s

मलेसियाबाट दुई हजार नेपाली फर्किए

मलेसियामा गैरकानुनी हैसियतमा रहेकामध्ये १ हजार ९ सय ५९ जना नेपाली स्वदेश फिरेका छन्। केहीदिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसै वर्ष जनबरीदेखि जुन महिनासम्मको अवधिमा उनीहरू अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन्। 

स्थानीय एक दैनिकमा प्रकाशित समाचारअनुसार गत ६ महिनाको अवधिमा नेपालीसहित १५ हजार एक सय ९ जना गैरकानुनी आप्रवासी कामदारले आत्मसमर्पण गरेका थिए। उक्त अवधिमा त्यसरी फिर्नेमध्ये नेपालीको संख्या दोस्रो ठूलो हो।

स्वदेश फिर्नेमा श्रीलंकाली सबैभन्दा बढी छन्। उक्त अवधिमा आत्मसमर्पण गर्नेमध्ये २ हजार २८ जना श्रीलंकाली, एक हजार ८ सय ५८ भारतीय, एक हजार ६ सय २९ फिलिपिनो, एक हजार ६ सय ६ इन्डोनेसियाली, एक हजार १६ बर्मेली, एक हजार ९ पाकिस्तानी, नौ सय ५२ बंगलादेशी र नौ सय ४८ जना भियतनामी रहेका जनाइएको छ।

मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई विभागमा आत्मसमर्पण गरेपछि माफी पाउने र निश्चित रकम जरिवाना तिरेर स्वदेश फिर्नसक्ने अवसर दिँदै आएको छ। उसले पछिल्लोपटक गत आगामी डिसेम्बर ३१ सम्म अध्यगामन विभागमा उपस्थित भई जरिवाना र फिर्ती पासका लागि एक सय गरी ४ सय रिंगिट तिरेर घर र्फकने अवसरसमेत दिएको छ। दुईसाता अघिदेखि दिइएको उक्त अवसरको पनि तीन हजारभन्दा बढी गैरकानुनी आप्रवासीले सदुपयोग गरिसकेका जनाइएको छ। तर तीमध्ये कति नेपाली छन् भन्ने जानकारी छैन।

अब गैरकानुनी हरेक नेपाली लगायत सबै आप्रवासी कामदार मलेसियाली अध्यागमन विभागमा पुगेर जरिवाना र फिर्ती पासका लागि ४ सय रिंगिट तिरेर सहजै स्वदेश फिर्न पाउँछन्। यसअघि नेपाली दूतावासको पहलमा जरिवाना र पासका लागि अहिलेभन्दा एक सय रिंगिट बढी तिरेर गैरकानुनी हैसियतका नेपालीहरू फिरेका थिए। 

गैरकानुनी आप्रवासीहरू सहज माध्यम हुँदाहुँदै पनि स्वदेश फिर्न दलालको फन्दामा परेर ठगिने गरेका छन्। पर्याप्त सूचना प्रवाह हुँदासमेत उनीहरू दलालको भ्रममा पर्ने गरेका छन्। दलालमार्फत घर फिर्न प्रतिव्यक्ति ३ हजार रिंगिटभन्दा बढी रकम खर्च गर्ने गरेका कयौं उदाहरणहरू छन्। तर मलेसियाले त्यस्तो सिन्डिकेट तोड्न न्यूनतम शुल्क तिरेर फिर्नसक्ने व्यवस्था ल्याएपछि अब बहुसंख्यक आफैं अध्यागमन विभागमा उपस्थित भएर र्फकने विश्वास गरिएको छ। 

'स्वदेश र्फकन चाहने गैरकानुनी नेपालीले कुनै दलालको पछि लाग्नु पर्दैन,' दूतावासका एक जना कर्मचारी सुझाउँछन्, 'फिर्ती हवाई टिकट र दूतावासबाट यात्रा अनुमतिपत्र भने लिनुपर्दछ। त्यति लिएर आफैं अध्यागमन गएर जरिवाना तिरे सहजै फिर्न पाइन्छ।' मलेसियामा अझै पनि हजारौं नेपाली गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान छ।

Published on: 5 August 2014 | Kantipur 

Back to list

;