s

जीवनस्तर सुधारसँगै विकृति उस्तै

स्थानीयस्तरमा रोजगारी नपाइएपछि विदेश जाने चलन सबैतिर व्यापक बनेको छ। अधिकांश युवाको ध्यान अचेल विदेश गएर पैसा कमाउनतिर हुन्छ। दैनिकजसो सयौं बिदेसिन्छन्। त्यहाँ दु:ख गरी कमाइएको रकमले धेरै परिवारको जीवनस्तर उकासिएको छ। आर्थिक उन्नति भएको छ। कतिपयले व्यवसाय सञ्चालन गरेर थप प्रगति गरेका छन्। वैदेशिक रोजगारीका कारण जीवनस्तरमा सकारात्मक परिवर्तन भएसँगै विकृति पनि देखिएका छन्। सामाजिक अपराध बढ्नु, परिवार भाँडिनु, कमाएको रकम दुरुपयोग हुनु वा अनुत्पादक काममा खर्च हुनु यसको अँध्यारो पाटो हो। यही सेरोफरोमा धनुषाबाट श्यामसुन्दर शशि, सिरहाबाट देवनारायण साह र पाँचथरबाट लवदेव ढुंगाना लेख्छन् :

विदेशमा भएको कमाइले सिरहा नरहा बल्कबा ३ का मोहम्मद साकिरको परिवारमा निकै परिवर्तन आएको छ। विदेशमा दु:ख गरेर कमाएको पैसा उनले विभिन्न व्यवसायमा लगाएका छन्। त्यसैले अबको उनको जीवनयापन धेरै सहज बनेको छ। उनी अहिले लाखौं पर्ने गाडी चढ्छन्। आफ्नो गाउँमा ६ बिघा जग्गा किनेका छन्। १० कोठे पक्की घर बनाएका छन्। सिरहा–काठमाडौं २ वटा रात्रि सेवाको बस सञ्चालन गरेका छन्। यसबाहेक उनले अन्य व्यवसायमा पनि लगानी गरेका छन्। साकिरले आर्थिक अभावमा आफूले उच्च शिक्षा अध्ययन गर्न नसकेको बताए। एसएलसी पास गरी सन् १९९९ मा रोजगारीका लागि कतारस्थित अलदुरा ट्रेडिङ रैयानजदिद गएका थिए।

त्यहाँ रहेका गाउँकै एक जना साथीको सहयोगमा उनी गएका थिए।

सुरुमा ९ हजार नेपाली रुपैयाँ तलब पाएको तर ५/६ महिनापछि तलब बढाएर १ लाख २१ हजार मासिक तलब दिन थालेको बताए। उनले आफ्नो कमाइ राम्रो भएपछि माहिला, साहिँला र काइँला भाइलाई पनि आफू काम गर्ने कम्पनीमा बोलाएर रोजगारीमा लगाएको बताए। उनले आफू ८ वर्ष काम गरेपछि गाउँ फर्केर व्यापार सुरु गरेको बताए।

पैतृक सम्पत्तिको नाममा रहेको १ बिघा जग्गाको उब्जनीले परिवार धान्न गाह्रो भएपछि सुरुमा ६ बिघा जग्गा किनेर घरसमेत बनाएको उनले बताए। उन्नत जातको गाई र भैंसी पालन गरेको जनाए। ८ वर्ष कतारमा काम गरिसकेपछि गाउँमै व्यापार व्यवसाय गर्ने उद्देश्यले घर फर्केको उनले बताए। स्थानीयस्तरमा रोजगारी नपाएर बिदेसिएका उनले अहिले आफ्नो व्यवसायमा ३० जनालाई रोजगारी दिएका छन्। ‘सबै व्यवसाय आफ्नो गाउँमा बसेर गरेको छु,’ उनले भने। राज्यले उद्योग स्थापना र सञ्चालन गर्ने तालिम वा अनुभव प्रादान गर्ने व्यवस्था गरे उद्योग सञ्चालन गर्ने सोचाइ रहेको उनले सुनाए। उनले वैदेशिक रोजगारीमा गरेको आम्दानी अधिकांश व्यक्तिले अनुत्पादक काममा खर्च गरिरहेकाले गाउँमा परिवर्तन नदेखिएको बताए।

यस्तै कृष्णपुर ७ का चन्द्र साहले वैदेशिक रोजगारीमा गरेको आम्दानीले सिरहा सदरमुकाममा सम्राट गंगा पिउने पानी उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका छन्। उनले आफूले गरेको आम्दानी उद्योगमा लगानी गरेको र त्यसबाट भएको मुनाफाले परिवार चलाइरहेको सुनाए। उनले विदेशको आम्दानीलाई पुँजीमा आफूले परिणत गरेको बताए।

‘दु:खका दिन काटियो’

दशक अघिसम्म दुई छाक टार्न धौधौ पर्ने धनुषाको बघचौडा ७ खत्वेटोलका रामलखन खत्वेका जेठा नाति दीपेन्द्र एमबीबीएस अन्तिम वर्षमा पढ्छन्। माहिला र कान्छो नाति स्नातक पढ्दै छन्। नातिनी भने यस वर्ष प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी छन्। अरूको खेतमा बनीबुतो गरेर जेनतेन १० जनाको परिवार पालेका ७० वर्षीय रामलखनको घरमा अचेल दिनमा तीन पटक चिया पाक्छ। हालै उनी काठमाडौंको गंगालाल हृदय रोग प्रतिष्ठानमा उपचार गराएर फर्केका छन्। ‘दुखको दिन त काटियो,’ उनले भने, ‘सुखको दिन देख्न पाउँछु कि पाउँदिनँ?’ बिग्रिँदो स्वास्थ्यका कारण यस्तो चिन्ता लागेको उनले सुनाए।

रामलखनका तीन छोरामध्ये माहिला राजदेव खत्वे आफ्ना यी चार छोराछोरीको पढाइ खर्च मलेसियाको कमाइबाट पूरा गर्दै छन्। राजदेवले फोनमा भने, ‘अरू पक्की घर बनाउँदै छन्। म छोरा छोरीलाई पढाउँदै छु। उनीहरूलाई पढाउनु पनि त घर निर्माण जस्तै हो नि †’

धनुषा बघचौडा ७ स्थित यो टोलमा दलित पिछडिएका खत्वेहरूको मात्र बसोवास छ। एक सय ५ घरधुरी खत्वे समुदाय रहेको यो टोलको जनसंख्या झन्डै ६ सय छ। दशक अघिसम्म सिंगै गाउँ सुकुम्बासी थियो। मुस्किलले ५ जनासँग आफ्नो खेत र घडेरी थियो। अरूको खेतमा बनीबुतो गरेर जीवन निर्वाह गर्नु उनीहरूको दैनिकी थियो।

‘काम पाउने दिन घरमा चुलो बल्थ्यो,’ ५५ वर्षीय सलेमा खत्वेले भने, ‘काम नपाएको दिन परिवार भोकै सुत्नुपथ्र्यो।’

तर उनको परिवारमा अब यस्तो समस्या छैन। खत्वेका छोरा बीएड उत्तीर्ण गरी गाउँकै प्राथमिक विद्यालयमा शिक्षक छन्। बुहारी पनि प्लस टुसम्मको शिक्षा प्राप्त गरेकी छन्। सलेमाका अनुसार खत्वेटोलमा कम्तीमा पनि ५ जना विभिन्न विषयमा स्नातक तथा १२ जनाभन्दा अधिक एसएलसी उत्तीर्ण गरेका युवायुवती छन्। दशकअघि यस गाउँमा एउटै पनि गतिलो घर थिएन। सिंगै गाउँवासी फुसको ससाना घर र झुपडीमा बस्थे। अचेल गाउँमा डेढ दर्जनभन्दा बढी पक्की छाना भएको घर बनेका छन्। अरू दर्जनभन्दा बढी धमाधम बनिरहेका छन्। धनुषाका १ उपमहानगरपालिका, ५ नगरपालिका तथा ७३ गाविसको झन्डै ४ सय गाउँको अवस्था यस्तै छ।

एक गैरसरकारी संस्थाको तथ्यांकअनुसार धनुषाबाट वैदेशिक रोजगारीमा जानेहरूको संख्या निरन्तर बढ्दो छ। ०६७/६८ मा जिल्लाबाट ९ हजार ९ सय २१ जना वैदेशिक रोजगारीमा गएका थिए। त्यस्तै ०६८/०६९मा ११ हजार ६ सय ४३ जना विदेश गएका थिए। ०६९/७० मा १८ हजार ८ सय ९६ तथा ०७०/७१ मा २३ हजार ४ सय ७२ युवक वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये कति फर्केर आए तथा कति रेमिट्यान्स जिल्लामा भित्रियो भन्नेबारे यकिन तथ्यांक छैन।

भाँडिदै घर

पन्ध्र महिना अघिदेखि लोग्ने दुबईमा वैदेशिक रोजगारीमा भएका बेला पाँचथरको फिदिम ७ की मेलिना लोहार श्रीमान्ले पठाएको डेढ लाख र नौ महिनाकी छोरीसहित बेपत्ता भएकी छन्। गत जेठ ३१ मा एकाएक हराएपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिए। हालसम्म मेलिना सम्पर्कबाहिर छिन्। तर परिवारले भने उनी कुनै युवकसित हिँडेकी हुन सक्ने अनुमान गरेका छन्। ‘छोरो नभएको बेला रकम लिएर बेपत्ता भएकी हुन्,’ ससुरा धनराज शंकरले भने, ‘उनी हराएकी होइनन् भन्नेमा विश्वस्त छौं।’

नागिन ८ का निमा शेर्पाका अनुसार भाइ नर्वु विदेशमै रहँदा नागिन ८ की माया भन्ने मीना शेर्पा पनि सुनचाँदी र रकमसहित यही महिना हराएकी छन्। दुई वर्षदेखि मलेसियामा रहेका प्राङबुङका धिरज थाम्सुहाङकी श्रीमती सीता मगर गत जेठ ३२ गते १ लाख ३० हजार लिएर बेपत्ता भएको निवेदन परेको छ। महिला बेपत्ता भएका यस्ता घटना वैदेशिक रोजगारीबाट सृजित हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ। लामो समयसम्म लोग्नेको साथ नपाउँदा महिलाले कुनै केटो लिएर हिँड्ने गरेका छन्। प्रहरीका अनुसार यो वर्ष मात्र ९६ जना महिला हराएको भनी निवेदन परेका छन्। वैदेशिक रोजगारीमा रहेको अवस्थामा हराएका महिलाको संख्या उल्लेख्य छ।

जिल्ला प्रहरीका निरीक्षक रविराज थपलियाले वैदेशिक रोजगारीका कारण घरेलु हिंसालाई प्रोत्साहन भइरहेको भन्दै यस्ता घटनाको संख्या बढ्दो रहेको जानकारी दिए। घरेलु हिंसाका कुल घटनामध्ये ६० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारीका कारण सृजित समस्या हुने उनको दाबी छ। ‘लोग्ने विदेशमा रहेको कारण घरेलु हिंसा र अपराधका संख्या बढेका छन्’ उनले भने, ‘त्यसमा पनि बहुविवाह र सम्बन्धविच्छेदका घटना उल्लेख्य छन्।’

कानुन व्यवसायी टेकनाथ रिजालका अनुसार जिल्ला अदालतमा गत तीन महिनामा परेका २ सय ६८ वटा मुद्दामा ८५ वटा सम्बन्ध विच्छेदका थिए। ‘यस किसिमका मुद्दा अकासिनुमा पारिवारिक बेमेल, घरेलु हिंसा, यौन असन्तुष्टिजस्ता कारण पाइन्छ,’ उनले थपे, ‘वैदेशिक रोजगारीले परिवार र समाजलाई नकारात्मकतातर्फ डोर्यादएको छ ।’

एक अधिवक्ताका अनुसार विदेशबाट नफर्कंदै हिँड्ने घटना सँगसँगै फर्किएपछि दुवैको सहमतिमा सम्बन्ध विच्छेदका घटना पनि हुने गरेका छन्। ‘विदेशबाट फर्कनुअघि नै महिलाले केटो ठिक्क पारेकी हुन्छे,’ तिनले भने, ‘फर्किएपछि केटो पनि अर्काे केटीसित विवाह गर्न तयार देखिने गरेकोले सहमतिमा कतिपय विच्छेद हुने गरेका छन्।’

सामाजिक अपराध बढ्दो

वैदेशिक रोजगारीमा जाने क्रम बढेयता धनुषामा आर्थिक सम्मुन्नति आए पनि सर्वसाधारणको पहुँच शिक्षासम्म भए पनि सामाजिक अपराध भने बढेको छ। बिग्रँदो पति–पत्नी सम्बन्धका कारण पारपाचुके गर्नेहरूको संख्या बढेको छ। हाडनाता सम्बन्धका घटनाहरू पनि निरन्तर सार्वजनिक हुन थालेका छन्।

फागुन १८ गते जनकपुर उपमहानगरपालिका १७ बस्ने निलम देवीले आफ्नै भतिजो (जेठाजुका छोरा) २६ वर्षीय दिलीप मण्डलको लिंग काटेकी थिइन्। श्रीमान् बिदेश गएको मौका छोपी आफ्नै भतिजोसँग प्रेम सम्बन्ध बनाएकी उक्त महिलाले प्रेमी (दिलीप) को विवाह भएको एक साता नबित्दै उनको लिंग काटेकी थिइन्। ३२ वर्षीया उक्त महिलाका चार छोराछोरी छन्।

यसैगरी फागुन ८ गते पूर्वी धनुषामा समेत यस्तै घटना घटेको थियो। काकी चञ्चला देवीले आफ्ना प्रेमी भतिजो रामदेव मण्डलको लिंग काटेकी थिइन्। दुवै घटनामा महिलाले प्रेमीले विवाह नगरोस् भने चाहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

एक स्त्रीरोग विशेषज्ञका अनुसार यहाँका निजी अस्पतालमा गर्भपतन गराउन आउने महिलामध्ये झन्डै ७० प्रतिशत वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती हुन्छन्। ती महिलाहरूको ‘केस स्टडी’ को आधारमा उनले भने, ‘अधिकांशको सम्बन्ध नजिककै नातामा पर्ने देवर, ससुरा, भतिजा, भान्जा, मित्रसँग देखिन्छ।’ स्त्रीरोग विशेषज्ञ डा. रामनरेश पण्डितका अनुसार यौन मानिसको आवश्यकता हो। लामो समयसम्म श्रीमान् विदेशमा बसेपछि महिलामा विचलन आउनु स्वाभाविक हो।


Published on: 24 July 2015 | Kantipur
 

Back to list

;