s

कोरिया जान एकैदिन १७ हजार आवेदन

नवराज ढकाल

कोरियन भाषा परीक्षामा सामेल हुनका लागि आवेदन दिनेको भीड लागेको छ। ईपीएस कार्यालयका अनुसार पहिलो दिन बुधबार कुल १७ हजार सात सय ३३ जनाले आवेदन फारम भरेका छन्।

छिटो पालो पाउनका लागि आवेदन केन्द्रमा मंगलबार साँझदेखि लाइनमा बसेका सबैले फारम बुझाउन पाएनन्। लाइनमा बसेर पनि फारम बुझाउन नपाएकाले बिहीबार पहिला फारम बुझाउन पाउने व्यवस्था गरेर फिर्ता पठाइएको छ। ईपीएस शाखाका प्रमुख डिल्लीराम बास्तोलाका अनुसार बनस्थली केन्द्रबाट मात्र करिब तीन हजारजनालाई फिर्ता पठाइएको छ। उनीहरूलाई बिहीबार पहिला फारम बुझाउन दिइनेछ।

यसैगरी सानोगौचरन, कीर्तिपुरलगायतका केन्द्रमा समेत हजारौं आवेदक फारम नभरीकनै फिर्ता भएका छन्। ‘पाँचवटै केन्द्रबाट फिर्ता पठाउनुप:यो’, उनले भने, ‘आवेदन फारममा धेरै त्रुटि देखियो। कतिपय स्थानमा कर्मचारीले पनि ‘स्पिड’ मा काम गर्न सकेनन्।’

व्यवस्थापन राम्रो नभएको भन्दै सानोगौचरन केन्द्रमा आवेदकहरूले केही समय होहाल्ला र नाराबाजीसमेत गरेका थिए। सानोगौचरन केन्द्रमा फारम बुझ्ने काम निकै सुस्त देखिएको थियो। कर्मचारीसमेत अलमलमा परेका देखिन्थे। लाइनमा बसेका एकजना बेहोश भएर लडेका थिए। प्रत्येक केन्द्रमा स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएकाले त्यहीं सामान्य उपचार गर्ने व्यवस्था मिलाइएको छ। फारम भर्ने म्याद ८ गते शनिबारसम्म छ।

बुधबार ९ बजेदेखि मात्र फारम बुझाउन पाइने भए पनि चाँडै पालो पाउनका लागि आवेदक मंगलबार साँझदेखि नै आवेदन केन्द्रमा पुगेका थिए। आवेदन केन्द्रमा ठूलो भीड बढेपछि त्यसको व्यवस्थापन गर्न सुरक्षा निकायलाई हम्मेहम्मे परेको छ। ईपीएस कार्यालयका अनुसार प्रत्येक आवेदन केन्द्रमा एक सयजनाका दरले कर्मचारी खटाइएको छ। कर्मचारीसहित पर्याप्तमात्रमा सुरक्षाकर्मी तैनाथ गरिए पनि सहज व्यवस्थापन गर्न नसकेको देखिएको छ।

ईपीएस कार्यालयले चार दिनसम्म फारम बुझाउन पाइने भएकाले भीडभाड धेरै नगर्न र रातिदेखि लाइनमा बस्न आवश्यक नरहेको बताएको छ। आवेदकहरूले भने कर्मचारीले काममा ढिलासुस्ती गर्न आफूहरूले सास्ती खेप्नुपरेको बताएका छन्।

फारम भर्न निकै भीडभाड हुने गरेको र रातभर लाइनमा बस्नुपरेकाले आवेदकले अनलाइन फारम भर्ने व्यवस्था गर्न माग गर्दै आएका छन्। अनलाइन फारम भर्ने व्यवस्था नहुँदा भोकभोकै रातभर लाइनमा बस्नुपरेको उनीहरूले गुनासो गरेका छन्। ईपीएस प्रणालीबाट कामदार पठाउन थालिएको पाँच वर्ष भइसके पनि ईपीएस कार्यालयले अनलाइनबाट फारम भर्ने व्यवस्था गर्न सकेको छैन। कोरिया सरकारसँग भएको सहमतिमा अनलाइन फारम भर्न पाउने व्यवस्था नरहेको ईपीएस नेपाल शाखाका अधिकारीले जानकारी दिएका छन्।

आवेदकले बिहान ९ देखि साँझ ६ बजेसम्म फारम बुझाउन पाउनेछन्। फारम भर्न २४ अमेरिकी डलर (करिब २४ सय रुपैयाँ) तिर्नुपर्छ। राजधानीको ज्ञानेश्वरस्थित सानोगौचरन खेलमैदान, सिद्धार्थ बनस्थली इन्स्टिच्युट, ल्याबोरोटरी माध्यमिक विद्यालय कीर्तिपुरबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था मिलाइएको छ। यसबाहेक राजधानीबाहिरबाट पनि फारम बुझाउन सकिनेछ।

ईपीएस कार्यालयका अनुसार राजधानीबाहिर धरान र बुटवलमा आवेदन फारम बुझाउन पाइनेछ। चार दिनसम्म फारम बुझाउन पाइने भए पनि जान चाहने अधिकांशले पहिलो दिनमै फारम बुझाउन इच्छुक देखिएका छन्। ‘शनिबारसम्म कुर्ने धैर्य नै रहेन, त्यही भएर रातभर लाइनमा बसेर भए पनि बुधबार नै फारम बुझाएँ’, बनस्थलीस्थित आवेदन केन्द्रमा फारम बुझाएपछि नुवाकोटका उमेश पाण्डेले भने। ‘आकर्षक कमाइ हुने भएकाले यहाँको पढाइ छाडेर कोरिया जाने चाहना बढेको हो’, उनले सुनाए।

कोरियन भाषाको परीक्षा भने असोज २० र २१ गते सञ्चालन हुनेछ। एक दिनमा दुई सिफ्ट गरी परीक्षा लिइने ईपीएस शाखाले जानकारी दिएको छ। ईपीएस कार्यालयले आठ हजार दुई सयजनाले भाषा परीक्षा पास गर्ने अनुमान गरेको छ।

कोरियाले सन् २०१४ मा लैजाने कामदारको संख्याका आधारमा परीक्षार्थीलाई उत्तीर्ण गर्नेछ। सन् २०१४ मा कोरियाले नेपालबाट करिब आठ हजार कामदार लैजाने तयारी गरेको छ। ईपीएस प्रणालीमा दुई देशका सरकारबीच कामदार आदानप्रदान गरिन्छ। यसमा म्यानपावर कम्पनीको सहभागी हुँदैन। सरकारी तहबाट कोरियाले कामदार लिने गरेको छ। नेपालसहित विभिन्न १५ मुलुकबाट यो प्रणालीअन्तर्गत काम गर्न युवा कोरिया पुग्ने गरेका छन्।

नेपालबाट यस पटक उत्पदानमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कोरियाले कामदार लैजाने भएको छ। एचआरडी कोरियाका अनुसार उत्पादनमूलक क्षेत्रमा चार हजार ६ सय र कृषि अनि पशुपालनमा तीन हजार ६ सय नेपाली कामदार जान पाउनेछन्। भाषा परीक्षामा उच्चतम अंक ल्याउनेमध्ये ३० प्रतिशत परीक्षार्थीलाई सीप परीक्षा (स्किल टेस्ट) मा सहभागी गराउन सकिने व्यवस्था गरिएको छ।

परीक्षार्थीले कुल चार सय अंकको परीक्षा दिनुपर्नेछ। सीप परीक्षामा पनि उत्कृष्ट हुनेलाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराउन एचआरडी कोरियाले रोजगारदातलाई सिफारिस गर्ने व्यवस्था मिलाइएको छ। १८ देखि ३९ वर्ष उमेरका भएका व्यक्तिले मात्र आवेदन दिन पाउनेछन्।

भाषा परीक्षाको नतिजा कात्तिक ४ गते हुनेछ। परीक्षा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण हुनेछ। यसमा पास भएपछि मात्र कामका लागि कोरिया जाने रोस्टरमा सूचीकृत हुनेछन्।

रोस्टरमा राखिएका नामको आधारमा रोजगारदाताले आवश्यकताअनुसार कामदार लिनेछन्। रोस्टरमा रहेका सबैलाई लैजान बाध्य नहुने रोजगारदाताले जानकारी दिएका छन्। गतवर्ष करिब ६० हजार जना भाषा परीक्षामा सहभागी भएकामा १५ हजार उत्तीर्ण भएका थिए। गतवर्ष परीक्षा पास गरेकामध्ये करिब पाँच हजार जना अझै जान पाएका छैनन्। जान नपाएकाहरूले अहिले आन्दोलन गरिरहेका छन्। यस वर्ष ७० हजारभन्दा बढीले भाषा परीक्षा दिने ईपीएसको अनुमान छ।

कुन केन्द्रमा कति आवेदन?

केन्द्र आवेदन संख्या

-बनस्थली ४४ सय ६३ जना

-कीर्तिपुर ४१ सय ३७

-सानोगौचरन २८ सय १९

-धरान २४ सय ७०

-बुटवल ३८ सय ४४

Published on: 22 August 2013 | Annapurna Post

Back to list

;