s

कोरियामा नेपाली अवैधानिक ५ प्रतिशत मात्र

देवेन्द्र सम्बाहाम्फे

ईपीएसमार्फत कोरिया आएर अवैधानिक हुने प्रवासी कामदारमध्ये नेपालीको संख्या सबैभन्दा न्यून रहेको छ । सोल अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार ईपीएसमार्फत आएका  १८ हजार ८ सय नेपाली कामदार कार्यरत छन् । यीमध्ये  ५.९ प्रतिशत अर्थात् १ हजार १ सय १७  नेपाली  अवैधानिक छन् । यो संख्या अन्य १४ मुलुकका अवैधानिक कामदारको तुलनामा सबैभन्दा न्यून  हो । 

ईपीएस शाखा नेपालले यहाँ रहेका अवैधानिक नेपाली कामदारहरूको विवरण सार्वजनिक गरेको केही दिनमा आएको तथ्यांकमा १७ हजार ६ सय ८३  नेपाली कामदार वैधानिक रहेको उल्लेख छ । यहाँ व्यापारी, विद्यार्थी, कर्मचारी र वैवाहिक सम्बन्धमा आएका सहित करिब २२ हजार ६ सय ८७ नेपाली छन् ।

तथ्यांकअनुसार कोरियामा ईपीएसबाट आएका प्रवासी कामदारहरूको संख्या ४ लाख ४६ हजार ६ सय २२ रहेको छ । यीमध्ये २१.३१ प्रतिशत अवैधानिक रहेका छन् । देशका आधारमा सबैभन्दा धेरै ६ हजार ७ सय ७७ जना (८६.६८ प्रतिशत) चिनियाँ कामदार अवैधानिक छन् । चिनियाँ वैधानिकको संख्या १ हजार ४१  छ । सार्क मुलुकमध्ये पाकिस्तानी सबैभन्दा धेरै २१.९६ प्रतिशत अवैध छन् । बंगलादेशी १९.७३, श्रीलंकाली १३.५६ र म्यानमार ६.११ अवैधानिक रहेका छन् ।

अध्यागमन विभागका अनुसार कोरियामा  विदेशी नागरिकको संख्या १६ लाख ९ हजार ६ सय ७०  छ । यो कोरियाली जनसंख्याको ३.२८ प्रतिशत हो । यहाँको जनसंख्या ४ करोड ९० लाख ३९ हजार छ । विदेशी नागरिकमध्ये चिनियाँ सबैभदा धेरै ४ लाख ९ हजार  रहेका छन् । यीमध्ये १ लाख ८४ हजार १ सय ४६ अवैधानिक रूपमा रहेका छन् । यहाँको श्रम तथा रोजगार मन्त्रालयले गत जनवरीमा सार्वजनिक गरेको आँकडाअनुसार दक्ष, अर्धदक्ष र अदक्ष ६ लाख ७० हजार प्रवासी मजदुर कार्यरत  छन् । अदक्ष कामदार ६३.५८ प्रतिशत अर्थात् ४ लाख २६ हजार कार्यरत  छन् ।

कोरियामा अमेरिका, बेलायत, जापान, क्यनडा, न्युजिल्यान्ड, अस्ट्रेलिया जस्ता विकसित र सम्पन्न मुलुकका नागरिक समेत अवैधानिक छन् । यी मुलुकमध्ये सबैभन्दा धेरै ३ हजार ३ सय  ८३ जना अमेरिकी अवैध छन् । रोजगारीका लागि भारतीयहरू नआए पनि करिब एक हजार जना अवैधानिक रूपले काम गरिरहेका छन् ।

Published on: 22 May 2014 | Kantipur

Back to list

;