s

जटिल वैदेशिक रोजगार

भनिन्छ, एक दिनमा १५ सय नेपाली रोजगारीको खोजीमा विदेश जान्छन्। तर यो हुलमा विदेश गएका सबै महिलाको गणना भने नभएको हुनसक्छ। विभिन्न जिल्ला र गाउँबाट परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन भनेर धेरै महिला वैदेशिक रोजगारीको खोजीमा साउदी अरेबिया, दुबई, मलेसिया, कतार, ओमन, इजरायल, जापानलगायतका मुलकमा पुग्ने गरेका छन्।

धेरैजसो आर्थिक अवस्था कमजोर भएका, पतिले दोस्रो विवाह गरी हेला गरेका र पतिको मृत्यु भएपछि एकल जीवन बिताइरहेका महिला राम्रो कमाइ हुने लोभले वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ। तर वैध बाटोबाट अभिलेखबद्ध भएर विदेश नगएकाहरू तावाबाट खसेर भुङ्ग्रामा परेझैं भएका पनि छन्।

गुल्मीको हस्तीचौर गाविस–३ निवासी देवकुमारी कुमाल घर बनाउने ढुङ्गा बोकेर गुजारा चलाउने गर्थिन्। तीस वर्षमै पाँच छोराछोरीकी आमा बनिसकेकी कुमालको घरमा छोराछोरी पढाउने खर्च थिएन। यसैले धन कमाउन भनी ऋण खोजेर उनी गतवर्ष साउदी अरब पुगिन्। तीन महिना काम गरेपछि कुमालले पारिश्रमिक माग्दा मालिक र मालिक्नीले उल्टै तीन दिनसम्म कोठामा थुनेर मरणासन्न हुने गरी कुटपिट गरेछन्।

स्थिति उनले सोचेजस्तो भएन। मालिक र मालिकका छोराको दुर्व्यवहारको त कुरा गरेरै साध्य भएन। विदेश पुगेको तीन महिनामै फर्केर आएकी देवकुमारीका पति र छोराछोरीले पैसाको बिटो होइन, देवकुमारीको सासमात्र भेट्न पाए। उता बाग्लुङ्गको भीमगिठे गाविस – ९ निवासी २४ वर्षीय तारादेवी थापा विदेश गएर सफाइको काम गर्दा चिप्लिन पुगिन र रित्तै घर फर्किनु पर्योप। ‘पतिले धोका दिँएपछि म विदेश कुवेत पुगेँ, कुवेत पुगेको दुईढाइ महिनापछि मेरो हात फुक्लियो भर्याेङबाट लडेर, सफा गर्दाखेरि। ’ पतिले सौता ल्याएपछि छोरा पढाउने खर्च जुटाउन भनेर रुँदै रुँदै भए पनि सुरिएर तारादेवी कुवेत हानिएकी थिइन् उनीभन्छिन् – ‘यौटा छोरा छ, छोराको बाबुले छोरा नहेरेपछि मैले उल्लाई हेर्नुपर्छ, पढाउनुपर्छ भनेर म विदेश गएँ। ’

विदेश गएर फर्किएका जति जना महिलाका कुरा सुने पनि समस्या उस्तैउस्तै देखिन्छ। पहिलेपहिले जस्तो ‘बर्मा गए पनि कर्म सँगै’ भन्ने जमाना त होइन यो। ऋण गरेर विदेश गएका महिलाले ऋण तिर्ने खर्च उठाउन नपाउँदै दुर्घटनामा परेर घर फर्कनु पर्दा क्षतिपूर्ति नपाउनेको सख्या पनि उत्तिकै छ। अझ ऋण खोजेर वैदेशिक रोजगारमा गएका महिलालाई फर्केपछि समाजमा पुनःस्थापना हुन झन् समस्या छ। धन कमाउन र परिवार पाल्नकै लागि विदेश गएका महिलालाई समाजले हेर्ने दृष्टिकोण फरक छ। उनीहरु बाध्यताले हैन रहरले वैदेशिक रोजगारमा मोज गर्न गएका हुन् भन्ने समाजले ठानेको पाइन्छ।

सामाजिक सोचाइ उदार नहुदाँ त वैदेशिक रोजगारमा गएका महिलाले समस्या भोगेका छन्। तर उता पुगेपछि पनि महिलाका लागि काम गर्ने सहज वातावरण उपलब्ध नहुनु अर्को पीडादायी अवस्था हो। वैदेशिक रोजगारमा गएका अधिकांश महिलाले लैङ्गिक हिंसाको सामना गर्नुपर्ने हुन्छ। पतिसँगै रोजगारीमा जाने महिलाका तुलनामा एक्लै जानेको अवस्था बढी चुनौतीपूर्ण देखिएको छ। स्वदेशमा जति परिश्रम गरेपनि खर्चको तुलनामा आम्दानी हुँदैन। घरखर्च चलाउन वैदेशिक रोजगारीका लागि खाडी मुलुक छिर्ने महिलाले त्यहाँ दिनहुँ जोखिम उठाएर काम गर्नुपर्छ। तर त्यो वैदेशिक रोजगार महिलाका लागि सुरक्षित भने पटक्कै छ्र्रैन। काम गर्न सकुन्जेल मालिकमालिक्नीलाई खुसी बनाएर काम गरिहेका महिला स्वदेश फर्कँदा घर न घाटको भएर फर्कनु परेको पनि अनेकौँ उदाहरण छ। मरणासन्न हुने गरी पिटाइ खाएर फर्किएकी महिलाले न क्षतिपूर्ति नै पाउँछिन् न त उपचार नै। यहाँ छदाँ गरिखान सक्ने महिला विदेश गएर फर्कँदाँ गरिखानै नसक्ने अवस्थामा पुगेका हुन्छन्। कोही काम गर्दागर्दै चिप्लिएर हात खुट्टा भाँचेर फर्किन पुग्छन् त कोही मालिकको कुटपिट र यातनाका कारणबाट मानसिक सन्तुलनै गुमाएर फर्कन्छन्।

वैदेशिक रोजगारमा कति जना नेपाली महिला गएका छन् र कति फर्किए भन्ने तथ्याङ्क पाउन सकिँदैन। आफ्नै देशको विमानस्थल प्रयोग गर्नुको साटो अरू मुलुकको बाटो भएर वैदेशिक रोजगारमा जानु नै त्यसको मूल कारण हो। आफ्नै देशको विमानस्थलबाट उड्यो भनेमात्र को, कहिले, कहाँ गएको हो भनेर लेखा रहन्छ। यसरी अभिलेखबद्ध भएर जान चाहिँ विधि र प्रक्रिया पुर्या उनु पर्छ। तर विधि र प्रक्रिया नपुर्या ई जानेको संख्या पनि कम छैन। अभिलेखबद्ध नभए कानुनीरूपमा तिनको गणना नै हुँदैन। क्षतिपूर्ति दाबी गर्न पाउने बाटो पनि रोकिन्छ। राज्यले विदेश जान चाहने महिलाका लागि प्रभावकारी चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छैन। समस्याले घेरिएको अवस्थामा सयमा ९० महिला अवैधानिक रूपमा खाडी मुलुक छिर्छन्। कुनै अभिलेखबिनै अर्काको देशमा गएपछि राज्यले पनि सघाउने बाटो पाउँदैन। यसैले दुःख पर्यो् भनेर कुरै नबुझी विदेशतिर हानिनुअघि विधि र प्रक्रिया के के छन् भनेर आफैंले भरपर्दो ठाउँमा रहेका विश्वासिला मानिसबाट राम्ररी बुझ्नु उचित र आवश्यक हुन्छ।

Published on: 12 March 2014 | Nagarik

Back to list

;