s

जहाँ नेपाली, त्यहाँ दसैं

'आमा-छोराले यो बिरानो ठाउँमा पनि निधारभरि रातो टीका र कानमा जमरा सिउरेर रमाइलोसँग दशैं मनायौं,' जाँते, मोरङका नवीन सुब्बा कतारबाट टेलिफोनमा भन्दै थिए, 'तपाइहरुले राम्रोसँग मनाउनुहोला। यताको चिन्ता लिनु पर्दैन।' खाडीमा शुक्रबार साप्ताहिक बिदा हुन्छ। विजया दशमी पनि शुक्रबारै परेको हुनाले नवीनको क्याम्पमा दसैं लागेको थियो। खसी ढालिएको थियो। क्याम्पमै ३ सयभन्दा बढी नेपाली थिए। एउटा कोठामा दुर्गा पूजा गरियो, जमरा राखियो। टीका लगाइदिन कम्पनीका म्यानेजर पाँचथर, फिदिमका राजन श्रेष्ठ आइपुगेका थिए। 

अब क्याम्पमा टीका जमरा लगाउनेहरूको तँछाडमछाड भयो। कोही रातो टीका त, कोही सेतो टीका लगाउने। 'आफ्नो चाडपर्व मनाउन कसलाई रहर हुदैन र? पहिले पहिले दिनभर काममा भइन्थ्यो। नेपालबाट खबर आएपछि मात्रै टीका भन्ने थाहा हुन्थ्यो,' खोटाङका केदार बानियाँले भने, 'यसपालि त घरमै गएर दशैं मनाएको जस्तो भइहाल्यो।'

कतारमा कार्यरत नेपाली कामदारहरूले यसपाला आफ्ना गाउँठाउँका सकेजति साथीभाइ जुटाएर दशैं मनाए। 'मेरा सबै नजिकका आफन्त यतै छन्। सबैजना एक ठाउँमा भेला भयौं। मान्यजनबाट आशीर्वाद लिने काम भयो,' चितवनका कमल मरहट्टाले भने, 'घर यतै, ससुराली पनि यतै भयो।'

मुस्लिम देश भए पनि यहाँ धार्मिक सहिष्णुता झाँगिँदै गएको छ। 'पहिला पहिला रातो टीका लगाएर बाहिर हिँडडुल गर्न सकिँदैनथ्यो,' १३ वर्षदेखि कतारमा कार्यरत बागलुङका रमेश भट्टले भने, 'अहिले सार्वजनिक ठाउँमै भेला भई दसैं मनाउँछौं।' कतारमा कार्यरत अन्य देशका कामदारले पनि नेपालीका चाडपर्वमा चाख दिन्छन्। यसपटक चिनियाँ कम्पनीमा कार्यरत नेपालीलाई चिनियाँ म्यानेजरले नै टीका लगाइदिए। 'हामी आपसमा टीका लगाउँदै थियौं। हाम्रा महाप्रबन्धक चाइनिजले पनि लगाए। पछि उनी आफैं अगाडि सरेर सबै नेपालीलाई टीका लगाइदिए,' बुटवलका यादव पौडेलले भने, 'एउटै कम्पनीमा कार्यरत गर्छाैं। विदेशीले पनि त्यसलाई स्वीकार गरी मनाउन पाउँदा झन् आनन्द लाग्यो।' 

चाडपर्वमा सबै नेपाली घर फिर्न सम्भव छैन। घर गए पनि साथीभाइ भेटिन छाडेको छ। 'घर फिर्न पाइएन भनेर चिन्ता गरेर रुँदै बसेर साध्य हुँदैन,' खोटाङका मणि भिखारीले भने, 'फेरि गाउँका साथीभाइ सबै यतै छन्। हामीलाई त यतै रमाइलो पो हुन थाल्या छ त।' 

Published on: 6 October 2014 | Kantipur

Back to list

;