s

मलेसियामा ५ नेपाली बन्धक

रोजगारका लागि मलेसिया पुगेका एकजना सल्यानका कामदारसहित ५ जना नेपालीलाई उनीहरू कार्यरत कम्पनीले बन्धक बनाएको छ।

काम गर्दै आएको कम्पनीले २० दिनदेखि एउटै कोठामा बन्धक बनाएर राखेको उनीहरूका आफन्तले दाबी गरेका हुन्। कागजी सम्झौताअनुसार काम नभएपछि अर्को ठाउँमा काम लगाइदिने भन्दै मलेसियाको काजनउत्तामा रहेको एलएमएल कम्पनीद्वारा पाँचजना बन्धकमा परेका हुन्।

बन्धक पर्नेमा सल्यानका समीर बिक, कीर्तिपुरका काजी नेपाली, सिरहाका रामबालक यादव, विनोद यादव र सिन्धुलीका सिबदुरा महर छन्। कम्पनीले काम गरेको १९ दिनपछि निकालेर बन्धक बनाएको हो। कम्पनीले अन्तै काममा लगाइदिने भन्दै निकालेर बन्धक बनाएको टेलिफोनमा समीर बिकले बताए।

दलालले राहदानी लगेर फरार भएपछि आफूहरू अझ समस्यामा परेको उनले दुःखेसो पोखे। पश्चिम नेपाल ओभरसिज कम्पनी गोंगबुबाट मलेसिया गएका उनले भने, 'पहिला त्यहींको रकम बराबरको तलब दिने सम्झौता गरेको थियो। त्यो रकम नपाएपछि कुरा गर्दा कम्पनीले निकालेको हो।'

कम्पनीले अहिले कोठामा बन्धक बनाएपछि बस्न, खान ज्यादै कष्ट भएको उनले फोनमार्फत गुनासो गरे। बन्धकमा परेका उनले अन्य नेपालीले गरेको आर्थिक सहयोगमा खाना खाएर बाँचेको बताए। कमाउन गएका छोराहरू बन्धक परेपछि आफन्तले फर्काइदिन आग्रह गरेका छन्। बारम्बार आग्रह गर्दा पनि पश्चिम नेपाल ओभरसिज कम्पनीले विभिन्न बहाना बनाउँदै अटेर गरेको समीरका दाइ योगराज बिकले बताए। कम्पनीको कार्यालयमा पुग्दा दुव्र्यवहारसमेत गरेको उनको आरोप छ।

पहिला काम नपाए फिर्ता गराइदिने र क्षतिपूर्ति सबै दिने सम्झौतामा उल्लेख भए पनि कम्पनीका राजीव रञ्जनले डेढ-दुई लाख दिए केही दिनभित्रै फर्काउन सकिने भनेर टारेको उनले गुनासो गरे।

Published on: 15 September 2014 | Kantipur

Back to list

;