s

इराकका कम्पनीले फर्कन दिएनन्

इराकबाट फर्कन इच्छुक नेपालीलाई कम्पनीले अनुमति दिएका छैनन् । 'अवस्था सुरक्षित' रहेको भन्दै नियमित काममै लगाइरहेका छन् । धेरैजसो कम्पनीले सुरक्षा स्थितिबारे कामदारलाई ब्रिफिङ गर्ने गरेका छन् । असहज परिस्थिति आए आफैं उद्धार गरेर पठाउने आश्वासन दिइरहेका छन् ।
'छिटोभन्दा छिटो घर फिर्न चाहन्छौं,' बग्ददादस्थित एफएनसीमा कार्यरत जामुने तनहुँका कृष्णकुमार श्रेष्ठले कान्तिपुरलाई भने, 'कम्पनी हामीलाई पठाउने पक्षमा छैन ।'
 
कन्टेनर बनाउने त्यस कम्पनीमा सात नेपाली रहेका छन् । तिनमा स्याङ्जाका विष्णु थापा, काभ्रेका आइतसिंह तामाङ, रेखा पाखि्रन, दाङका राजकुमार डाँगी, बुटवलका हरिप्रसाद पाण्डे छन् । श्रेष्ठले भने, 'पठाइहाल्ने छाँटकाँट छैन । हामीलाई निकै तनाव भइरहेको छ ।' इराकको सुदहुर्मादीमा काम गर्ने पाँच जनाले पनि स्वदेश पठाउन कम्पनी राजी नभएको बताए । उनीहरूले बजारमा सामान पुर्‍याउनुपर्छ । नुवाकोटका राजुबहादुर आले मगर, म्याग्दीका ओमप्रसाद पुन, रूपन्द्रेही देवदहका नारायण राउत क्षेत्री, इन्द्रप्रसाद धिताल र रामप्रसाद खरेलले आफूहरू स्वदेश फिर्न चाहेको बताए । 'यहाँ के हुन्छ भन्ने यकिन छैन । अलि अघि नजिकै आत्मघाती बमहरू विस्फोट हुन्थे,' दुई लाख ५० हजार तिरेर ७ महिनाअघि आएका खरेलले कान्तिपुरसँग भने, 'हामीलाई यहाँ एकछिन बस्न मन छैन । साहु पठाउन चाहँदैन ।'
 
धेरैजसो कम्पनीमा संकट आइसकेपछि मात्रै पठाउने पक्षमा छन् । बग्दादकै होटलमा कार्यरत धदिङका दाउद तामाङले काम छाडेर बसे पनि नपठाएको बताए । 'हामी होटलमा १७ जना काम गर्छौं,' उनले भने, 'सुरुमा घर जाने भन्दै काम छाडेर बसियो । कम्पनीले खतरा भयो भने आफैंले तुरुन्तै पठाइदिने भन्दै काममै लगायो ।'
 
इराक हेर्ने जिम्मेवारी पाएका पाकिस्तानस्थित नेपाली राजदूत भरतराज पौड्यालले इच्छा भएर पनि र्फकन नदिने कम्पनीसँग आफूहरूले सम्पर्क गर्ने बताए । 'नेपाल र्फकन इच्छा भएका साथीहरूलाई र्फकन दिने कम्पनीको पूरा विवरण हामीलाई दिनुपर्छ,' उनले भने, 'यस विषयमा कम्पनीसँग छलफल गरेर फर्काउने वातावरण मिलाउनेछौं ।' बग्दादमा नेपालीको यकिन तथ्यांक दूतावाससँग छैन । राजदूत पौड्यालले नेपालीसँगको सम्पर्क बढो क्रम रहेको बताए । सरकारले इराकमा कार्यरत सबै नेपालीलाई र्फकन अनुरोध गरिसकेको छ ।
 
Published on: 26 June 2014 | Kantipur

Back to list

;