s

मलेसियामा डेढ वर्षभित्र ४ लाख एमआरपी चाहिने

सरकारले हस्तलिखित राहदानी विस्थापित गर्न एमआरपी (मेसिन रिडेबल पासपोर्ट) वितरण तीव्र पारिरहेका बेला मलेसियामा पनि एमआरपीका लागि नेपाली दूतावासमा आवेदन दिने नेपाली दिनानुदिन बढिरहेका छन्। हस्तलिखित राहदानीको म्याद र भिसा सकिन लागेकाहरूले भिसा नवीकरण गर्नुअघि नै एमआरपी लिनुपर्ने भएकाले पछिल्लो समय जाने बुझेकासित सोधीखोजी गर्ने र दूतावास जाने नेपाली बढेका हुन्। हाल बाङ्सारमा अवस्थित दूतावासका अनुसार एमआरपीका लागि दैनिक २ सयदेखि ३ सयसम्म आवेदन पर्ने गरेका छन्। तीबाहेक अन्य सेवा लिने सेवाग्राहीसमेत त्यहाँ पुग्छन्। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियमानुसार २०१५ नोभेम्बर २४ पछि एमआरपी अनिवार्य लागू हुनेछ। उक्त मिति अगावै हस्तलिखित राहदानी विस्थापन गरिसक्नुपर्ने भएकाले हस्तलिखित राहदानीबाहेक सबै नेपालीले त्यसअघि नै एमआरपी लिइसक्नुपर्ने बाध्यता छ। 

भिसा र राहदानी दुवैको म्याद सकिनै लागेका कतिपय नेपालीहरू पनि एमआरपी ढिलाइका कारण कानुनी हैसियत नै गुम्ने हो कि भन्ने डरले एमआरपी बेलैमा बनाउन दूतावास धाउने गरेका छन्। उनीहरू एमआरपी ढिलाइले चिन्तितसमेत छन्। 'अब डिसेम्बरमा भिसा सकिँदै छ। त्यसपछि अहिलेको हस्तलिखित राहदानीमा भिसा थप्न मिल्दैन रे।' गत साता दूतावास परिसरमा भेटिएका मेरुस्थित एक फर्निचर कम्पनीमा कार्यरत सुदर्शन भाटले भने, 'त्यसैले बेलैमा एमआरपीका लागि फाराम बुझाउन आएको हुँ।' 

दूतावासका अनुसार एमआरपी लागू भएयता करिब २० हजारप्रति एमआरपी जारी भइसकेको छ। करिब ७ लाख नेपाली कार्यरत रहेको मलेसियामा झन्डै ४ लाखले हाल हस्तलिखित राहदानी प्रयोग गरिरहेका दूतावासको अनुमान छ। डेढ वर्षभित्रै ती सबैलाई एमआरपी वितरण गरिसक्नुपर्ने दूतावासलाई ठूलो चुनौती छ। ती सबैलाई समयमै राहदानी दिलाउन उसले दैनिक सरदर ७ सय ५० नेपालीलाई एमआरपी उपलब्ध गराउनुपर्ने हुन्छ। 

तर समय घर्किंदै जाँदा सीमित कर्मचारीले सेवाग्राहीको चाप थेग्न गाह्रो भएको भन्दै दूतावासका अधिकारी पनि चिन्तित छन्। 'सीमित जनशक्ति छौं, कर्मचारी मागेको माग्यै छौं तर अहिलेसम्म पाइएको छैन। 

बेलैमा यसबारे नसोचे पछि झ््न ठूलो समस्या बढ्ने देखिन्छ,' राजदूत निरञ्जनमानसिंह बस्न्यात सुनाउँछन्, '४ लाख नेपालीलाई एमआरपी वितरण गर्नुपर्ने भएकाले बेलैमा कर्मचारी नथपी विकल्पै छैन।' 

सेवाग्राहीको बढ्दो चापलाई ख्याल गर्दै अगस्ट ३ देखि आइतबार (बिदाको दिन) समेत दूतावास खुला गरिने राजदूत बस्न्यातले बताए। दूतावासका अनुसार आइतबार कामबाट बिदा मिल्ने हुँदा धेरैजसो नेपालीलाई दूतावास आएर सेवा लिन सहज हुन्छ। त्यसैले एमआरपी फाराम संकलन र गैरकानुनी रूपमा रही घर र्फकने नेपालीका लागि यात्रा अनुमतिपत्र वितरणलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो। अबको एक महिना आइतबारदेखि बिहीबारसम्म खुला हुनेछ भने शुक्रबार र शनिबार दूतावास बन्द रहनेछ।

दूतावासमा हाल ७ कूटनीतिक र ४ स्थानीय कर्मचारीसहित ११ जना कर्मचारी कार्यरत छन्। बहुसंख्यक नेपालीले आफैंले सही तरिकाले फाराम भर्न जान्दैनन्। दूतावासमै फाराम भर्ने कर्मचारीसमेत नहुँदा नेपाल पठाइएका २ सय ५० भन्दा बढी फारामहरूसमेत महिनौंपछि नमिलेको भन्दै परराष्ट्र मन्त्रालयबाटै फिर्ता आएको छ। जसका कारण कामदारले झन्झट र सास्ती बेहोर्नुपरेको छ।

सरकारले केही समयअघि मलेसिया र खाडीका लागि राहदानी फाराम भर्न तथा संकलन गर्नका लागि छुट्टै समूह नै पठाउने खबर सार्वजनिक भएको थियो। तर अझैसम्म उक्त समूह मलेसिया आएको छैन। आवेदन सही भए बुझाएको ३ महिनाभित्र एमआरपी वितरण गर्ने भनिए पनि कतिपयको ५/महिना हुँदा समेत नपाएको गुनासाहरू समेत छन्।

Published on: 1 August 2014 | Kantipur

Back to list

;