s

मागेजति नदिने भिसा रद्द

खाडी मुलुक र मलेसिया जानेबाट बढीमा १० हजार रुपैयाँसम्म लिन पाइने सरकारले नियम बनाएको सुनेपछि सोलुखुम्बुको गोली–कपतीका सोनाम शेर्पाले वैदेशिक रोजगारीमा जाने निर्णय गरे।
 
गाउँमा कुनै अवसर नपाएका शेर्पाले साउदी जान रातोपुलस्थित केपी इन्टरनेसनल मेनपावरमा पासपोर्ट बुझाएलगत्तै गत भदौ २१ गते भिसा पनि लाग्यो।
 
पासपोर्टमा भिसा लागेपछि सोनाम विदेश जान पाइने आसले पटकपटक मेनपावर कम्पनी धाइरहे। तर, कम्पनीले साउदी जान १ लाख २० हजार रुपैयाँ चाहिने नभए पठाउन नसकिने जवाफ दिएपछि सोनामको इच्छा पूरा हुन सकेको छैन। गत असार २१ गतेदेखि खाडी मुलुक र मलेसिया जाने युवायुवतीसँग १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने सरकारी नियमका कारण यतिखेर सोनामको वैदेशिक रोजगारी अनिश्चित बनेको छ।
 
सोनामले सरकारी नीति अनुसार नै १० हजार रुपैयाँ तिर्न खोजेपछि केपी इन्टरनेसनलले अहिले आएर रोजगारदाता कम्पनी खराब परेको भन्दै भिसा रद्द गरेर पासपोर्ट फिर्ता लिन दबाब दिइरहेको उनले बताए। 'पासपोर्ट बुझाएदेखि नै मेनपावरले १ लाख २० हजार रुपैयाँ मागिरहेको थियो,' सोनामले भने, 'मैले सरकारी नियमअनुसार रकम तिर्छु भन्ने अडान लिएपछि उसले रोजगारदाता कम्पनी खराब भएको र त्यस्तो कम्पनीमा पठाउन नसक्ने बताइरहेको छ।'
 
मेनपावरले मागेजति रकम नपाउँदा भिसा रद्द गरी पासपोर्ट फिर्ता गर्न खोजेपछि श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभाग पुगेर गुनासो गर्दा पनि त्यसबारे सुनुवाइ नभएको सोनामले गुनासो गरे। 'सरकारी नियम अनुसार पैसा तिरेर भिसा लागेको कम्पनीमा काम गर्न जान पाउनुपर्छ भनेर मन्त्रालय र विभाग पटकपटक धाउँदा पनि कर्मचारी मेनपावरको भाषा बोल्छन्,' उनले भने, 'न्यायका लागि सरकारको उच्च निकायमा पुग्दासमेत बेवास्ता भइरहेको छ।'
 
माग अनुसारको १ लाख २० हजार रुपैयाँ नपाएपछि केपी इन्टरनेसनल ओभरसिजले यतिखेर वैदेशिक रोजगार विभाग लगायतका सरकारी निकायमा भिसा लागेको साउदी कम्पनी खराब भएकाले पठाउन नसकिने बताउँदै आएको छ। तर, साउदी जानलाई तयारी अवस्थामा बसेका सोनामले भने मेनपावरले भने जति रकम नपाउँदा बहाना बनाएको र त्यसलाई मन्त्रालय र विभागका कर्मचारीले बुझ्न नखोजेको गुनासो गरे।
 
'मेनपावरले नियमभन्दा बढी रकम मागेको गुनासो लिएर सरकारको उच्च निकायमा पुग्दासमेत न्याय दिने प्रयास भएन,' उनले भने, 'मागे जति बुझाए रोजगारदाता राम्रो हुने, सरकारी नियम अनुसार बुझाउन खोज्दा रोजगारदाता नराम्रो हुने हो भने वैदेशिक रोजगारीमा सर्वसाधारण ठगिने क्रम जारी रहन्छ।'
 
सोनामसँगै साउदी जान तयारी गरेका गोली–कपतीकै मिङ्मार शेर्पा पनि अहिले विदेश जान पाइने/नपाइने अन्योलमा छन्। उनलाई पनि सोही मेनपावरले सुरुमा १ लाख २० हजार रुपैयाँ मागेको थियो। त्यति पैसा नदिने भनेपछि उनलाई रोजगारदाता कम्पनी खराब भन्दै पासपोर्ट फिर्ता गरेको छ।
 
सोनाम र मिङ्मारले मेनपावर कम्पनीलाई मागेजति रकम लिने भए रसिद दिनुपर्छ भन्दा रसिद चाहिँ १० हजार रुपैयाँको मात्र दिन खोजेको बताए। '१ लाख २० हजार रुपैयाँ असुलेर १० हजार रुपैयाँको रसिद लिन खोजेपछि न्याय खोज्दै वैदेशिक रोजगार विभाग पुग्दा त्यहाँका कर्मचारीले उल्टै असभ्य व्यवहार गरे,' सोनामले भने, 'विभागका कर्मचारी नै भिसा लागेअनुसार विदेश जाने हो भने भविष्यमा जुनसुकै समस्या आउँदा कुनै गुनासो नगर्ने गरी कागज गर्नुपर्छ भन्दैछन्।'
 
वैदेशिक रोजगार विभागका कर्मचारी भने मेनपावरले रोजगारदाता कम्पनी नराम्रो छ भन्दाभन्दै कसैलाई पनि बाध्य पारेर वैदेशिक रोजगारमा पठाउन नसकिने बताउँछन्। मेनपावर सञ्चालक निर्मल रायले पनि भिसा लगाउँदासम्म रोजगारदाता कम्पनीको अवस्था राम्रो भएको तर अहिले आएर उसको अवस्था बिग्रेकाले सोनाम र मिङ्मारलाई पठाउन नखोजेको जिकिर गर्छन्।
 
Published on: 3 November 2015 | Nagarik
 

Back to list

;