s

कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

काठमाडौँ, माघ ४ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि हवाई भाडा घटाइएको छ । कोरियन एयरलाइन्स र नेपाल सरकारबीच भएको समझदारीअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जाने नेपाली श्रमिकको हवाई भाडा घटेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको पहलमा यसअघिको हवाई भाडामा ४१ हजार ६०० रुपियाँ (३२० अमेरिकी डलर) घटेको जनाइएको छ । ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकले अब एक लाख १६ हजार ३५० रुपियाँ (८९५ अमेरिका डलर) तिर्नुपर्छ ।

यसअघि एक लाख ५७ हजार ९५० रुपियाँ (एक हजार २२५ अमेरिकी डलर) तिर्नुपथ्र्यो । घटेको हवाई भाडा दर मङ्गलबारदेखि नै लागू भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि नेपाली श्रमिक निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाडा घटाउने विषय पहल थालेको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले उक्त सम्झौता एक वर्षसम्मका लागि लागू हुने जानकारी दिनुभयो । सम्झौताअनुसार ईपीएसमार्फत कोरिया गएका श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट गर्ने विषयमा पनि कोरियन एयरलाइन्स र नेपाल सरकारबीच सहमति भएको छ ।

कोरोना महामारीपछि कोरियाले सिधा हवाई उडानमार्फत मात्र नेपाली श्रमिक लैजाने सर्त राखेको थियो ।

कोरियन एयरले मात्र नेपालबाट सिधा उडान गर्दै आएको थियो । जसले गर्दा भाडा महँगो हुन पुगेको थियो । ट्रान्जिट गरेर श्रमिक पठाउन नपाइने भएपछि नेपाली श्रमिक एक मात्र एयरबाट कोरिया जाने गरेका छन् ।

Published on: 18 January 2023 | Gorkhapatra

Link

Back to list

;