s

खाडीमा घरेलु कामदार खोल्ने तयारी

सरकारले खाडी मुलुकमा ३० वर्षमुनिका महिलालाई घरेलु कामदारका रूपमा पठाउने तयारी सुरु गरेको छ । विभिन्न खाडी मुलुकबाट माग आएपछि श्रम तथा रोजगार मन्त्रालयले यस्तो तयारी गरेको हो । 'हामी हाम्रा दिदीबहिनीलाई त्यत्तिकै खाडी मुलुक काम गर्न पठाउँदैनौं,' श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भने, 'सुरक्षाको पूर्ण प्रत्याभूति गरेर मात्र पठाउँछौं ।' नेपाली महिला कामदारको खाडी मुलुकमा ठूलो माग छ । 

करिब २ महिनाअघि नेपालका लागि साउदी राजदूत अब्दुल नासिर बिन हुसेन अल-हार्थीले राज्यमन्त्री गुरुङलाई भेटेर ३० वर्षमुनिका महिलालाई पनि घरेलु कामदारका रूपमा पठाउन आग्रह गरेका थिए । मन्त्रालय स्रोतका अनुसार उनले राज्यमन्त्री गुरुङलाई महिला कामदारमाथि लगाइएको प्रतिबन्ध नखोले साउदी अरबले नेपालमा दूतावास खोल्नुको महत्त्व नदेखिने बताएर अप्रत्यक्ष दबाब पनि 
दिएका थिए ।

राज्यमन्त्री गुरुङले साउदी राजदूत अल-हार्थीले महिला कामदारमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको बताए । 'मैले त्यतिबेला साउदी राजदूतलाई श्रम सम्झौता गरेर महिला कामदार खोल्नुपर्ने कुरा राखेको थिएँ,' उनले भने, 'त्यसलगत्तै श्रम सम्झौताको मस्यौदा तयार गरी परराष्ट्र मन्त्रालयमार्फत दूतावास पठाएँ । तर जवाफ नआएकाले फेरि सम्झौताका विषयमा के भयो भनेर सोधेको छु ।' उनले हरेक खाडी मुलुकसँग यही मोडेलमा श्रम सम्झौता गरी महिला कामदार पठाउने सोच रहेको पनि बताए ।

राज्यमन्त्री गुरुङका अनुसार मस्यौदामा साउदी जाने महिला घरेलु कामदारको न्यूनतम पारिश्रमिक ३ सय अमेरिकी डलर -वर्तमान विनिमय दरअनुसार २८ हजार २ सय रुपैयाँ) हुनुपर्ने, साताको १ दिन बिदा हुनुपर्ने र भिसा र टिकट निःशुल्क हुनुपर्ने प्रावधान राखिएको छ । त्यसबाहेक महिला घरेलु कामदारलाई आवास तथा खानपिन सुविधा निःशुल्क हुनुपर्ने र साप्ताहिक बिदाका दिन महिला घरेलु कामदारलाई घुमफिर गर्न तथा आफन्त र साथीभाइसँग भेटघाट गर्न प्रतिबन्ध लगाइन नहुने प्रावधान पनि छ । 'चाहेका बेला आफ्नो देशको राजदूतावासमा सम्पर्क गर्न र साथीभाइसँग भेटघाट गरी मनको वह पोख्ने मिलन केन्द्र खोल्न पाउने खालको प्रावधान छ,' राज्यमन्त्री गुरुङले भने । 

ठूलो संख्यामा महिला घरेलु कामदार शारीरिक, मानसिक र आर्थिक शोषणमा परेपछि सरकारले २०६९ साउन २४ मा ३० वर्षमुनिका महिलालाई खाडी मुलुक जान प्रतिबन्ध लगाएको हो ।

Published on: 29 May 2014 | Kantipur

Back to list

;