s

'कामदारसँग पैसा असुल्न पाऊँ’

'स्वास्थ्य व्यवसायी महासंघ, २०६२' नामक संस्थाले वैदेशिक रोजगारमा जाने कामदारसँग पैसा असुल्न पाऊँ भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएको छ । महासंघले आफ्ना सदस्य संस्थाबाट गैरकानुनी रूपमा प्रतिकामदार २ सय रुपैयाँका दरले रकम असुल गर्दै आएको थियो । प्रमाणसहित ठगीको उजुरी परेपछि जिल्ला प्रशासनले गत पुस २५ गते त्यसमा रोक लगाएको थियो । त्यसपछि जिल्ला प्रशासनले थप छानबिन आवश्यक भन्दै १ महिनाको समय तोकेर कार्यदल गठन गरेको थियो । छानबिनको अवधि सकिए पनि आफ्ना सदस्य संस्था मार्फत कामदारसँग अवैध रूपमा पैसा उठाउने महासंघलाई जिल्ला प्रशासनले कारबाही गरेको छैन ।

कारबाही नटुंगिँदै महासंघले आफ्ना १ सय ९६ सदस्य संस्थालाई हस्ताक्षर गराई पैसा उठाउने काम जारी राख्न दिन निवेदन दिएको हो । 'स्वास्थ्य परीक्षणकै कारण विदेशबाट फर्किनुपरेका कामदारलाई कार्यविधि बनाएरै क्षतिपूर्ति दिँदै आएको छौं,' महासंघका अध्यक्ष कैलाश खड्काले भने, 'त्यसलाई जिल्ला प्रशासनले रोकेकाले नरोक्न १ सय ९६ मेडिकल व्यवसायीको हस्ताक्षरसहित ज्ञापनपत्र दिएका हौं ।'

महासंघले स्वास्थ्य परीक्षण प्रमाणपत्रमा टाँस्ने होलोग्राम आफ्ना सदस्य स्वास्थ्य संस्थालाई बेच्छ । महासंघले होलोग्राम बिक्री संख्यालाई आधार मानेर हरेक कामदारको स्वास्थ्य परीक्षण गरेबापत सदस्य संस्थाबाट २ सय रुपैयाँ असुल्छ । रकमको स्रोत कामदार नै भए पनि महासंघले कामदारसँग नभएर आफ्ना सदस्य संस्थासँग पैसा उठाएको दाबी गर्दै आएको छ । 

वैदेशिक रोजगार ऐनअनुसार स्वास्थ्य परीक्षणकै कारण कामदार विदेशबाट फर्किनुपरे क्षतिपूर्ति पनि स्वास्थ्य परीक्षण गर्ने संस्थाले नै तिर्नुपर्छ । त्यसका बाबजुद महासंघ क्षतिपूर्ति तिर्छु भन्दै पैसा उठाउन कस्सिएको हो । 'कसैले ५० लाख बढीका गाडी किनेका छन् कसैले करोडौंको घरजग्गा जोडेका छन्,' महासंघका एक सदस्यले भने, 'त्यो क्षतिपूर्ति दिन्छु भन्दै कामदारसँग पैसा उठाएकाले सम्भव भएको हो । महासंघको वर्तमान र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्ने हो भने स्रोत थाहा भइहाल्छ ।' उनका अनुसार हाल कम्तीमा १ हजार ३ सय कामदारले ४० हजार रुपैयाँका दरले ५ करोड २० लाख रुपैयाँ क्षतिपूर्ति पाउन बाँकी छ । 

महासंघले पैसा उठाउने स्वीकृति कतैबाट लिएको छैन । तर, क्षतिपूर्ति दिने भन्दै कामदारसँग अघिल्ला ५ आर्थिक वर्षमा ३२ करोड ६६ लाख ६९ हजार रुपैयाँ असुलेको वाषिर्क प्रतिवेदनबाट देखिन्छ । चालु आर्थिक वर्षमा महासंघले कति रकम असुल्यो भन्ने खुल्न सकेको छैन । 

प्रतिकामदार २ सय रुपैयाँ बुझाए महासंघले क्षतिपूर्ति तिरिदिने भएपछि स्वास्थ्य व्यवसायी महासंघलाई शुल्क तिरेर नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र जारी गर्न प्रोत्साहित भएका छन् । क्षतिपूर्तिका लागि महासंघका मासिक करिब ४ सय कामदार पुग्ने गरे पनि झन्झटिलो प्रक्रियाका कारण अधिकांशले क्षतिपूर्ति नपाउने गरेको गुनासो छ । 

महासंघविरुद्ध नेपाल मेडिकल व्यवसायी संघ र प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चले जिल्ला प्रशासनमा मुद्दा दायर गरेको हो । त्यसलगत्तै संघविरुद्ध पनि महासंघ निकट मेडिकल व्यवसायीले मुद्दा हालेको छ । जिल्ला प्रशासनले संघमाथि पनि छानबिन गरिरहेको छ । संघले आफूलाई कमजोर बनाएर महासंघविरुद्धको मुद्दा फितलो बनाउने उद्देश्यले मुद्दा हालिएको दाबी गरिरहेको छ । 'उजुरी परेपछि आफैँ सक्रिय भएर छानबिन गर्नुपर्नेमा उजुरीकर्ताले नै प्रमाण जुटाइदिँदा पनि सहायक सीडीओ र अनुसन्धान अधिकृत कहिले एउटा कुरा गर्छन् कहिले अर्को,' मञ्चका सल्लाहकार शोभित बस्नेतले भने, 'छानबिनको एकमहिने अवधि आइतबार सकियो । 

Published on: 22 February 2015 | Kantipur

Back to list

;