुमार गुरुङलाई पक्राउ गरेको थियो।
 
यसैगरी, ३ लाख नगदसहित ठहिटीमा रहेको ओम मनी एक्सचेन्जका सञ्चालक राकेश वैद्य, ३६ लाख रुपैयाँसहित सुन्धारामा रहेको देउराली मनी एक्सचेन्जका सञ्चालक नवराज गुरुङ, ७ सय ११ अमेरिकी डलरसहित सुन्धारास्थित देउराली ट्राभल्स एन्ड टुर्स प्रालिका म्यानेजर जेवाल हक, १६ लाख रुपैयाँसहित केशरी चन्द कचेरिया, २ लाख ६६ हजार रुपैयाँ, सुन र चाँदीसहित भारत महाराष्ट्र साङली जिल्लाका नन्दुकुमार मरगले र महितोस सेनापती र ३८ लाख रुपैयाँसहित न्युरोडस्थित कंगारु एक्सप्रेस सर्भिस प्रालिका सञ्चालक रवीन्› सुवेदी र पृथ्वीबहादुर रावत पक्राउ परेका थिए।
 
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ५९ लाख रुपैयाँसहित पक्रा परेका नर्थप्वाइन्टका पाण्डेलाई विभागले यस अगाडि दुईपटक नियन्त्रणमा लिएर कारबाही गरिसकेको थियो। ८८ लाख ३५ हजारसहित पक्राउ परेका नीलगिरी रेमिटका गुरुङ पनि विभागको हुन्डी कारोबारीको सूचीमा थिए। उनलाई विभागले यसअघि पक्राउ गरेर कारबाही गरिसकेको विवरण फेला परेको महाशाखाका एक अधिकारीले जानकारी दिए।
 
प्रारम्भिक अनुसन्धानमा उनीहरूले विभिन्न आवरणमा हुन्डीको कारोबार गर्ने गरेको, पैसा साट्न आउने व्यक्तिको विवरण नराख्ने र विदेशी मुद्रा सटहीको अनुमति लिएकाहरूका लागि नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको कारोबारको विवरण राख्ने सफ्टवेयरसमेत प्रयोग नगरेको खुलेको महाशाखाका एक अधिकारीले जानकारी दिए।
 
प्रारम्भिक अनुसन्धानबाट सुराकीबाट आएको सूचनाझैं उनीहरू हुन्डी कारोबारमा संलग्न देखिएपछि प्रहरीले बिहीबार राजस्व अनुसन्धान विभाग र राष्ट्र बैंकका अधिकारीसँग परामर्श गरी थप अनुसन्धानका लागि ११ जनालाई विभागमा पठाएको छ। विभागले विनिमयपत्र अधिकार ऐनअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पक्राउ परेका कारोबारीलाई बरामद भएको रकमसहित थप कारबाही र अनुसन्धानका लागि विभागलाई बुझाएको जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकामध्ये केहीको सम्पर्क जालो उपत्यका बाहिर समेत फैलिएको खुलेपछि अनुसन्धानलाई अगाडि बढाइएको उनले बताए।
 
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले मनी चेन्जरको अनुमति पाएकाहरूले कसले कहाँबाट ल्याएको रकम साटेको हो त्यसबारे पूर्ण विवरण राख्नुपर्ने, सटही गरिएको रकमको रसिद सुरक्षित राख्नुपर्ने र यसरी संकलन भएको रकम १५ दिनभित्र बैंकमा जम्मा गर्नुपर्ने नीति रहेको जानकारी दिए।
 
'१० लाखभन्दा बढी रकम कसैले सटही गरेको हो, त्यसको विवरण बैंकमा अनिवार्य पठाउनुपर्छ,' उनले भने, 'फेला परेको रकमको परिमाणअनुसार पक्राउ परेकाहरूले रकमको स्रोत खुलाउन नसके सम्पत्ति शुद्धीकरणको मुद्दासमेत आकर्षित हुन्छ।'
 
Published on: 2 October 2015 | Nagarik
 

Back to list

;