s

मजदुर आन्दोलनले तीनतारे होटल बन्द

मजदुर आन्दोलनले पोखरा चाउथेमा सञ्चालित तीनतारे होटल फेवा प्रिन्स अनिश्चितकालका लागि बन्द भएको छ। मजदुरका माग पूरा गर्न नसकिने खालका भएकाले होटल बन्द गरेको व्यवस्थापनले जनाएको छ। सञ्चालक नरेश शंकर पालिखेले मजदुरको माग पूरा गर्नसक्ने अवस्था नरहेकाले बन्द गर्ने निर्णय गरेको जानकारी दिए। 'मजदुरसँगै छलफल गरेर बन्द गर्ने निर्णय गरेका हौं। उनीहरुका माग पूरा गरेर चलाउनसक्ने अवस्था रहेन,' उनले भने, 'अर्काे व्यवस्था नहुँदासम्म बन्द गर्ने निर्णय भएको छ।' मजदुरसँग बन्द गर्ने सहमति गरेपछि पनि उनीहरूले आन्दोलन गरिरहेको उनले बताए।

पछिल्लो तीन वर्षमा तीनपटक तलब बढाएको पालिखेले जानकारी दिए। 'हामीसँग यसै पनि धेरै मजदुर छन्। कम आम्दानीका बाबजुद जसोतसो चलाएका थियौं,' उनले भने, 'बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पनि मुस्किलले तलब खुवाएका थियौं तर अनेक निहुँमा मजदुरले माग थप्दै लगेपछि सञ्चालन गर्नसक्ने वातावरण भएन।' 

डेढ दसकदेखि सञ्चिालित यो होटलमा ३१ वटा कोठा छन्। यहाँ ४२ कर्मचारी कार्यरत छन्। होटलका कोठाको प्रतिरात शुल्क ६० देखि ७० अमेरिकी डलरसम्म पर्छ। लामो समयदेखि घाटामा चलिरहेको होटलका कोठाको वार्षिक अकुपेन्सी दर ४५ प्रतिशतमात्र रहेको कर्मचारीले बताएका छन्। सरकारले तोकेको न्यूनतम ज्याला दिनुको साटो व्यवस्थापनले होटल नै बन्द गरेको आरोप मजदुरले लगाएका छन्। सरकारले न्यूनतम ज्याला मासिक ८ हजार तोकेको भए पनि आफूहरुले थोरै पारिश्रमिकमा काम गरिरहेको उनीहरुको भनाइ छ। संघर्षरत मजदुरका अध्यक्ष हरि थापाले भने, 'हामीले अरु सुविधा मागेका होइनौं। नेपाल सरकारले दिएको न्यूनतम पारिश्रमिक पाउनुपर्छ भनेका हौं।'

मजदुरले आन्दोलनस्वरुप पेन डाउन कार्यक्रम राखेका बेला व्यवस्थापनले वार्तामा बस्ने निहुँमा अपमान गरेको उनले बताए। 'माग पूरा नभएसम्म काम गर्न तयार छैनौं,' उनले भने। वार्ताका क्रममा व्यवस्थापनले गेटबाहिर बस्ने कि भित्र? भनेर धम्क्याएको उनले बताए। पर्यटकीय सिजनका बेला मजदुर आन्दोलनले होटल बन्द हुनु दुखद रहेको पर्यटन व्यवसायीले बताएका छन्। 'पर्यटकीय होटल बन्द हुनु नकारात्मक हो। लामो अफसिजनपछि बल्ल सिजन लागेर होटलले राहत पाउने बेलामा मजदुरले माग तेर्स्याएर बन्द गर्दा समग्र पर्यटन व्यवसायलाई नोक्सान हुन्छ,' पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष भरत पराजुलीले भने, 'सिजनका बेला अप्ठ्यारा माग राखेर आन्दोलन गर्नु जायज होइन।'

कार्यक्रम चल्दैगर्दा होटल बन्द
फेवा प्रिन्समा युनिसेफको कार्यक्रम चलिरहेको छ। बिहीबारदेखि सुरु भएको कार्यक्रम शनिबार सकिन्छ। तर, मजदुर आन्दोलनले गर्दा कार्यक्रममा आएका पाहुनालाई खानपिन र बसोबासमा समेत समस्या परेको छ। होटल म्यानेजर कमल खनालका अनुसार १४ जना सहभागीसहित युनिसेफको कार्यक्रम चलिरहेको छ।

Published on: 11 September 2013 | Nagarik 

Back to list

;