s

मलेसियामा गैरकानुनी नेपालीलाई १ लाखसम्म जरिवाना

मलेसियाली सरकारले स्वदेश र्फकन चाहने गैरकानुनी हैसियतका आप्रवासी कामदारका लागि विभिन्न चार चरणको जरिवाना तोकेको छ ।

गैरकानुनी नेपाली कामदार घरफिर्तीका लागि आवश्यक प्रक्रियाबारे अवगत नभएकोबारे समाचार सार्वजनिक भएपछि मंगलबार अबेर सूचना जारी गरी नेपाली दूतावासले गैरकानुनी कामदारले स्वदेश र्फकनुअघि तिर्नुपर्ने जरिवाना रकमबारे जानकारी गराएको हो । मलेसियाली अध्यागमन विभागबाट जानकारी प्राप्त भएको स्पष्ट पार्दै जारी गरिएको सूचनाअनुसार बढीमा ३० दिनसम्म गैरकानुनी रूपमा बसेको नेपालीले दैनिक ३० रिंगिट, ३१ दिनदेखि ६ महिनासम्म गैरकानुनी हैसियतमा रहनेलाई १ हजार रिंगिट, ६ महिनादेखि ३ वर्षसम्म गैरकानुनी रूपमा बसेकालाई २ हजार रिंगिट र ३ वर्षभन्दा बढी गैरकानुनी रूपमा बस्नेलाई ३ हजार जरिवाना रकम कायम गरेको जनाइएको छ । 

यससँगै अब घर र्फकन चाहने नेपालीले बढीमा झन्डै १ लाख रुपैयाँसम्म जरिवाना बुझाउनुपर्ने भएको छ । सूचनामा घर र्फकने नेपालीले दूतावासबाट यात्रा अनुमति लिएपछि अध्यागमन विभागमा गैरकानुनी बसेको अवधिअनुसार जरिवाना र स्पेसल पासका लागि १ सय रिंगिट तिर्नुपर्ने जनाइएको छ । 

घर र्फकन चाहनेले घरफिर्ती टिकट र जरिवाना रकमसहित स्वयं अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्नेसमेत उल्लेख छ । त्यसैगरी दूतावासले असम्बन्धित एवं अनधिकृत व्यक्तिको बहकाउ र ललाईफकाईमा नपरी नियमानुसार जरिवाना शुल्क तिरी स्वदेश र्फकन अनुरोध पनि गरेको छ । 

घरफिर्तीका लागि आवश्यक प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा दलालहरूमार्फत त्यस्ता हैसियतका नेपाली कामदारमाथि चरम ठगी हुँदै आएको छ भने कतिपय पक्राउसमेत पर्ने गरेका छन् । 

Published on: 26 September 2013 | Kantipur

Back to list

;