s

कामदारको स्वास्थ्य परीक्षणमा कार्टेलिङ

लोकमणि राई

नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनले कानुन विपरीत वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा कार्टेलिङ गरिरहेका छन् । यी संस्थाले आफू मातहतका स्वास्थ्य संस्थाहरू सबैमा वैदेशिक रोजगारीमा जानेको परीक्षण शुल्क एउटै तोक्न निर्देश गरेका छन् ।

महासंघ र एसोसिएसनले संस्थागत निर्णय गरी परीक्षण गरेबापत प्रतिव्यक्ति करिब २ हजार ६ सय रुपैयाँ शुल्क लिन लगाएका हुन् । यसरी उठेको रकममध्ये २ सय रुपैयाँ एसोसिएसन र महासंघमा जान्छ । यसबाट वैदेशिक रोजगारीमा जाने सर्वसाधारण मर्कामा परेका छन् । यस्तो गैरप्रतिस्पर्धात्मक गतिविधिलाई उपभोक्ता हित संरक्षण ऐन २०५४, प्रतिस्पर्धा ऐन २०६३ ले सीधै कानुनी कठघरामा उभ्याउन सक्ने अधिकार सरकारलाई दिएको छ ।

यी दुवै संस्थाले खुला अर्थनीति विपरीत स्वास्थ्य परीक्षण शुल्क निर्धारण गरी गैरप्रतिस्पर्धात्मक गतिविधि गरेका हुन् । प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐनले प्रतिस्पर्धा सीमित वा नियन्त्रण गर्न कुनै पनि वस्तु वा सेवाको खरिद वा बिक्री मूल्य निर्धारणमा रोक लगाएको छ । वस्तु वा सेवाको खरिद तथा बिक्री मूल्य निर्धारण गरी प्रतिस्पर्धा सीमित वा नियन्त्रण गर्नु उपभोक्ताको छनोटको अधिकार हनन गर्नु हो ।

ऐनमा प्रतिस्पर्धा सीमित वा नियन्त्रण गर्ने उद्देश्यले वस्तु वा सेवाको खरिद वा बिक्री मूल्य तोक्नेलाई ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । स्वास्थ्य संस्थाले दिएको निरोगिताको प्रमाणपत्र गलत भए त्यसका कारण स्वदेश फर्किनुपर्ने कामदारलाई क्षतिपूर्ति दिन भन्दै महासंघले प्रतिव्यक्ति स्वास्थ्य परीक्षणबापत २ सय रुपैयाँका दरले उक्त रकम उठाएका हुन् । जबकि ऐनमा यस्तो क्षतिपूर्ति महासंघले नभएर स्वास्थ्य परीक्षण गर्ने संस्थाले नै बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

महासंघले आफ्ना सदस्य रहेका स्वास्थ्य संस्थाले जारी गर्ने निरोगिताको प्रमाणपत्रमा ६ रुपैयाँ पर्ने होलोग्राम टाँसिदिन्छ । होलोग्रामबापत यसरी पैसा उठाउनु गैरकानुनी हो । वैदेशिक रोजगार विभागले होलोग्राम नभएको निरोगिताको प्रमाणपत्रलाई पनि मान्यता दिन्छ ।

'नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र बन्ने गरेको गुनासो आएपछि मन्त्रालयले सुरक्षण विधि अपनाएर निरोगिताको प्रमाणपत्र जारी गर्न महासंघलाई परीक्षणका रूपमा छ महिनाका लागि स्वीकृति दिएको हो,' श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले भने, 'होलोग्रामबापत पैसा उठाउन कसैलाई स्वीकृति दिएका छैनौं । यसरी पैसा उठाएको रिपोर्ट मन्त्रालयमा परेको पनि छैन ।' एसोसिएसनले त मन्त्रालयबाट सुरक्षण विधि अपनाएर निरोगिताको प्रमाणपत्र जारी गर्ने अनुमति परीक्षणका रूपमा समेत पाएको छैन ।

करिब एक वर्षअघि स्थापना भएको एसोसिएसनले होलोग्रामबापत यसरी उठाएको रकम खुल्न सकेको छैन । तर महासंघले २०६८/०६९ मा २ लाख ७१ हजार ९२ मानिसको निरोगिताको प्रमाणपत्रमा होलोग्राम टाँसेर करिब ५ करोड ४२ लाख १८ हजार रुपैयाँ उठाएको छ ।

उक्त आवमा महासंघले निरोगिताको प्रमाणपत्रमा भएको गडबडीका कारण स्वदेश फर्किने ८ सय ७२ जनालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले ३ करोड ४८ लाख ८० हजार रुपैयाँ क्षतिपूर्तिका नाममा फिर्ता दिएको छ । बाँकी करिब १ करोड ९३ लाख ३४ हजार रुपैयाँमा महासंघले होलोग्रामबापत आम्दानी गरेको छ । रकम स्वास्थ्य संस्थाको भलाइमा खर्च गरेको महासंघका अध्यक्ष प्रवीण तिवारीले दाबी गरेका छन् । मुनाफारहित सामाजिक संस्थाका रूपमा दर्ता भएकाले यी दुवै संस्थाले आयकरमा समेत छुट पाएका छन् ।

कुल १ सय ९१ स्वास्थ्य संस्था सदस्य भएको महासंघले करिब ५ वर्षदेखि नै यसरी रकम असुल्दै आएको हो । करिब १४ सदस्य भएको एसोसिएसनले भने स्थापना भएलगत्तै पैसा उठाउन सुरु गरेको हो । एसोसिएसनले निरोगिताको प्रमाणपत्रमा भएको कमजोरीका कारण विदेश पुगेर फर्किएका १ सय २१ जनालाई एक वर्षमा ३० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिएको दाबी गरेको छ ।

Published on: 19 August 2013 | Kantipur

Back to list

;