s

मलेसियामा २१ नेपाली अलपत्र

चन्द्र कार्की

रोजगारीका लागि गएका २१ नेपाली युवा मलेसियामा अलपत्र परेका छन् । काठमाडांैको जेनुन प्लेसमेन्ट प्रालिमार्फत ३७ दिनअघि सुरक्षा गार्डको भिसामा त्यहाँ पुगेका नेपालका विभिन्न जिल्लाका २१ युवा कम्पनीले सम्झौता गरेबमोजिम काम नदिएपछि अलपत्र परेका हुन् । मलेसिया पुगेपछि रोजगारदाता कम्पनी आफूहरूलाई लिन नआएको र पठाउने म्यानपावर कम्पनीमा सम्पर्क गर्दा अर्कै काम र कम्पनीमा जानुपर्ने बताएपछि आफूहरू अलपत्र परेको तेह्रथुम जिरिखिम्ती २ का विमल सोदेम्वाले मलेसियाबाट फोनमा बताए ।

आफूहरू अहिले मलेसियाको कोताराय भन्ने ठाउँमा नेपाली व्यवसायीले सञ्चालन गरेको मितेरी होटलमा शरण लिएर बसेको सोदेम्वाले बताए । काममा लगाउने कम्पनीका प्रतिनिधिले राहदानीसमेत खोसेर लगेको र साथमा पैसा नभएकाले पेटभरि खान र सुत्नसमेत नपाएको पीडितले गुनासो गरे । अलपत्र परेका केही युवा बिरामी पर्न थालेको लिम्बूले बताए ।

म्यानपावर कम्पनीले सुरक्षा गार्डको काम भनेर ल्याएको र मलेसिया आएपछि अर्कै काम गर्न भनेकाले आफूहरूले काम गर्न नमानेको पीडित युवाले बताए । अर्को काम गर्न नमानेपछि आफूहरूको साथमा भएको राहदानीसमेत कम्पनीका प्रतिनिधिले खोसेर लगेको सोदेम्बाले बताए ।

'कम्पनीले नक्कली कागजात बनाएर हामीलाई यहाँ ल्याएको रहेछ,' होटलमा अलपत्र सोदेम्वाले फोनमा भने, 'कागजमा काम सुरक्षा गार्ड लेखे पनि कामचाहिँ अरू नै रहेछ ।' आफूहरू बसेको होटलमासमेत म्यानपावर कम्पनीका प्रतिनिधिले लेन्डलाइन फोनबाट भनेको काम किन नगरेको ? अब तिमीहरूको सबै पैसा डुब्यो भनेर धम्क्याउने गरेको सोदेम्वाले बताए । साथमा राहदानी नहँुदा होटलबाट बाहिर निस्कनसमेत नपाएको उनले बताए । यी युवाल्ाई मलेसिया पुर्‍याउने जेनुन प्लेसमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुमार केसीले अलपत्र पारेको नभई मेलेसिया पुगेपछि उनीहरूले काम गर्न नमानेकाले समस्या आएको बताए । मलेसियामै रहेका केसीले सुरक्षा गार्डको काम अरू कामजस्तो मलेसिया आएकै दिन नपाइने र काम खोज्न समय लागेको बताए ।

कम्पनीले ल्याएका युवालाई काममा लगाउने विषयमा मलेसियामा रहेको नेपाली दूतावाससँग समेत छलफल भएको तर उनीहरूले काम गर्न नमानेकाले झन समस्या थपिएको केसीले बताए । आगामी बिहीबारसम्ममा अलपत्र सबैलाई नेपाल फर्काउने केसीले बताए । 'म उनीहरूको सबै खर्च व्यहोरेेर नेपाल फर्काउन तयारी गरिरहेको छु,' उनले भने, 'मलेसियन सरकारले चेकआउट मेमु दिनासाथ सबैलाई नेपाल फर्काउँछु ।'

अलपत्र पर्ने युवाहरूमा स्याङ्जा, झापा, तेह्रथुम, मोरङ, सुनसरी लगायतका जिल्लाका छन् । आफूहरू जनही २ लाख ५० हजार रुपैयाँ म्यानपावर कम्पनीमा बुझाएर मलेसियामा सुरक्षा गार्डको काम गर्न आएको बताए । म्यानपावर कम्पनीले युवासँग जनही ८० हजार लिएर मलेसिया पठाएको दाबी गरेको छ ।

Published on: 27 September 2013 | Kantipur

Back to list

;