s

कोरियाको कोटा नबढ्ने

कान्तिपुर संवाददाता

कोरियाली भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या तेस्रो दिन शुक्रबार ३ बजेसम्ममा करिब ४४ हजार पुगेको छ । गत वर्षकै हाराहारीमा आवेदन पर्ने देखिए पनि कोरियाले यसपटक कोटा संख्या भने बढाउने छैन ।

सन् २००८ मा पहिलो पटक भएको भाषा परीक्षाका लागि ३१ हजार युवाले आवेदन दिएका थिए । सन् २०१० मा यो संख्या ३५ प्रतिशतभन्दा बढीले वृद्धि भएर करिब ४२ हजार पुगेको थियो । त्यस्तै सन् २०११ मा भएको तेस्रो भाषा परीक्षा दिनेको संख्या झन्डै ३६ प्रतिशतले वृद्धि भएर करिब ५७ हजार पुगेको थियो । यसपालि उक्त संख्या ७० हजारसम्म पुग्ने अनुमान थियो ।

तर आवेदन फारम दर्ता खुलेको तस्रो दिन शुक्रबार ३ बजेसम्म आवेदकको संख्या घटेर ७ हजार ८ सयमा झरेको छ । 'पहिलो र दोस्रो दिन दैनिक करिब १८ हजारले आवेदन दर्ता गरे,' ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले भने, 'आज (शुक्रबार) लाइन पातलो छ । आवेदन दिनेका संख्या अघिल्लो पटकको भन्दा बढ्दैन । बरु घट्न सक्छ ।'

फारम दर्ता गर्ने अन्तिम म्याद १ दिन मात्र बाँकी छ । विभागले अपराह्न ४ बजेसम्म कार्यालय परिसरभित्र छिर्नेको आवेदन स्वीकार गर्छ । निर्देशक बाँस्तोलाले कोरियाले महिला कामदारलाई न्यून प्राथमिकता दिने र 'रोस्टर' मा रहेका (भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पालो पर्खिरहेका) हरूको विरोधका कारण यसपटक आवेदक दिनेको संख्या नबढ्ने अनुमान गरे । 'हामीले सूचना निकालेरै कोरियामा महिला कामदारलाई न्यून प्राथमिकता दिइने गरेको बतायौं,' उनले भने, 'रोस्टरमा रहेकाले पनि कोरिया जान नपाएको भन्दै विरोध गरे । त्यही भएकाले भाषा परीक्षा दिनु कोरिया जाने सुनिश्चितता होइन भन्ने पर्न गएर आवेदकको संख्या नबढ्ने देखिन्छ ।' उनले यस पटक आवेदकको संख्या घट्ने सम्भावना रहेको पनि बताए ।

सन् २०११ मा भाषा परीक्षा उत्तीर्ण गरेका करिब ५ हजार ३ सय जना कोरिया जाने पालो पर्खेर बसिरहेका छन् । आफ्नो पालो नआएपछि उनीहरूले विरोधका विभिन्न कार्यक्रमसमेत गरिरहेका छन् । ईपीएस उत्तीर्ण गरेर वैदेशिक रोजगारीका लागि कोरिया जाने महिलाको संख्या करिब ५ प्रतिशत मात्र छ । निर्देशक बाँस्तोलाका अनुसार कोरियाली कम्पनीले प्राथमिकता नदिने भएपछि भाषा परीक्षामा सामेल हुन महिला निरुत्साहित भएका छन् ।

वैदेशिक रोजगार विभागले रोस्टरमा रहेकालाई प्राथमिकताका साथ कोरिया पठाउन पहल गरिरहेको छ । त्यसका लागि कूटनितिक माध्यमबाट कोरिया सरकारसँग कुराकानी भइरहेको छ । 'कामदार छान्ने काम त्यहाँका निजी कम्पनीले गर्छन् । कोरियाको एचआरडी डिपार्टमेन्टले समन्वय गर्ने मात्र हो,' बाँस्तोलाले भने, 'तर त्यस विषयमा छलफल गर्न कोरिया सकारात्मक छ ।'

सन् २०१३ का लागि कोरियाले ईपीएस प्रणाली लागू गरिएका १५ देशबाट ६२ हजार कामदार भित्र्याउँदै छ । पहिलो चरणमा कोरियाले १७ हजार ६ सय ५० जनाको भाषा परीक्षा लिइसकेको छ ।

दोस्रो चरणको भाषा परीक्षाका लागि ईपीएस शाखाले भाषा परीक्षामा सबैभन्दा बढी अंक ल्याउने ८ हजार २ सय जनालाई उत्तीर्ण गराउने जनाएको छ । त्यसमध्ये ३ हजार ६ सय जना उत्पादनमूलक क्षेत्र र ४ हजार ६ सय कृषि तथा पशुपालन क्षेत्रका लागि हुने शाखाको भनाइ छ ।

कोरिया नेपालीहरूका लागि सबैभन्दा आकर्षक रोजगार गन्तव्य हो । यहाँ सरकारी माध्यमबाट मात्रै रोजगारीमा जाने व्यवस्था गरिएको छ ।

Published on: 24 August 2013 | Kantipur

Back to list

;