s

मलेसियाको निसानामा गैरकानुनी कामदार

रामचन्द्र गिरी


मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारविरुद्ध धरपकड अभियान थाल्ने भएको छ । मलेसियाले दोस्रोपटक यही जनवरी २१ -सोमबार मध्यरात) देखि देशव्यापी रूपमा उक्त अभियान गर्न लागेको स्रोतलाई उद्धृत गर्दै यहाँस्थित नेपाली दूतावासले जनाएको छ । 

उक्त अभियानबारे आफूलाई औपचारिक जानकारी प्राप्त भएको भन्दै दूतावासले शनिबार सूचना जारी गरी सहयोगका लागि आइतबार पनि दूतावास खुला गरिने जनाएको छ । धरपकड अभियानबाट गैरकानुनी हैसियतका हजारौं नेपाली प्रभावित हुन सक्नेछन् । त्यसैले अभियान सञ्चालन हुनुअगावै यात्रा अनुमतिपत्र बाँड्न दूतावासले आइतबार पनि कार्यालय खुला गर्न लागेको हो । 

साथमा ट्राभल डकुमेन्ट र घरफिर्ती टिकट हुनेलाई पक्राउ नगरिने मलेसियाले जानकारी दिएको छ । दूतावासले गैरकानुनी हैसियतमा रहेका नेपालीलाई तुरुन्त दूतावासमा सम्पर्क गरी यात्रा अनुमतिपत्र लिन अनुरोधसमेत गरेको छ । दूतावासलाई जानकारी प्राप्त भएअनुसार ट्राभल डकुमेन्ट र घर फिर्ती टिकट साथमा हुनेहरू अध्यागमनमा जरिवाना रकम तिरेर स्वदेश फिर्न सक्नेछन् ।

'अप्रेसन बरसेपाडु' अर्थात् एकीकृत अपरेसन नाम दिइएको यो धरपकड अभियानमा अध्यागमन, प्रहरी, गैरसैन्य तथा स्वयंसेवक दस्तालगायत विभिन्न निकायका अधिकारी आवद्ध हुने जनाइएको छ । मलेसियाली गृहमन्त्री दातुक अहमद जाहिद हमिदीले जनवरी २१ देखि गैरकानुनी कामदारविरुद्ध कारबाही गर्न धरपकड अभियान थालिने केही दिनअघि घोषणा गरेका थिए । उनले विदेशी कामदारका लागि दिइने परिचयपत्र अर्थात् 'आईकार्ड' को शुभारम्भ कार्यक्रममा उक्त घोषणा गरेका थिए । 

मलेसियाले विदेशी कामदारको निर्भरता घटाई आफ्ना नागरिकलाई रोजगारी बढाउन र श्रम बजार व्यवस्थापन गर्न गैरकानुनी कामदारविरुद्ध कडाइका साथ विभिन्न अभियान गर्दै आएको छ । उसले अघिल्लो वर्ष पनि देशव्यापी धरपकड अभियान सञ्चालन गरेको थियो । त्यतिबेला पनि हजारौं नेपाली पक्राउ परेका थिए । तीमध्ये धेरैजसो स्वदेश फर्किसकेका छन् भने कतिपय अझै डिपोर्टेसन सेन्टरमा छन् । दूतावासले ती सेन्टरमा रहेका नेपालीको जानकारी मलेसियाली सम्बन्धित निकायसँग मागेको छ । 

अघिल्लो वैधता कार्यक्रममा नाम दर्ता गराई वैध बन्न बाँकी रहेकालाई गत वर्ष सेप्टेम्बर २० देखि यस वर्ष जनवरी २० सम्म विशेष कार्यक्रम ल्याएको थियो । पटक पटक वैध हुन अवसर दिए पनि अझै १० लाख विदेशी कामदार गैरकानुनी हैसियतमा रहेको हुन सक्ने अनुमान गरिएको छ । उक्त विशेष कार्यक्रम सकिएलगत्तै थालिने यस धरपकड अभियानबाट लाखौं गैरकानुनी विदेशी कामदार समात्ने र घर फिर्ती गराइने जनाइएको छ । गैरकानुनी कामदारलाई समातिएपछि घर फर्काउन डिपोर्ट सेन्टरमा राखिने र यहाँस्थित सम्बन्धित देशका दूतावास तथा नियोगको सहकार्यमा उनीहरूलाई सम्बन्धित मुलुक फर्काइने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । डिपोर्टेसन सेन्टरमा राखिएपछि कामदारले आफैंले घर फिर्ती टिकट किन्नुपर्ने हुन्छ । त्यसरी घर फर्किने कामदारका लागि दूतावासले निःशुल्क यात्रा अनुमतिपत्र -ट्राभल डकुमेन्ट) उपलब्ध गराउँदै आएको छ ।

कामदार त्रसित

मलेसियाले गैरकानुनी कामदारको व्यापक खोजी गरी कारबाहीको तयारी गरिरहँदा कामदार त्रसित बन्न पुगेका छन् । सोमबार मध्यरातदेखि सुरु गर्न लागिएको उक्त धरपकडसँगै सबैजसो क्षेत्रमा कार्यरत गैरकानुनी विदेशी कामदार कारबाहीको निसानामा पर्नेछन् । धरपकड थाल्ने खबर थाहा पाएपछि उनीहरू जानेबुझेका साथीभाइ र दूतावासको सम्पर्कमा पुग्न थालेका छन् । धरपकड अभियानको तयारी भइरहँदा कतिपय रोजगारदाताले त्यस्ता हैसियतका कामदारलाई कामबाट निकाल्न थालेका छन् भने कतिपय आफैं काम छाडेर सुरक्षित ठाउँ खोजीमा भौंतारिरहेका छन् । 

केही दिनयता दूतावास जाने नेपालीको चाप पनि बढेको छ । कतिपय नेपाली यस अभियानअगावै घर र्फकन नपाएकामा चिन्तित छन् ।  

Published on: 19 January 2014 | Kantipur

Back to list

;