s

मलेसियामा तीज मेला

न माइतीघर, न त मूलघर । यी दुवैबाट टाढा रहेका भए पनि समुद्रपारिको मुलुक मलेसिया शनिबार साँझ तीजले तात्यो । गैरआवासीय नेपाली संघ मलेसियाले गरेको 'तीज उत्सव २०७०' मा नेपालबाट आमन्त्रित गायिका सम्झना लामिछाने मगरले सहभागीलाई झुमाइन् । उनले रातोसारीमा सजिएका दिदीबहिनीहरूलाई मात्र होइन, सहभागी सबैजसो दाजुभाइहरूलाई पनि नचाइन् । कतिपय गरगहनामा झकिझकाउ समेत देखिन्थे  ।

मलेसियामा चार वर्षदेखि तीज कार्यक्रम हुँदै आएको छ । कार्यक्रमकी संयोजक सुभद्रा लिङ्देनले विदेशमा रहे पनि आफ्ना चाडबाड र सामाजिक सद्भाव राखिराख्न कार्यक्रम गरेको बताइन् । 'खासगरी महिलाको र त्यसमा पनि वर्षमा एकपटक आउने चाड भएकाले विदेशमै भए पनि चार वर्षदेखि निरन्तरता दिँदै आएका छौं,' उनले भनिन्, 'यसले विदेशमा रहेका नेपालीबीच सामाजिक सद्भाव बढाउने काम गरेको छ ।'

सुभद्राको जस्तै अर्की सहभागीले नेपालमै भएको अनुभूति भएको बताइन् । 'आखिर जहाँ भए पनि आफ्नो चाडबाड मनाउन मन लाग्छ,' मलेसियामै घरजम गरेकी शान्ति थापाले भनिन् 'एकैछिन भए पनि नेपालमै भएको याद आयो ।' तीजलाई तडकभडकपूर्ण भन्दा पनि धार्मिक एवं सामाजिक सद्भावका रूपमा मनाउनु आवश्यक भएको कार्यक्रममा सहभागी रशु कार्कीले बताइन् । उनले तीज मनाउने आधुनिक शैलीप्रति चिन्ता व्यक्त पनि गरिन् । उनीहरू यस पर्वलाई यहाँ नेपाली नेपालीबीच भेटघाटको अवसरको रूपमा समेत हेर्ने गर्दछन् ।

क्वालालम्पुरको फेडेरल होटलमा आयोजित उत्सवमा सम्झनाको साथमा सबै सहभागीले दर पनि खाए । 'गाउँघरमा हुँदा सेलरोटी खान घरमा होउन्जेल फुपू आउने समय कुरेर बसिन्थ्यो । त्यसरी बस्दा अर्कै मजा हुन्थ्यो,' सहभागी भक बहादुर घर्तीले भने । कार्यक्रममा सेलरोटी लगायत विभिन्न तीज दरको व्यवस्था गरिएको थियो । गायिका सम्झनाले आफ्ना विभिन्न तीज गीतहरू गाएर सबैलाई मनोरञ्जन दिलाइन् ।

Published on: 10 September 2013 | Kantipur

Back to list

;