s

मलेसियामा १३ नेपाली अलपत्र

सम्झौताअनुसार काम र तलब सुविधा नपाएका १३ नेपाली युवा कम्पनीबाट निकालिएपछि दूतावासको शरणमा आएका छन् । उनीहरू भेरीवेस्ट ओभरसिज प्रालि र जब सेन्टर प्रालिमार्फत ९ महिनाअघि मलेसिया आएका हुन् ।

पानीजहाज भित्रको काम भन्दै 'म्यानपावर' ले झुक्याएर फर्निचर कम्पनीमा लगाएको पीडितहरूले बताए । नेपाली संघसंस्थासित सम्पर्कपछि उनीहरू यसअघि पनि दूतावास आएका थिए । त्यो थाहा पाएर कम्पनीले होस्टल छाड्न दबाब दिएपछि फेरि दूतावासकै शरणमा आएको पीडितहरूले बताए । 'नौ महिनाअघिदेखि कहिले काम नदिने त कहिले तलब नदिने गरियो,' पीडितमध्येका एक रूपेश बस्नेतले भने ।

दूतावासमा आएकामा सिन्धुपाल्चोक, बाह्रबिसेका बस्नेत, नेक बहादुर श्रेष्ठ, विलास भण्डारी, पूर्ण थापा, झापा, सुरुंगा-७ का हरिप्रसाद मैनाली, सुरुंगा-४ का प्रकाश न्यौपाने र पहलमान तामाङ, झापाकै तागनडुवा-९ का छत्रबहादुर खत्री, पाँचगाछी ८ का जीवन उप्रेती, अनारमनि ३ का सपन कुमार आचार्य छन् । सिन्धुलीको दुम्जा-४ का पेमा लामा योञ्जन, चितवनका श्रीराम ओली र मोरङका दलविक्रम बानियाँ छन् ।

जनही १ लाख ६० हजार रुपैयाँसम्म म्यानपावरलाई बुझाएर आएको पीडितहरूले बताए । दूतावासका अनुसार उनीहरूको श्रम स्वीकृति 'यई यक उड' नामक फर्निचर कम्पनीको छ । तर, कम्पनीले पीडित भनिएका कामदारहरू आफूले नल्याएको भन्दै पन्छिएको राजदूत निरञ्जनमान सिंह बस्न्यातले बताए । उनका अनुसार पीडितहरूलाई केलाङस्थित एक इसाई धर्मशालामा आश्रय व्यवस्था मिलाइएको छ । उनीहरूलाई पठाउने म्यानपावर कम्पनीलाई यथाशीघ्र कारबाही गर्न आग्रह गर्दै दूतावासले नेपालस्थित वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको छ । 'हामीले बिहीबारै पत्राचार गरिसकेका छौं । पीडितहरूको उद्धारका लागि प्रक्रिया अघि बढाइरहेका छौं,' राजदूतले भने ।

 

Published on: 14 March 2014 | Kantipur 

Back to list

;