s

मलेसियामा बेपत्ता हुने नेपाली बढ्दै

वैदेसिक रोजगारीले रेमिट्यान्ससँगै धेरै घरमा खुसियाली मात्र भित्राएको छैन । धेरै नेपाली बेखबर बनेकाले उनीहरूका आफन्तलाई पीडा थपिएको छ ।

पैसा कमाउने र आफूसँगै परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर परदेसिएकामध्ये कतिपय वर्षौं बित्दासमेत घर र्फकनुको सट्टा परदेशमै हराइरहेका छन् । रोजगारीको सिलसिलामा मलेसिया आएका कतिपयको वर्षौं भइसक्दा कुनै अत्तोपत्तो छैन । उता परिवारजन/ आफन्तजन भने थोरै आशा र धेरै निराशा बोकेर हराएका आफन्तको खोजीमा भौंतारिरहेका छन् ।

यहाँको एक कम्पनीमा काम गर्दै आएका सुनसरी झुम्काका लीलाबहादुर खड्का करिब ४ महिनाअघि एकाएक सम्पर्कविहीन भएपछि मलेसियामै कार्यरत काका गणेशले खोजी गर्नुसम्म गरे । उनले चिनेजानेका आफन्तदेखि स्थानीय नेपाली पत्रपत्रिकामा सूचना प्रकाशन गरे । भतिजोको अहिलेसम्म कुनै खबर मिलेको छैन । 'घरमा परिवारका सबै चिन्तित छन् । यता खोजेर थाकिसकें । अहिलेसम्म कुनै अत्तोपत्तो छैन,' थकित मुद्रामा गणेशले भने, 'खोजीमा सहयोग गरिदिनुपर्‍यो ।' गणेशका अनुसार लीलाकै अर्का काका धनबहादुर खड्का पनि ७ महिनायता सम्पर्कविहीन छन् ।

लीलाकै जस्तो अवस्थामा छन् देवदेह-२ खैरेनी रुपन्देहीका मीनबहादुर विष्ट । उनको तीन वर्षयता परिवार एवं आफन्तसित सम्पर्क छैन ।  विष्टका दाजु भूपालका अनुसार 'सिङ फर्निचर' नामक कम्पनीमा कार्यरत विष्ट कम्पनी छाडेर भागेका थिए । त्यसपछि उनी न घरपरिवारसँग सम्पर्कमा छन् न साथीभाइसितै । त्यस्तै साथीलाई भेट्न जान्छु भनी कम्पनी होस्टलबाट निस्केका जोहोरबारुको लेवान टेक्नोलोजी नामक कम्पनीमा कार्यरत पाण्डवबहादुर टण्डनको अवस्थाबारे पनि कुनै जानकारी छैन । उनी पाँच महिनादेखि बेखबर छन् ।

विभिन्न कारणले बेखबर हुनेमध्ये कतिपय इन्डोनेसियाली र फिलिपिनो युवतीसित बिहे गरेर परिवारसित सम्पर्कविहीन हुने पनि भेटिन्छन् यहाँ । त्यसरी बिहे गरेर बस्ने नेपालीको संख्या नगण्य छ । सन् २००३ मा मलेसिया आएका कास्की घर बताउने दुर्गाबहादुर विक (नाम परिवर्तन) एक इन्डोनेसियाली युवतीसित बिहे गरेर सँगै बस्न थालेको पाँच वर्ष भइसक्यो । गैरकानुनी हैसियतमा रहेका उनी तरकारी बिक्री गर्ने काम गर्छन् । उनलाई चिनेजानेका आशाराम चौधरीका अनुसार घर र्फकन सुझाउँदा 'कुरै नगर' भन्दै फन्किन्छन् ।

यहाँस्थित नेपाली दूतावासका अनुसार मलेसियामा बेखबर आफन्तको खोजी गरी उद्धार गरिदिन भन्दै नेपालस्थित परिवारजनका सयौं निवेदन परेका छन् ।

गत २०१२ अक्टोबरयता करिब साढे २ वर्षको अवधिमा बेखबरलाई खोजी एवं उद्धार, जेलमा रहेकाको उद्धार, अलपत्र शवलगायतको उद्धार गरी घर फर्काउनका लागि भन्दै करिब ६ सय ५० निवेदन परेको दूतावासको एक तथ्यांकले देखाएको छ ।  तीमध्ये २ सयभन्दा बढी बेखबरहरूको खोजी गरी उद्धार गरिदिनका लागि अपिल गरिएका निवेदन छन् । त्यस्ता निदेवन नेपालस्थित परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, श्रम मन्त्रालयमार्फत प्राप्त भएकादेखि इमेल, विभिन्न युनियन र साथीभाइमार्फत प्राप्त भएकासम्म छन् ।

ती निवेदनमध्ये बेखबरको खोजी गरी फर्काउन र जेलमा परेकाको उद्धार गरी घर फर्काउन परिवारजनले सहयोग गरिदिन अपिल गरेका पत्र बहुसंख्यक छन् । दूतावासले हराएकामध्ये ती पत्रको आधारमा थप पहल र खोजी गरी कतिपयलाई फर्काइसकेको भए पनि बहुसंख्यकको स्थिति अझै अज्ञात छ । कम्पनीबाट भागेर हिँड्ने र अवैधानिक बन्ने जस्ता प्रवृत्ति बढ्दै जाँदा जेल पर्ने एवं घरपरिवारसँग सम्पर्कविहीन हुने नेपालीको संख्या पछिल्लो समय बढ्दै गएको दूतावासका अधिकारीको अनुभव छ । 'बेखबर हुनुको प्रमुख कारण गैरकानुनी हुनुले नै हो ।' श्रम सहचारी अमलकिरण ढकाल भन्छन, 'तर कतिपय आर्थिक उन्नति गर्न नसकेर र साथीभाइको कुलतमा लागेर पनि यतै हराइरहेका छन् ।' ढकालका अनुसार कतिपय अर्कैका राहदानीमा आएका तथा जेलमा परेका कारण पनि सही पहिचान छुट्याउन गाह्रो हुने हँुदा सही जानकारी पाउन सकिन्न ।

जेलमा परी सम्पर्कविहीन हुनेमा अर्कैको राहदानी प्रयोग गरिआएकादेखि आफन्त र परिवारजनसितको सम्पर्कमाध्यम नहुँदा जेलमै बेखबरजस्तै बन्ने गरेकासमेत छन् । यसरी हराउनेमध्ये दशकअघिदेखि सम्पर्कविहीन हुनेदेखि महिनौं सम्पर्कविहीन हुनेसम्म छ ।

होम कार्की

दोहा (कतार)

झापाका विनोद पराजुलीलाई घर जान पाउनेमा ठूलो उत्साह थियो । उनले आफूसँग भएका सबै बन्दोबस्तीका सामान पोका पारेर गाडीमा राखे । उनका अरू २० साथी पनि त्यस्तै खुसी थिए । निकै झमेला झेलेर उनीहरूका लागि घर जाने बाटो खुल्दै थियो । फागुन २० गते मंगलबार राति साढे १० बजे जेट एयरवेजबाट भारत हुँदै बुधबार बिहानै नेपाल पुग्ने टिकट भनिएको थियो । त्यसै अनुसार घरपरिवारलाई खुसी हुँदै जानकारी दिए । त्यो खुसी गाडीमा चढ्नसाथ भंग भयो ।

उनीहरूको कम्पनी फेसल एन्ड अल इब्रोइनले फेरि घर जान रोकेपछि चढेको त्यो बसबाट उनीहरू ओर्लिएका छैनन् । 'हामीमाथि ठूलो घात भयो । घर पठाउँछु भनेर तीन महिनादेखि टारिरह्यो,' पराजुलीले कान्तिपुरलाई भने, 'अब कुनै हालतमा पनि गाडीबाट ओर्लिदैनौं ।' यतिखेर उनीहरूको जीवन निकै कष्टकर भएको छ । खानाको टुंगो छैन । पानीको अभाव छ । सिटमै रात बिताउँछन् । 'हामीले केही उपाय नलागेपछि बसबाट नओर्लिने निर्णयमा पुगेका हौं,' अर्का पीडित इटहीका रितुमान बस्नेतले भने ।

कम्पनीले नियमित तलब नदिएपछि उनीहरूले जनवरी पहिलो साता नेपाली दूतावास हुँदै यहाँको श्रम विभागसम्म पुगेका थिए । कम्पनीले सबै जनाको भिसा नलगाइदिई गैरकानुनी हैसियतमा कामदारलाई राखेको छ । 'मेडिकल, फिंगरिङ गरेको छैन,' १४ महिनाअघि आएका रितुले भने । कम्पनीले सबै कामदार भागेको भन्दै यहाँ सीआईडीमा पुर्‍याएको थियो । सीआईडीले कम्पनीलाई नियमविपरीत काम गरेको भन्दै पठाइदियो ।

'हामीले न्यायका लागि जानुपर्ने ठाउँमा पुग्न कतै बाँकी राखेनौं,' ताराप्रसाद बाँस्कोटाले भने, 'हामी आफूले लिनुपर्ने पैसा छाडेर घर मात्रै जान्छु भन्दा पनि पाइएन ।' उनीहरू ८ देखि १४ महिनाअघि कतार आएका नेपाली कामदार हुन् । नियमित तलब नभएपछि घरको ऋण तिर्न सकेका छैनन् । '१ लाख १० हजार तिरेर कतार आएका थियौं,' गत जेठ ६ गते आएका संग्रामपुर-६ महत्तोरीका रामचन्द्र महराले भने, 'घरमा ३० हजार रुपैयाँ मात्रै पठाउन सकें ।'

Published on: 9 March 2014 | Kantipur

Back to list

;