s

कामदार जाँच्ने सुधा हेल्थकेयर छानबिनमा

मलेसिया जाने नेपाली कामदारलाई नक्कली मेडिकल रिपोर्ट बनाएर बेचेको अभियोमा महाराजगन्जको सुधा हेल्थकेयर मेडिकल छानबिनको दायरामा परेको छ। उक्त मेडिकलले म्यानपावर कम्पनीसँग मिलेर स्वास्थ्य जाँचमा फेल भएका कामदारलाई पास भएको भन्दै प्रमाणपत्र बेचेको स्वास्थ्य र श्रम मन्त्रालयको विशेषज्ञ समितिले फेला पारेपछि छानबिन सुरु भएको हो। 

विशेषज्ञ समितिका संयोजक डा. विमल ढकाल नेतृत्वको टोलीले उक्त मेडिकलमा अनुगमन गरेको थियो। मेडिकल मापदण्डविपरीत चलाएको र म्याद नाघेका औषधी र केमिकल प्रयोग भएको फेला परेको अनुगमन टोलीले जनाएको छ। विशेषज्ञ समितिका सदस्य तथा अनुगमन टोलीमा सहभागी कानुन मन्त्रालयका उपसचिव तीर्थ केसीले सञ्चारमाध्यममा नक्कली प्रमाणपत्र बेचेको समाचार आएको र पीडितबाट समेत गुनासो आएकोले अनुगमन गरिएको बताए। 'सञ्चालकले सञ्चारमाध्यमबाट खुल्लमखुल्ला नक्कली मेडिकल रिपोर्ट बनाउने गरेको बताएपछि छड्के अनुगमन गर्दा मेडिकल पनि मापदण्डविपरीत सञ्चालन भएको पाइयो,' उनले भने, 'म्याद नाघेको औषधी र केमिकल पनि प्रयोग भएको भन्ने छ। यस विषयमा पनि छानबिन भइरहेको छ। एक साताभित्रै छानबिन प्रतिवेदन आएपछि के गर्ने भन्ने निर्णय हुन्छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मेडिकलहरुले नक्कली प्रमाणपत्र बेच्ने गरेको गुनासो र उजुरी आएपछि अनुगमन गर्न मन्त्रालयले निर्देशन दिएको बताए। 'एक साताभित्र अनुगमनको रिपोर्ट मागेको छु, रिपोर्टको आधारमा कारबाही हुन्छ,' उनले भने।

बागलुङ पाखाथरका राजीव सापकोटा नेपालमा स्वास्थ्य परीक्षण गराएर गत भदौ ५ गते मलेसिया गए पनि उता पुगेपछि फोमेमाले जाँच्दा छातीमा दाग देखिएको थियो। उनी 'अनफिट' भएर एक महिना नहुँदै नेपाल फर्काइएपछि सुधाले नक्कली रिपोर्ट बेच्ने गरेको खुलेको हो।

पछिल्लो समय नेपालबाट पास भएर जाने र मलेसियामा फेल भएर फर्कने कामदारको संख्या बढिरहेको छ। म्यानपावर कम्पनी, एजेन्ट र मेडिकलको मिलेमतोमा यहाँ मेडिकल फेल भएका कामदारलाई जानाजान मलेसिया पठाउने चलन बढेको छ। कमिसनको लोभमा कामदारको नक्कली मेडिकल रिपोर्ट बनाएर मेडिकलले म्यानपावर कम्पनीलाई दिने र म्यानपावरले त्यसैको आधारमा भिसा मगाएर पठाउने गर्छन्। नेपालबाट मलेसिया पुगेको कामदारले एक महिनाभित्र अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्छ। त्यहाँ फोमेमाले गर्ने मेडिकलमा मासिक ६ सयभन्दा बढी नेपाली कामदार 'अनफिट' हुने गरेका छन्। जसलाई सिधै नेपाल फर्काइन्छ।

बसुन्धराको गोर्खाज एसोसिएटस् म्यानपावरले पनि मेडिकलसँगको मिलेमतोमा कामदारलाई नक्कली रिपोर्ट बनाएर पठाउने गरेको आरोप लागेको छ। गोर्खाजमा भने अनुगमन गरिएको छैन। सुधा हेल्थ केयर प्रालिका सञ्चालक मदन खनालले आफू मेडिकलमा नभएको बेला अनुगमन भएको प्रतिक्रिया दिएका छन्। 'म मेडिकलमा थिइनँ अनुगमन गर्नेलाई सोध्नुस्,' उनले नागरिकसँग भने।

स्वास्थ्य परीक्षण गर्दा कामदारबाट मेडिकल सेन्टरले २६ सय २५ रुपैयाँ शुल्क लिन्छन्। त्यही रकमबाट मेडिकलले म्यानपावर कम्पनी वा एजेन्टलाई एक हजारसम्म कमिसन दिने गर्छ। म्यानपावर र एजेन्टले कमिसन बढी लिन थालेपछि मेडिकल सेन्टरले स्वास्थ्य व्यवसायी महासंघमा होलोग्राम (स्टिकर) बापत पाँच सय तिर्ने र तीन सय महिनाको अन्त्यमा फिर्ता लिने गरेका छन्। दुई सय रुपैयाँ भने क्षतिपूर्ति कोषमा जम्मा हुने गर्छ। त्यही कोषबाट कोही कामदार फेल भएर फर्केको खण्डमा ४० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरिन्छ। मेडिकलका लागि कामदार दिने र पछि फर्केपछि मेडिकल र म्यानपावरले थप रकम दिने सम्झौता मेडिकल र म्यानपावरबीच हुने बताइन्छ। कामदार फर्केपछि मेडिकल र म्यानपावरले पनि ४० देखि ६० हजार थप गरेर कामदारलाई ८० हजारदेखि एक लाखसम्म क्षतिपूर्ति दिने गर्छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ एजेन्टले गाउँबाट पासपोर्ट संकलन गरेर म्यानपावरलाई उपलब्ध गराउने बताउँछन्। गाउँमै रहेका व्यक्तिको काठमाडौंमा नक्कली मेडिकल रिपोर्ट बनाएर म्यानपावरले त्यसैको आधारमा भिसा प्रक्रिया गर्ने पनि उनले बताए। 'विदेशमा कामदार ठीक छ भन्न पार्न पहिला नै नक्कली मेडिकल हुन्छ,' उनले भने 'पछि भिसा आएर वास्तविक मेडिकल गराउँदा फेल भए पनि म्यानपावरले लगानी गरेको हुँदा जानाजान पठाउने गर्छन्।' उनका अनुसार त्यस्ता कामदार फर्केर आएर मिलेर क्षतिपूर्ति दिने सहमति भएको हुन्छ। 'त्यसैले ढुक्कसँग पठाउँछन्,' उनले भने।

मलेसिया जानुअघि मेडिकल एजेन्ट र म्यानपावर मिलेर कामदारसँग उता स्वास्थ्य परीक्षण फेल भएर आए पनि मेडिकल र म्यानपावरलाई दोष नदिने लिखित सम्झौता गरिएको हुन्छ।

Published on: 14 October 2014 | Nagarik

Back to list

;