s

इराकका नेपाली भन्छन्- 'खाली हात त कसरी फर्कनू!'

झापाका श्याम श्रेष्ठ इराकको राजधानी बग्दादस्थित पिएम कम्पनीमा काम गर्छन्। सुन्नी विद्रोही र सरकारी सेनाबीच जारी सशस्त्र द्वन्द्व उत्तरी क्षेत्रबाट राजधानी बग्दादतिर सल्किँदै गएको उनलाई थाहा छ। यति हुँदाहुँदै उनी तुरुन्तै नेपाल फर्किने मनस्थितिमा छैनन्।

आफ्नो कम्पनी रहेको क्षेत्र बग्दादको 'ग्रिन जोन' मा रहेकाले आत्तिहाल्नुपर्ने सुरक्षा खतरा नभएको उनको भनाइ छ। 'पिएम कम्पनीमा हामी दुई सयजना नेपाली काम गर्छौं। कम्पनीले सबैलाई एउटै होस्टलमा राखेको छ,' उनी भन्छन्, 'हामी ग्रिन जोनमा छौं। कम्पनीले कसैलाई बाहिर निस्कन दिँदैन, खतरा छैन भने किन फर्कनू?'

राजधानी बग्दाद र दक्षिणी सहरहरूमा कार्यरत धेरै नेपाली 'कुनै खतरा नभएको' भन्दै कामलाई निरन्तरता दिने पक्षमा छन्। इराक वैदेशिक रोजगारका लागि प्रतिबन्धित भए पनि जोखिम मोलेर आइसकेपछि थप जोखिम मोल्दै कमाएर फर्कनुपर्ने उनीहरूको राय छ।
'बग्दादमा कुनै खतरा छैन। संकटै आए मात्र फर्कने हो,' श्रेष्ठले भने, 'कमाउन आएको मान्छे अलिअलि त कमाएरै फर्किने नि!'

खाडी राष्ट्र इराकमा सरकारी सेना र विद्रोही सुन्नी लडाकुबीच द्वन्द्व चर्किंदै गएपछि सरकारले त्यहाँ रहेका नेपालीको उद्धार प्रक्रिया सुरु गर्न विशेष प्रतिनिधि नियुक्त गरेको छ। त्यसका लागि छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय सुरु भइसकेको छ। यसका बाबजुद धेरै नेपालीले जोखिम हुँदाहुँदै त्यहीँ बस्न चाहेका छन्। जसरी जोखिम मोलेर चोर बाटो हुँदै उनीहरू इराक पुगे, अहिले सुरक्षास्थिति नाजुक हुँदा पनि जोखिम मोलेरै उतै बस्ने मनस्थिति बनाएका छन्। कारण एउटै छ – बल्लतल्ल पाएको पैसा कमाउने अवसर गुम्न नदिनु। 

बग्दादमै कार्यरत नेपाली महिला सीमा कार्की त इराकको द्वन्द्वलाई माओवादी युद्धसँग तुलना गर्छिन्। 'बग्दाद काठमाडौंजस्तै छ भने इराकको अन्य द्वन्द्वग्रस्त क्षेत्र कुनै बेला नेपालको रुकुम, रोल्पाजस्तो,' कार्कीले टेलिफोनबाट नागरिकसँग भनिन्, 'त्यतिबेला (सशस्त्र द्वन्द्वकाल) काठमाडौंमा बस्नेहरू आत्तिएर भागाभाग गरेका थिए र? नेपाल फर्कन मनलागे कम्पनीले टिकट काटेर पठाइहाल्छ, अहिले किन आत्तिनुपर्योि?' पिएम कम्पनीमा कार्यरत नेपालीसँग राहदानी साथमा छैन, कम्पनी आफैंले राखेको छ। करार अवधि सकिएपछि घर फर्किने बेला मात्र कम्पनीले उनीहरूलाई राहदानी दिने गर्छ। कुनै विपत बेला तत्काल स्वदेश फर्किनुपर्दा कम्पनीले राहदानी दिन आनाकानी गरे उनीहरू जस्तोसुकै संकट आइपरे पनि त्यहीँ बस्नुपर्छ।

रोजगारदाता कम्पनीले इराकमा चलिरहेको द्वन्द्वको विषयलाई लिएर उनीहरूसँग कुनै छलफल पनि गरेको छैन। बग्दाद बाहिर चर्केको द्वन्द्वबारे उनीहरूले टेलिभिजन हेरेर थाहा पाएका हुन्। 'द्वन्द्व चर्किंदैछ तिमीहरू आफ्नो देश फर्किंन्छौ कि भनेर कम्पनीले सोधेको छैन। हामीले पनि यहाँ हामीलाई खतरा बढ्यो, स्वदेश फर्कन्छौं भनेका छैनौं,' श्यामले भने। बग्दादमै कार्यरत दिनेश श्रेष्ठ पनि अहिलेसम्म कुनै खतरा नभएको बताउँछन्। उनका अनुसार ग्रिन जोनको अवस्था आत्तिहाल्नुपर्ने खालको छैन। 'यहाँ केही भएको छैन, अहिल्यै आत्तिनुपर्ने देखिँदैन,' उनले भने। 

बग्दादमा कार्यरत केहीलाई त उत्तरी इराकबाट सल्किँदै आएको द्वन्द्वबारे खासै जानकारी छैन। 'खतराजस्तो छ कि कस्तो छ, तपाईंले के सुन्नुभएको छ?' बग्दादस्थित जिएसआई कम्पनीमा कार्यरत नेपाली महिला विष्णु कार्कीले उल्टै संवाददातासँग प्रश्न गरिन्। इराकमा चर्केको द्वन्द्व थाहा पाउने उनको एकमात्र स्रोत टेलिभिजन हो। अरबी भाषाको मात्र टेलिभिजन च्यानल आउने भएकाले उनी राम्रोसँग बुझ्दिनन। 'कोही एकदम खतरा छ भन्छन्। कोही केही भा'छैन भन्छन्। टिभी अरबी भाषामा आउँछ, केही बुझिँदैन,' विष्णुले सुनाइन्, 'अहिले यहाँ डरलाग्दो स्थिति छैन। पछि खतरा भए फर्कने हो।' 

विष्णुका अनुसार उनीसँगै ९ महिला र ५ पुरुष गरी १४ नेपाली कार्यरत छन्। उनीहरू कसैको पनि अहिल्यै नेपाल फर्किने इच्छा छैन। बग्दादमा द्वन्द्व प्रवेश गरिहाले सुरक्षित स्थलमा राख्ने आश्वासन दिएको छ कम्पनीले उनीहरूलाई। 'कम्पनीले भिडन्तमा पर्ने स्थिति आए सुरक्षित ठाउँमा ५/६ जना गरेर राख्छु भनेको छ,' उनले भनिन्। 

बग्दादमा कार्यरत इटहरीकी रूपा राईले पनि तत्काल नेपाल फर्किने मनस्थिति नबनाएको बताइन्। रोजगारदाता कम्पनीले उनलाई नडराउन भनेको छ। 'भिडन्त हुँदैछ रे भन्ने सुन्दा मन आत्तिन्छ। तर, बल्लतल्ल राम्रो काम पाइएको छ, कमाइ पनि राम्रो होलाजस्तो भएको बेला कहाँ फर्कनू? घरपरिवार हेर्नैपर्छ, अलिअलि नकमाई त के फर्कनु र?,' रुपाले भनिन्। 

इराकको दक्षिणी सहर बास्रामा कार्यरत नेपाली स्वदेश फर्कने कि नफर्कने भन्नेमा विभाजित छन्। त्यहाँस्थित एटिके कम्पनीमा ४९ नेपाली कार्यरत छन्। तीमध्ये आधाले तत्काल स्वदेश फर्कन चाहेका छन् भने आधा त्यहीँ कामलाई निरन्तरता दिन। टर्कीको उक्त कम्पनीले त्यहाँ खतरा महसुस गरी आफ्ना देशका कामदारलाई स्वदेश फर्काइसकेको छ, तर नेपालीलाई भने केही महिनादेखिको तलबसमेत नदिई त्यहीँ छाडिएको छ। 
'इराकीहरू यहाँ खतरा छ, तिमीहरू छिटो आफ्नो देश फर्क भन्छन्। कम्पनी हामीलाई पठाउन चासै लिँदैन,' बास्रास्थित एटिके कम्पनीमा कार्यरत रोशन थापा क्षत्रीले भने, 'कम्पनीका सबै हाकिम आफ्नो देश फर्किसके। हामी २४ जना नेपालीले स्वदेश फर्काइदेऊ भनेका छौं, तर कम्पनी एक महिनाको तलब दिन्छु, यहीँ बसेर काम गर्नुपर्छ भन्छ।' 

बास्रास्थित एटिके कम्पनीमा कार्यरत अन्य नेपालीले भने कुनै खतरा नभएकाले त्यहीँ काम गर्ने इच्छा व्यक्त गरेका छन्। उत्तरी इराकमा इस्लामिक कट्टरपन्थी सुन्नी समूह र इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस) ले केही दिनअघि युद्ध सुरु गरेका हुन्। उनीहरूले इराकी सेनाको अड्डामा आक्रमण गरिहेका छन् भने उत्तरी भागका अधिकांश सहर कब्जा गरेका छन्। विद्रोही समूह अहिले राजधानी बग्दादबाट केही किलोमिटर मात्र टाढा रहेका छन्।

केही दिनअघि चार नेपालीसहित ४८ विदेशी कामदारलाई इराकी सुन्नी विद्रोही समूहले उत्तरी सहर टिक्रिटबाट अपहरण गरेको थियो। टिक्रिट सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल, टर्की, बंगलादेश, तुर्कमिनिस्तान र अजरबैजानका कामदारलाई बन्धक बनाइएको थियो। अपहरणकारीले क्रिकुक र टिक्रिटबीचको चेकप्वाइन्टमा उनीहरूलाई हस्तान्तरण गरेका थिए। अपहरणमुक्त नेपाली कामदार अझै स्वदेश फर्कन सकेका छैनन्। सरकारले उनीहरूलाई स्वदेश ल्याउन आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग समन्वय गरिरहेको छ। सुन्नी विद्रोहीको आक्रमणमा परी भाग्न सफल अन्य तीनजनालाई पनि नेपाल फर्काउने प्रयास भइरहेको छ। 

इराकमा द्वन्द्व चर्किंदै गएपछि त्यहाँ रहेका नेपालीको उद्धार कार्य तत्काल सुरु गर्न परराष्ट्र मन्त्रालयले सहसचिव अर्जुनकान्त मैनालीलाई विशेष प्रतिनिधि तोकिसकेको छ। सरकारले वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाएको इराकमा कार्यरत नेपालीको वास्तविक तथ्यांक निकाल्न परराष्ट्रले निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। तर, उक्त नम्बरमा इराकमा कार्यरत नेपाली र नेपालमा रहेका उनीहरूका आफन्तको सहभागिता उत्साहजनक हुन सकेको छैन। धेरैले स्वदेश फर्कने मनस्थिति नबनाएकाले सरकारलाई उद्धार कार्य सुरु गर्न कठिन बनेको छ। 
'इराकमा रहेका नेपालीसँग सबै च्यानलबाट सम्पर्क गरिरहेका छौं। तर, धेरैले नकमाई के फर्किनु भन्दै स्वदेश नर्फकने इच्छा व्यक्त गर्छन्,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। इराकको सुरक्षास्थिति खस्केपछि सरकारले नेपालीलाई वैदेशिक रोजगारका लागि इराक जान प्रतिबन्ध लगाएको हो। अहिले बढीमा १० हजार नेपाली इराकमा कार्यरत रहेको अनुमान छ। सरकारले प्रतिबन्ध लगाएपछि उनीहरू भारतको नयाँदिल्ली हुँदै त्यहाँ पुगेका हुन्।

विशेष प्रतिनिधि मैनाली इराक जाँदै

इराकका लागि नेपाली विशेष प्रतिनिधि अर्जुनकान्त मैनाली सरकारले दिएको जिम्मेवारी सम्हाल्न मंगलबार त्यसतर्फ जाँदैछन्। इराकमा सरकारी र विद्रोही सुन्नी लडाकुबीच द्वन्द्व चर्किएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न केही दिनअघि परराष्ट्रमन्त्रालयले मैनालीलाई विशेष प्रतिनिधि नियुक्त गरेको थियो। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालका अनुसार मैनालीले इराकमा नेपाली, मित्र राष्ट्रका राजदूत र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिसँग भेटी नेपाली कामदारको उद्धार सहज र छिटो बनाउने विषयमा अध्ययन गर्नेछन्। त्यसैको आधारमा उद्धार प्रक्रिया अघि बढ्नेछ। 
विशेष प्रतिनिधि मैनालीले इराकसँग सीमा जोडिएको कुवेतस्थित नेपाली दूतावासलाई मुकाम बनाई काम गर्नेछन्। थप जनशक्ति आवश्यक परे उनले कुवेतस्थित नेपाली दूतावासका प्रतिनिधिलाई इराकमा उद्धारका लागि लान पाउनेछन्। 

प्रवक्ता धितालका अनुसार मैनालीले इराकमा रहेका नेपालीसँग भेटघाट गरेर उनीहरूलाई आवश्यक परेको सहयोग पहिचान गर्नेछन्। यस्तै, उनले उच्च जोखिम स्थलमा पनि पुगेर नेपालीको खोजी गर्नेछन्। 'उद्धारका लागि फिल्ड मिसन कहाँ राख्नुपर्छ, छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग के कस्तो सहयोग लिएर कस्तो सेवा दिनुपर्छ, सबै विशेष प्रतिनिधिकै रिपोर्टको आधारमा हुन्छ,' प्रवक्ता धितालले भने।

Published on: 1 July 2014 | Nagarik

Back to list

;