s

मलेसियामा नेपालीलाई १० वर्ष कैद

सहकर्मी हत्या अभियोगमा दुई वर्षअघि पक्राउ परेका एक नेपालीलाई मलेसियाली उच्च अदालतले सोमबार १० वर्षको जेल सजाय तोकेको छ । २०१२ सेप्टेम्बर ६ मा एक कम्पनीकी सुपरभाइजर महिलाको हत्या अभियोगमा त्यहीं कार्यरत धनुषाको बेंगादवार ४ का २७ वषर्ीय सुरवीर गोले पक्राउ परेका थिए । 

अदालतले तान एई पिङ नामकी ती महिलाको मृत्यु उनकै 'रिसको कारण' भएको जनाएको छ । तर, गोलेले छुरा प्रहार गरेकाले मृत्युमा उनी पनि दोषी देखिएको फैसलामा उल्लेख छ । मृत्युको सम्पूर्ण दोषी ठहरिएको भए गोलेलाई फाँसीको सजायसम्म हुन सक्थ्यो । छुरा हानेको १५ घन्टापछि ती महिलाको ज्यान गएको थियो । 

ती महिला र गोले तामान सन्तोषास्थित 'मिङ आङ बेकरी हाउस' मा काम गर्थे । ती महिलाले आफूलाई मानसिक तथा शारीरिक पीडा दिएको र चार महिनासम्म छुट्टीसमेत नदिएको बयान गोलेले अदालतमा दिएका थिए । उनको उक्त भनाइलाई सीसीटीभी रेकर्डले समेत पुष्टि गरेको छ । अदालतले १५ जना प्रत्यक्षदर्शी र सीसीटीभीको भिडियो रेकर्डका आधारमा अनुसन्धान गरेको थियो । सञ्चार माध्यमहरूका अनुसार मुद्दाको फैसला सुनाउँदै न्यायाधीश दातुक अब्दुलाह लिमअमनले गोलेलाई फाँसीबाट जोगिएको भन्दै 'भाग्यमानी' भनेका थिए । आफूले हत्या गर्ने मनसायले छुरा नहानेको उनले बताएका थिए । उनी जोहोरस्थित जेलमा छन् |

Published on: 26 February 2014 | Kantipur

Back to list

;