s

काम नपाएपछि चाड छाडेर भारततिर

भवानी भट्ट
 
कैलालीको घोडाघोडी नगरपालिका ९ सुख्खडका नरबहादुर विक गाउँमै मजदुरी गर्थे। त्यसबाटै उनले घर परिवारको गुजारा गरेका थिए। तर यसपटक भने उनी सुदूपश्चिमेलीको प्रमुख चाड गौराको मुखैमा काम खोज्दै भारततिर पसे। लामो समय देखिको बन्दले गाउँमा निर्माण कार्य तथा अन्य कामसमेत पाइन छाडेपछि उनी ६ जनाको टोलीसहित मंगलबार पश्चिमी नाका गड्डाचौकी हुँदै भारततिर पसेका हुन्। 
 
‘हामीहरू गाउँघरमै मजदुरी गरेर गुजारा चलाउँथ्यौं,’ नरबहादुरले भने, ‘तर यसपालिको बन्दले गाउँमा काम पाउनै मुस्किल भयो, त्यही भएर भारततिर जान लागेका हौं।’ उनले उत्तराखण्डको बागेश्वरमा आफन्तहरू भएकाले त्यतै जान लागेको बताए। एक/डेढ महिना मजदुरी गरेर दसैं तिहारका लागि खर्च जुटाएर घर फर्किने उनले बताए। ‘बन्द हडताल रोकिएर काम गर्न सकिने अवस्था भए दसैंमा फर्किनेछौं,’ उनले भने, ‘यस्तै अवस्था भए दसैं तिहारमा पनि फर्किंदैनौं।’ 
 
गाउँगाउँमा डेउडासँगै गौराको रौनक सुरु भइसकेको छ। विगतका वर्षहरूमा यतिबेलासम्म सीमा नाकामा भारतबाट घर फर्किने कामदारहरूको लर्काे लागेको हुन्थ्यो। तर यसपटक बन्दका कारण भारत पसेकाहरू पनि घर फर्किन सकिरहेका छैनन्। गाउँमा काम नपाएपछि गौरा पर्व छाडेरै भए पनि रोजगारीका लागि भारत पस्न थालेका छन्। ‘गाउँमा बन्द र कफ्र्युले काम पाउनै गाह्रो छ,’ सुख्खडकै हरि परियारले भने, ‘काम पाइएन भने चाडपर्व कसरी मनाउने, एक डेढ महिना काम गरेर तिहारमा घर फर्किने गरी बागेश्वर जान लागेका छौं।’ 
 
साउन तेस्रो सातादेखि सुरु भएको अखण्ड सुदूपश्चिम र थरुहट प्रदेश पक्षधरको आन्दोलन रोकिनुको साटो हिंसात्मक बन्दै गएको छ। बन्दका कारण लामो समयदेखि निर्माण सामग्रीहरू जिल्लामा आपूर्ति हुन नसक्दा हाहाकार भएको छ। निर्माण सामग्रीको अभावले यहाँका थुप्रै निर्माण कार्यहरू प्रभावित भएका छन्। ‘गाउँमा निर्माणाधीन घरहरू सिमेन्ट र छड बजारमा नहुँदा निर्माण कार्य ठप्प छ,’ सुख्खडकै कर्ण परियारले भने, ‘हामीले काम नपाएको पनि १५/२० दिन भइसक्यो।’ 
 
गत साता टीकापुरमा भएको हिंसात्मक घटनापछि उक्त क्षेत्रमा निरन्तर कफ्र्यु लागिरहेको छ। त्यसका कारण पनि मजदुरले काम नपाएका हुन्। कतिपय स्थानीय आन्दोलनले उग्र रूप लिएपछि गाउँमा बस्न नसकिने त्रासले पनि भारततिर जान लागेका छन्। ‘यतिबेला भारतबाट घर फर्किने र यहाँबाट काम खोज्दै भारततिर जानेको संख्या बराबर छ,’ सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई राजेन्द्रबहादुर चन्दले भने, ‘दैनिक ३/४ सय जना आइरहेका छन् भने त्यतिकै संख्यामा भारततिर गइरहेका छन्।’ उनले गाउँघरमा मजदुरी नपाएर जान लागेकाहरूसमेत धेरै रहेको बताए। ‘यतिबेला त भारतबाट घर फर्किनेको भिड नै हुनुपर्ने हो,’ उनले भने, ‘विगतका वर्षमा दैनिक डेढ दुई हजार घर फर्किन्थे।’ 
 
बन्दका कारण तराईमा मात्रै नभई पहाडी क्षेत्रमा समेत समस्या भएको छ। उक्त क्षेत्रबाट समेत काम नपाएर मजदुरहरू भारततिर पस्न थालेका छन्। ‘काम नपाएपछि कसरी तिहार मनाउने,’ मंगलबार भारत जान लागेका बाजुरा सप्पाटाका अष्ट विकले भने, ‘अब केही दिन उतै काम गरेर तिहारमा फर्किन्छौं।’ उनी पनि ६ जनाको समूहमै भारततिर जान लागेका हुन्। ‘हामीहरू पौडी गढवालतिर जान लागेका हौं,’ उनले भने, ‘त्यहाँ भारी बोक्ने, सडक तथा भवन निर्माणको मजदुरी गर्ने र पसलहरूको रेखदेख गर्ने काम पाइन्छ।’
 
Published on: 3 September 2015 | Kantipur
 

Back to list

;