s

कोरियामा २८ प्रतिशत तलब वृद्धि गर्न माग

मजदूर संगठनको माग पूरा भए नेपाली कामदारको मासिक न्यूनत्तम तलव करिब १ लाख ३० हजार रुपैंयाँ पुग्नेछ

देवेन्द्र सम्बाहाम्फे

दक्षिण कोरियाका मजदूर संगठनहरुले कामदारको ज्याला २८.६ प्रतिशतले वृद्धि गर्न माग गरेका  छन् । सन् २०१५ का लागि ज्याला निर्धारण गर्न सरकारी प्रतिनिधि, रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधिहरुबीच शुक्रवार भएको पहिलो चरणको बैठकमा ती संगठनहरुले यस्तो माग गरेका हुन् । यहांका मजदूरले हाल प्रतिघण्टा ५ हजार २ सय १० वन (५.०३ अमेरिकी डलर) पाइरहेका छन् ।  

बैठकमा मजदूर प्रतिनीधिहरुले मूल्यबृद्धि र श्रम बजारको आय असमान रहेको जनाउदै आधारभूत तलवमा २८.६ प्रतिशत अर्थात प्रतिघण्टा ६ हजार ७ सय वन बढाउन माग गरेका हुन् । शुक्रबार कुनै निर्णय नभएकाले आउदो जुन २९ मा ज्याला निर्धारण गरेर अगष्ट ५ मा श्रम तथा रोजगार मन्त्रीद्धारा घोषणा गर्ने सरकारी योजना रहेको छ ।

कोरिया मजदूर महासंघ ( केसीटीयू ) ले कामदारहरुसंग गरेको एक सर्वेक्षणमा न्यूनत्तम ज्वाला प्रतिघण्टा ६ हजार ८ सय ७८ हुनुपर्ने उल्लेख छ । उस्ले बिभिन्न उद्योगमा कार्यरत कामदारहरुसंग गत वर्षको सेप्टेम्बरदेखि जनवरीसम्म सर्वेक्षण गरेको थियो । त्यस्तै १५ देखि ३९ बर्षका युवा समुदाय संघ -वाईसीयू) ले गरेको सर्वेक्षणमा पनि मजदूरहरुले प्रतिघण्टा ७ हजार ४ सय ८९ वन पाउनुपर्नेमा जोड दिइएको छ । सर्वेक्षणकर्ताहरुले बढो मूल्यवृद्धिका कारण हालको ज्वालाबाट  

मजदूरको गुणस्तरीय जीवनमा कठिनाई हुने भन्दै बढाउन जोड दिएका हुन् । मजदूर संगठनहरुको माग पूरा भए नेपाली कामदारको मासिक न्यूनत्तम तलव करिब १ लाख ३० हजार रुपैंयां पुग्नेछ । हाल न्यूनतम मासिक १० लाख ८८ हजार आठ सय ९० वन (करिब १ लाख रुपैयाँ) पाइरहेका छन् ।

मजदूर संगठनहरुको माग अनुसार तलव बृद्धि भए वृद्धि न्यून आय भएका करिव २६ लाख भन्दाबढि श्रमिकलाई फाइदा पुग्ने मजदूर संगठनका एक अधिकारीले बताए । सरकारले आगामी वर्षका लागि चालु बर्षमा न्यूनतम ज्याला वृद्धि गर्दछ । कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो ।

सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०,२०१३ मा ६.१ २०१४ मा ७.२ प्रतिशतले ज्याला बृद्धि गरेको थियो ।

Published on: 13 April 2014 | Kantipur

Back to list

;