s

कुवेतका खद्दामाको उद्धार

सृजना तिवारी

वेती सरकारले परिवारको संख्या एवं परिवारमा भएका बच्चाका आधारमा एउटा परिवारले राख्न पाउने घरेलु महिला कामदार अर्थात् खद्दामाको संख्या तोकिदिएको छ । मुख्य गरी नेपाली, भारतीय, श्रीलंकन, फिलिपिनो एवं इथुपियनहरू घरेलु कामदारका रूपमा कार्यरत छन् । नेपाल सरकारबाट रिक्रुटमेन्ट एजेन्सी सम्झौताका विषयमा निर्णय नहुन्जेल अस्थायी रूपमा कुवेतस्थित नेपाली दूतावासमा दर्ता भएका रिक्रुटमेन्ट एजेन्सीले सीमित मात्रामा वैधानिक रूपमा नेपाली घरेलु कामदार ल्याइरहेको अवस्था छ । यस्ता एजेन्सीमा नेपाली सेक्रेटरी अनिवार्य हुनुपर्छ । तर दूतावासमा दर्ता नभएका अन्य एजेन्सीहरूले पनि अवैधानिक रूपमा भारतको बाटोबाट नेपाली महिला कामदार ल्याइरहेको विषयमा पनि समयसमयमा विभिन्न सवाल उठ्ने गरेका छन् ।

कुवेती स्पोन्सरले एउटा नेपाली खद्दामाको लागि एजेन्सीमा कम्तीमा ५५० के.डी (नेपाली रुपैयाँ १,६५,०००) देखि बढीमा ६५० के.डी. (१,९५,०००) हजारसम्म तिरेका हुन्छन् । खद्दामा ल्याउन लाग्ने सम्पूर्ण खर्च कुवेती स्पोन्सरले बेहोरेको हुन्छ । घरेलु कामदारको करार अवधि २ वर्षको हुन्छ र कामदारले २ वर्ष अनिवार्य रूपमा काम गर्नुपर्ने हुन्छ । सम्बन्धित स्पोन्सरकामा काम नगरी भागेर बाहिर काम गरेमा गैरकानुनी हैसियत हुन्छ । यदि कुनै पनि घरेलु कामदार १०० दिन नपुग्दै कुवेतीका घरबाट भागेमा कुवेतीले तिरेको सम्पूर्ण रकम एजेन्सीले फिर्ता गर्नुपर्ने हुन्छ । तर ग्यारेन्टी अवधिपश्चात भागेमा भने एजेन्सीले सो रकम तिर्नु पर्दैन । तसर्थ १०० दिन नपुगुन्जेल एजेन्सीहरूले पनि राम्रो व्यवहार गर्ने, फकाउने र त्यसपछि भने नराम्रो व्यवहार गर्ने गुनासा बारम्बार आउने गरेका छन् ।

धेरैजसो कुवेतीले आफूले पाएको सुविधा दुरुपयोग गरी भिसा बेच्ने कामसमेत गरेका छन् । यदि कानुनी रूपमा उसले ५ जना खद्दामा राख्न पाउँछ भने १ वा २ जना आफ्नो घरमा राखी बाँकी ३ जनाको भिसा जनही बढीमा ७०० के.डी. (ने.रु. २,१०,०००) सम्ममा बेच्ने गर्छन् । यस्ता भिसा नेपाली, इन्डियन, फिलिपिनो, इथुपियनहरूले आफन्तहरू ल्याउन किन्ने गर्छन् । घरमा भन्दा बाहिर काम गर्दा धेरै कमाउन सकिने हुनाले यस्ता भिसाहरू व्यापक रूपमा खरिदबिक्री हुने गर्छन् । केही टाठाबाठा नेपाली खद्दामाहरू खासगरी खाडीमा काम गरी अनुभव लिएकाहरूले पनि कुवेतीलाई पैसा तिरी भिसा खरिद गरी बाहिर काम गरिरहेका छन् । तसर्थ कुनै पनि खद्दामालाई तुरुन्त उद्दार गर्न कुवेतीलाई पैसा नतिरी सम्भव नै छैन । कुवेतमा भेडाबाख्राको खरिदबिक्रीसरह घरेलु भिसाको खरिदबिक्री भइरहेकाले उद्घार प्रक्रिया जटिल बन्दै गइरहेको छ ।

करार अवधि नसकी भागेर दूतावास आएका महिला कामदारलाई तुरुन्त उद्दार गरी नेपाल पठाउन ज्यादै कठिन छ । त्यस्तै घरमा काम गरिरहेका कामदारको उद्दार पनि सहज रूपमा गर्न सकिँदैन । घरेलु कामदारको राहदानी कुवेती मालिकले राखेको हुन्छ । खद्दामालाई नेपाल पठाउन अनुरोध गर्दा मैले दुई वर्ष काम गर्ने गरी तिरेको रकम कसले दिन्छ भनी विवाद गर्छन् । तसर्थ उनीहरूले मागेबमोजिमको रकम नतिरी राहदानी फिर्ता लिन सकिँदैन ।

एउटा नेपाली खद्दामा राख्न कुवेतीले तिरेको पैसा कुवेतस्थित एजेन्सी र नेपालका एजेन्टले मिलेर लिने गर्छन् । यदि कुनै खद्दामाको उद्दार गर्नुपरेमा यी दुवैले मिलेर रकम कुवेतीलाई तिर्नुपर्ने हुन्छ । कुवेती स्पोन्सरले तिरेको रकम भने दुवैतर्फका एजेन्टले भागबन्डा गरी लिने अनि महिलाहरूलाई व्यक्तिगत रूपमा लामबद्घ गराई विभागबाट व्यक्तिगत श्रमस्वीकृतिका नाममा श्रम दिने कार्य न्यायोचित छैन । कुनै पनि घरेलु कामदारका सम्बन्धमा कुवेतस्थित एजेन्सी र नेपालको एजेन्ट दुवैको जिम्मेवारी र उत्तरदायित्व समान हुनु जरुरी छ ।

कामदारहरूलाई स्वदेश फिर्ता गराउने दुइटा प्रक्रिया छन् - एउटा राहदानी लिएर टिकट काटी सिधै नेपाल फर्काउने र अर्को डिपोर्टेसन सेन्टर हुँदै नेपाल पठाउने । कुवेतीले राहदानी दिएमा सहजै रूपमा टिकट काटी नेपाल पठाउन सकिन्छ । घरबाट खद्दामा भागेपछि कुवेतीले पुलिसकामा 'रन वे केस' हालिदिन्छन् । यस्तो अवस्थामा सम्बन्धित कामदारको फिंगर पि्रन्ट बनाएर पुलिसको डिपोर्टेसन सेन्टरमा लगेर कामदारलाई राखिन्छ र पुलिसले आवश्यक प्रक्रिया पुर्‍याएर नेपाल पठाउँछ । घरबाट भागेका कामदार जसको विरुद्घमा कुवेतीले केस पनि नहालेको, भिसा पनि भएका र राहदानी पनि नदिएको अवस्थामा भने नेपाल पठाउन लामो प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ जसले गर्दा धेरै समय लाग्ने हुन्छ ।

Published on: 2 July 2013 | Kantipur

Back to list

;