s

लेबनानमा अलपत्र ३७ युवतीको उद्धार

लेबनानमा अलपत्र ३७ महिलासहित ३९ नेपाली कामदारलाई सोमबार उद्धार गरी काठमाडौं ल्याइएको छ। म्यानपावर कम्पनी र एजेन्टमार्फत रोजगारका लागि त्यहाँ पुर्याइएका उनीहरुलाई सरकार, इजिप्टस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को प्रयासमा उद्धार गरिएको हो।

त्रिभुवन विमानस्थलमा उनीहरूले आफूहरुमाथि शारीरिक यातना तथा श्रम शोषण गरिएको बताए। घरेलु कामका लागि त्यहाँ पुगेका अधिकांशलाई भनेजति तलब नदिएको, शारीरिक यातना र श्रम शोषण गरेको पीडितले बताएका छन्। सहनै नसकेपछि भागेर उनीहरु नेपाली समुदाय भएका ठाउँमा बस्दै आएका थिए। राहदानी लगायत कागजात काम दिने एजेन्टसँगै हुँदा लामो समय अवैध बस्नु परेको उनीहरुले जानकारी दिए।

काठमाडौं नयाँबसपार्ककी पुतली घले ६ वर्ष अघि लेबनान पुगेकी थिइन् । तर उनी त्यहाँ एक दिन पनि ढुक्कले काम गरेर बस्न पाइनन् । घरेलु कामदार रहेकी उनले तलब त के, राम्रोसँग खान पनि नपाएको बताइन्। 'खान पनि दिन छाडे, अनि घर छाडेर भागेँ,' घलेले दुःख बिसाइन्, 'छ वर्षसम्म अवैधानिक भएर बसेँ, पासपोर्ट आफूसँग नहुँदा फर्कन समेत सकिएन।'


उनीहरुलाई वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समूहले चलाइरहेको 'पौरखी' संस्थाले जिम्मा लिएको छ । केही समय पौरखीकै सेन्टरमा राखिने र आइओएममा स्वास्थ्य जाँच गरेर बिस्तारै घर पठाइने जनाइएको छ।
पीडित घलेका अनुसार घरमालिकनीले राम्रो व्यवहार नगरेको र भनेको भन्दा कम तलब दिएपछि उनी भागेर केटी नै केटी भएको ठाउँमा बसेकी थिइन् जहाँ उनीजस्ता थुप्रै पीडित थिए।


उनीहरु अधिकांशले कामदार एजेन्ट र केही म्यानपावर कम्पनीमार्फत लेबनान गएको बताए। काठमाडौंकी कोपिला लामाले आफू मिराकल म्यानपावरमार्फत लेबनान गएको सुनाइन्। म्यानपावरले उनलाई मासिक डेढ लाख तलब दिने बताए पनि ४०–५० हजार मात्र दियो ।  'कुट्ने र मानसिक तनाव दिन थालेपछि काम गर्ने ठाउँ छाडेर भागेँ,' उनले अलपत्र कथा सुनाइन्, 'लेबनानमा धेरै महिला कामदारको अवस्था दयनीय छ।'


उद्धार गरिएका कामदार लिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निमित्त कार्यकारी निर्देशक टीका भण्डारी लगायत सरकारी अधिकारी विमानस्थल पुगेका थिए । भण्डारीले लेबनानमा धेरै अघिदेखि अलपत्र कामदारलाई नेपालबाट पहल गरी इजिप्ट दूतावासको सहयोगमा उद्धार गरिएको जानकारी दिए। 


वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले नेपालबाट संस्थागत रुपमा घरेलु कामदार पठाउने प्रावधान नभए पनि एजेन्टले नेपाली चेलीलाई विदेश पुर्याउने काम गरिरहेको बताए । 'सरकारले घरेलु महिला कामदार पठाउन संस्थागत रुपमा बन्द गरे पनि हजारौं विदेशमा छन्,' उनले भने, 'यसलाई कसरी नियन्त्रण गर्ने, बेलैमा सोच्नुपर्छ।'

 Published on: 15 April 2014 | Nagarik

Back to list

;