s

मलेसियामा २९ नेपाली कामदार चार दिनदेखि भोकभोकै थुनिए

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २९ जना नेपाली कामदारलाई त्यहाँको कम्पनीले ४ दिनदेखि खाद्यान्न नदिइ एउटा कोठामा थुनेर राखेको छ। नेपालबाट इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रालीबाट डेढ महिनाअघि मलेसियाको टुस्कर ट्रान्समिसन कम्पनीमा गाडीको बेल्ट बनाउने काममा पुगेका कामदारलाई सम्झौता अनुसारको काम र तलब नदिइ कोठामा थुनेर राखेको कामदारहरुले बताएका छन्।

मलेसियाबाट नागरिकलाई टेलिफोन गर्दै निशान खत्रीले ४ दिनदेखि खाद्यान्न पनि नदिएर होस्टलको एउटै कोठमा २९ जनालाई कोचेर राखेको बताए। नेपालबाट आउँदा एउटा काम र तलब भनेपनि यहाँ आएपछि फरक काम र तलब भएपछि हामीले कुरा गर्दा कम्पनीको मालिकले बाहिर पनि जान नदिने र खाद्यान्न पनि नदिने गरेको बताए।

'ओभरटाइम र तलब गरेर १२ सय ३७ रिंगेट हुन्छ भन्दै गाडीको बेल्ट बनाउने कम्पनीमा पठाए पनि अहिले अन्य काममा लगाउने र नगरे थुन्ने गरेको छ,' उनले भने। 'अहिले ९ सय रिंगेटको मात्र कुरा गरेर त्यो पनि पूरा नदिने भनेपछि हामी अलपत्र अवस्थामा छौं,' उनले भने, 'यहाँको दूतावास, नेपालको म्यानपावर कम्पनी जताततै फोन गर्दा पनि कुनै सुनुवाई नै भएन।'

अर्को कामदार शेरबहादुर बस्नेतले हामीलाई अमानवीय व्यवहार गरेर भेडाब्राखाजस्तै कोठामा थुनेर राखेको बताए। हामीलाई मेडिकल गर्न भनेको थियो हामीले सम्झौता अनुसारको काम र तलब भएपछि मात्र मेडिकल गर्न जान्छौं भनेपछि कोठामा थुनेर राख्यो अहिले काम पनि गरेका छैनौं। ट्वाइलेट, बाथरुममा चाँबी लगाएको छ, कोठाको बिजुली र टिभीको लाइन पनि काटेको छ, उनले भने।

अर्का कामदार विपीन घर्तीले म्यानपावरले ८० हजार लागतमा पनि १ लाख ७० हजार लिएको र सेवा सुविधा पनि फरक भएकाले आफुहरुले नेपाल फर्कन चाहेको बताए।

इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रालीका सन्चालक वाइबी राईले कामदारहरुले मेडिकल गर्न नमानेपछि समस्या उत्पन्न भएको बताए। गएको बल्ल एक महिना भएको छ, आधारभूत तलबमा कुनै समस्या छैन तर एक महिनापछि ओभरटाइम हुन्छ भन्दा पनि कामदारले नमानेपछि समस्या उत्पन्न भएको उनीहरुले बताए। 'गएको दुई चार दिनमा एकैचोटि सबै सुविधा हुँदैन मेडिकल नगरेर काम पनि नगर्दा समस्या भएको हो, यो तत्काल समाधान हुन्छ,' उनले भने।

Published on: 17 February 2015 | Nagarik

Back to list

;