s

लगातार दोस्रो महिना पनि बढ्यो रेमिटेन्स, चैतमा भित्रियो साढे ९३ अर्ब

आयातको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चिति घटेर अर्थतन्त्रमा समस्या देखिएका बेला फागुनदेखि सुरू भएको रेमिटेन्स बढ्ने क्रम चैतमा पनि जारी छ। 

वैदेशिक रोजगारमा गएका नेपालीहरूले चैत महिनामा ९३ अर्ब ५५ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा नेपाल पठाएको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ। यसअघि फागुनमा ९१ अर्ब ७ करोड रूपैयाँ भित्रिएको थियो। मुलुक भित्रने रेमिटेन्स लगातार बढेको दोस्रो महिना हो।  

माघ महिनामा ७१ अर्ब रेमिटेन्स आएको थियो। त्यसको तुलनामा फागुनको रेमिटेन्स प्रवाह २८ प्रतिशत बढेको थियो भने फागुनको तुलनामा चैतमा वृद्धिदर भने केही सुस्तिएको छ। चैतमा करिब ३ प्रतिशतले रेमिटेन्स बढेको छ। मासिक आधारमा चैतमा भित्रिएको रेमिटेन्स यो आर्थिक वर्षकै सबभन्दा बढी हो।

 

यो वर्षको सुरूदेखि नै रेमिटेन्स आम्दानी ७० देखि ८० अर्बको बीचमा रहँदै आएको थियो। फागुन र चैतमा मासिक ९० अर्बभन्दा बढी भित्रिनु सकारात्मक संकेत हो। यसले वैदेशिक मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्नेछ। 

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय स्तरमै आर्थिक गतिविधि ठप्प भएपछि चालू वर्षको सुरूदेखि रेमिटेन्स आम्दानी प्रभावित छ। विदेशी मुद्रा सञ्चितिलगायत देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको रेमिटेन्स घट्नुले आर्थिक समस्या उत्पन्न हुनसक्नेमा चिन्ता व्यक्त गरिँदै आएको छ। यही बेला रेमिटेन्स प्रवाहमा सुधार देखिनु राहतको विषय भएको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्ष साउनमा करिब ७६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अघिल्लो आर्थिक वर्षको अन्तिम महिना (असार) को तुलनामा १८ प्रतिशत कम हो।

 

त्यसलगत्तै भदौमा रेमिटेन्स आय करिब ८० अर्ब र असोजमा अलिकति बढेर ८४ अर्ब पुग्यो। असोजपछि भने अहिलेसम्म ८० अर्ब नाघ्न सकेको थिएन। राष्ट्र बैंकका अनुसार कात्तिकदेखि माघसम्म ७० देखि ८० अर्बको बीचमा तलमाथि भइरहेको थियो। 

कात्तिकमा ७३ अर्ब भित्रिएकोमा मंसिरमा अलिकति बढेर ७६ अर्ब पुग्यो। त्यसपछि पुसमा फेरि अलिकति बढेर ७९ अर्ब पुग्यो। माघमा भने ह्वात्तै घटेर जम्मा ७१ अर्ब भित्रिएको थियो। यो चालू वर्षकै सबभन्दा कम हो। 

पछिल्ला महिना रेमिटेन्समा आएको गिरावटको शृंखला वैदेशिक रोजगारमा जानेहरूले लिने श्रम स्वीकृतिको तथ्यांकमा पनि देखिन्छ। 

आर्थिक वर्षका सुरू महिनामा नयाँ श्रम स्वीकृति लिने वा पुरानो स्वीकृति नवीकरण गर्नेहरूको संख्या घटेको थियो। केही महिनायता भने श्रम स्वीकृति र नवीकरण दुवै संख्या बढेको देखिन्छ। 

साउनमा जम्मा १३ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए भने पुनः स्वीकृति लिनेको संख्या ११ हजार ६ सय २८ थियो। माघसम्म आइपुग्दा यसमा ठूलो सुधार भएको छ। माघमा २ लाखभन्दा बढीले श्रम स्वीकृति लिए भने डेढ लाखभन्दा बढीले पुनः स्वीकृति लिए। फागुन र चैतमा अझै बढेको छ। 

औद्योगिकीकरणको गति सुस्त रहेको र निर्यातयोग्य वस्तुहरू खासै धेरै नभएको नेपालका लागि विदेशी मुद्रा आर्जनको एउटा मुख्य स्रोत रेमिटेन्स नै हो। यसबाहेक पर्यटन क्षेत्र पनि विदेशी मुद्राको प्रमुख स्रोत रहँदै आएको छ। तर कोरोना महामारीपछि पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ। 

झन्डै दुई वर्ष पर्यटक आगमन नगन्य हुँदा धेरै होटल, रेस्टुरेन्ट तथा क्याफेहरू बैंकको व्याज तिर्न नसकेर बन्द भएका छन्। पछिल्लो समय पर्यटक आगमन फेरि बढ्न थालेको छ। 

लकडाउनको बेला बन्द गरिएका होटलहरू खुल्ने क्रममा छन्। तर यो क्षेत्रले पुरानै गति पक्रेर वैदेशिक मुद्रा आर्जनमा योगदान गर्न अझै केही समय लाग्छ। 

यो अवस्थामा वैदेशिक रोजगारमा गएका नेपालीहरूले पठाउने रेमिटेन्स पनि बढ्न नसक्नुले अर्थतन्त्र समस्याको मुखमा छ। 

विगतमा रेमिटेन्स आम्दानी नियमित बढ्ने गरेको थियो। यसले गाउँ-गाउँमा पैसा प्रवाह बढेर प्रतिव्यक्ति आय र समग्र अर्थतन्त्रलाई ठूलो मद्दत पुगेको थियो। 

पछिल्लो समय देशभरिका सानाठूला बस्ती जसरी सहरीकरणतर्फ उन्मुख छन्, त्यसमा रेमिटेन्सको ठूलो हात छ। मोबाइल, टेलिभिजन, फ्रिज, वासिङ मेसिन लगायत घरायसी उपकरणदेखि सेवा क्षेत्रको बढ्दो उपभोगमा रेमिटेन्सको कमाइ उपभोग हुने गरेको छ। 

रेमिटेन्स घट्नु वा स्थिर हुनुमा वैदेशिक रोजगारमा जाने तयारी गरिरहेकाहरूले कोभिड महामारीका कारण जान नपाउनु एउटा प्रमुख कारण थियो। 

सरकार आफैंले वैदेशिक रोजगारमा जान विभिन्न बहानामा रोकतोक समेत गरेको छ। खासगरी महिलाहरूको सुरक्षाका लागि भन्दै कडा नियम लागू गरिएको छ। 

महामारी मत्थर भएपछि नेपाली युवायुवतीहरू विदेश जाने क्रम फेरि बढेको छ। पछिल्लो छ/सात महिनामा साढे तीन लाख जना गइसकेका छन्। यसले आगामी दिनमा रेमिटेन्स आउने क्रम अझै बढ्न सक्छ। 

विदेशबाट आउनुपर्ने रेमिटेन्सको ठूलो परिमाण बैंकिङ च्यानलको सट्टा हुन्डीबाट जानुले पनि रेमिटेन्स प्रवाहमा असर पारेको छ। 

कतार, माल्दिभ्स र कोरियाजस्ता मुलुकबाट नेपाल आउने रकम औपचारिकभन्दा अनौपचारिक माध्यमबाट बढी आएका छन्। यसले जति रेमिटेन्स नेपाल भित्रिरहेको छ, त्यसको वास्तविक परिमाण बैंकिङ तथ्यांकमा देखिएको छैन।

Published on: 12 May 2022 | Setopati

Link

Back to list

;