s

इराकमा अपहरित नेपाली मुक्त

सरकारले इराकमा कोही पनि नेपाली अपहरणमा नपरेको दाबी गरिरहँदा चार जना शुक्रबार मुक्त भएका छन् । विद्रोही र राज्य पक्षबीच भिडन्त भएको स्थान टिकृटबाट चार दिनअघि अपहरणमा परेका उनीहरू मुक्त भएपछि सुरक्षित रूपमा स्थानीय होटलमा राखिएको छ ।

टिकृटबाट सुलेमानिया जाने क्रममा आलदौराको अन्तिम सीमामा अलकायदा भन्ने समूहले चार नेपालीसहित ४५ जना विदेशी कामदारलाई नियन्त्रणमा लिएका थिए । मुक्त हुनेमा रामेछाप सुुकाजौर गाविसका ३२ वर्षे विष्णु बस्नेत, धनकुटा खुवाथोक गाविसका ४४ वर्षे इन्द्रकुमार लिम्बु, धनकुटा मुडेबासका २४ वर्षे सुवास नेम्वाङ, दाङ लमहीका अनिल चौधरी छन् ।

'भिडन्त बढेपछि सुरक्षित स्थान भनेर सुलेमानिया जाँदै थियौं,' बस्नेतले कान्तिपुरलाई फोनमा भने, 'तीन समूह बनाएर कम्पनीले गाडीमा पठाएको थियो । पहिलो समूह सुरक्षित रूपमा पुगेको खबर आयो । त्यसपछि गएको दोस्रो समूह सम्पर्कमा नआउँदै तेस्रो समूहमा हामीलाई पठाइयो ।' सुलेमानियाको बोर्डर नजिकै पुग्दा हातियारधारी समूहले घेरा हालेर नियन्त्रणमा लिएको उनले बताए । 'दोस्रो समूहमा गएका साथीहरू पनि अपहरणमा परेछन्,' उनले भने ।

उनीहरूलाई आइतबारसम्म कम्पनीले नेपाल पठाउने जानकारी दिएको बस्नेतले बताए । उनीहरू एटिके कन्स्ट्रक्सनमा कार्यरत हुन् । उक्त कम्पनीमा झन्डै २ सय नेपाली कार्यरत छन् । पाकिस्तानस्थित नेपाली राजदूत भरतराज पौड्यालले चारै जनासँग नियमित सम्पर्कमा रहेको बताए । 'उनीहरूलाई छिटो नेपाल पठाउने तयारीमा छौं,' पौड्यालले कान्तिपुरलाई भने ।

अपहरण पर्नेमा पाकिस्तानी, टर्की र भारतीय नागरिक थिए । अपहरित नेपालीले हतियारधारीले नियन्त्रणमा लिए पनि दुव्र्यवहार नगरेको बताए । 'विदेशीलाई अपहरण गरेर दुःख दिने नियत हाम्रो होइन, हामी अधिकारका लागि लडाइँ लडेका हौं, तिमीहरू को हौ भनेर बुझ्न मात्र नियन्त्रणमा लिएको हो,' अपहरणकारीको भनाइ उद्धृत गर्दै बस्नेतले भने । अपहरणपछि सुरुमा तनाब भए पनि विस्तारै डर हट्दै गएको उनले सुनाए । 'सुरुमा मुस्लिम कि गैरमुस्लिम भनेर सोधे', बस्नेतले भने, 'त्यसमा हामीले मुस्लिम भएको बतायौं । पछि उनीहरूले नमाज पढ्न लगाए । बेला-बेला खाना, चिया, पानी खान दिए ।' 

अपहरणकारीले ती कामदारको सबै जानकारी लिएपछि छाडेका थिए । छाड्नुअघि सबैलाई भिडियोमा बोल्न लगाइएको थियो । 'अलकायदाबाट राम्रो व्यवहार र सुरक्षित रूपमा राख्न दिएको, खान दिएको, बिरामीलाई औषधि उपचार गर्न लगाइएको भनेर सबैलाई एक/एक गरी भिडियोमा बोल्न लगाइयो,' बस्नेतले भने, 'उक्त भिडियो अन्तर्राष्ट्रिय मिडियामा दिने बताएका छन् ।' विद्रोही समूहले उनीहरूलाई शान्ति सेनामा खटिएका टर्कीका सेनाको जिम्मेवारीमा छाडिदिएको हो । 'ल्याउने बेला हामी र उनीहरू चढेको गाडीको नम्बर प्लेटमा लत्तपत्त गरेर टर्कीको शान्ति मिसनका टोलीलाई जिम्मा लगाएर फर्के,' उनले भने, 'त्यसपछि हामी सबैलाई यहाँको होटलमा सुरक्षित रूपमा राखिएको हो ।' 

उक्त कम्पनीमा कार्यरत नेपाली सबैलाई दुबई पठाउन लगेको उनले बताए । 'कतिपय नेपालीलाई पठाइसकेको छ,' उनले भने, 'बाँकीलाई आइतबारसम्म पठाउने कम्पनीको योजना छ ।' तीन वर्षअघि झन्डै २ लाख रुपैयाँमा उनीहरू इराक पुगेका थिए । उनीहरूको तलब ८ सय अमेरिकी डलरसम्म छ । उनीहरूले नेपालमा घरपरिवारसँग सम्पर्क भइसकेको बताए ।

Published on: 21 June 2014 | Kantipur

Back to list

;