s

मलेसियाली शिक्षामा छात्रवृत्तिको आकर्षण

रौतहटका अनिल यादव शुक्रबार काठमाडौंको अन्नपूर्ण होटेलमा आठौं मलेसियन शैक्षिक मेलामा आफ्नो करिअरका लागि उपुयक्त विषयबारे जानकारी लिइरहेका भेटिए। मलेसियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि स्वयं मेलामा आ–आफ्ना स्टलबाट विद्यार्थीलाई शैक्षिक सेवासुविधाबारे जानकारी दिइरहेका थिए। मलेसियाली कलेज एडमल एभिएसनको स्टलमा भेटिएका अनिलले आफू एयरक्राफ्ट इन्जिनियरिङमा स्नातक गर्न चाहेको सुनाए। त्यसका लागि उनी मलेसियामै पढ्न चाहन्छन्।
 
'मलेसियन शैक्षिक संस्थाहरुले नेपाली विद्यार्थीका लागि राम्रो छात्रवृत्तिको व्यवस्था गरेकाले एडमल एभिएसनमै अध्ययन गर्न चाहन्छु,' उनले नागरिकसँग भने।
 
मेलामा सहभागी नौवटै मलेसियन शैक्षिक संस्थाले नेपाली विद्यार्थीका लागि विभिन्न छात्रवृत्ति व्यवस्था गरेका छन्। वीरगन्जको हरिखेतान कलेजबाट विज्ञानमा प्लसटु पास गरेका यादव नोभेम्बर इन्टेमा भर्ना हुने तयारीमा छन्। 'यो कलेजले हामी नेपाली विद्यार्थीका लागि राम्रो छात्रवृत्ति व्यवस्था गरेको छ,' उनले नागरिकसँग भने, 'म आइतबारै यस कलेजमा एयरक्राफ्ट इन्जिनियरिङमा भर्ना हुने तयारीमा छु।'
 
'मलेसियामा अन्य देशका भन्दा तीन गुणा सस्तो शुल्क रहेको उनले अनुभव सुनाए।
 
अनिललाई कलेज बिजनेस विभाग प्रमुख हेमनले त्यहाँ अध्यापन गरिने कोर्स, पाठ्यक्रम, शुल्क, छात्रावास, शैक्षिक वातावरणबारे जानकारी गराइरहेका थिए। हेमनले कलेजले यसै वर्षदेखि पहिलो पल्ट अन्तर्राष्ट्रिय विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरेको जनाए।
 
'हामीले यस वर्षदेखि एडमल एसिभएसन कलेज भर्ना हुने नेपाली विद्यार्थीका लागि २ हजार अमेरिकी डलरको छात्रवृत्ति दिने व्यवस्था गरेको छ,' हेमनले नागरिकसँग भने, 'हाम्रो कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आर्थिक हिसाबले राहत हुने गरी तीनवर्षे डिप्लो र दुईवर्षे काममा आधारित कार्यक्रम आगामी वर्षदेखि तय गर्नेछ।'
 
उनका अनुसार यस कलेजबाट कुनै पनि विषयमा तीनवर्षे डिप्लोमा कोर्स गरेपछि दुई वर्ष त्यहीँ काम गर्न पाइनेछ। यसले अभिभावकको शैक्षिक लगानी उठाउन सकिनेछ।
 
मेलामा आएकी प्रसना कर्णले पनि मलेसियामै डक्टरी अध्ययन गर्ने मनशाय रहेको जनाइन्। 'म मेडिकल अध्ययन गर्नका लागि मलेसियाको टेलर्स युनिभर्सिटीमा शुल्क, कोर्स, वातावरणलगायत सबै विषयवस्तु बुझेँ। अमेरिका, अस्ट्रेलिया र युकेभन्दा तीन गुणा शुल्क सस्तो रहेछ,' प्रसनाले भनिन्, 'मेरो बाबालाई आर्थिक भार धेरै पर्दैन र यो युनिभर्सिटीको आफ्नै अस्पतालसमेत रहेकाले व्यावहारिक ज्ञानसमेत पाउने भएकाले बुक गराएको छु।'
 
अन्य देशझैँ मलेसियाको भिसा प्रक्रिया झन्झटिलो नभएको र टोफेल आइइएलटिएसको समेत आवश्यकता नपर्ने भएकाले पनि मलेसियामै आइटी अध्ययन गर्ने शिवशंकर चौधरीले जनाए। उनी मेलामा मलेसियाको क्वालालाम्पुरमा रहेको इरिकन कलेजको स्टलमा आइटीबारे जानकारी लिइरहेका थिए।
 
अनुसन्धानमूलक शिक्षामा समेत मलेसिया उत्तम भएकाले मास्टर्स इन रिसर्च फिलोसफीमा अध्ययन गर्न कर्टिन युनिभर्सिटीको स्टलमा विद्यार्थीको घुइँचो थियो।
 
शुक्रबार सुरु आठौं मलेसियन शैक्षिक मेला डेढ हजार विद्यार्थीले अवलोकन गरेको मलेसियन शिक्षाका लागि नेपालमा आधिकारिक संस्था स्टडी प्लसका प्रबन्ध निर्देशक उमेश अधिकारीले जनाए।
 
शनिबारसम्म चल्ने मेलामा ३ हजारले अवलोकन गर्ने लक्ष्य रहेको उनले जनाए। मेलामा मलेसियाको कर्टिन, एडमल एभिएसन, एड्रोइट, टेलर्स, केबियु इन्टरनेसनल, सेगी युनिभर्सिटी, ब्रिकफिल्ड एसिया, इरिक्यान र कलेज टेफ सेरेमबनका स्टलबाट सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिबाटै विद्यार्थी तथा अभिभावकले प्रत्यक्ष जानकारी प्राप्त गर्ने व्यवस्था छ।
 
'सबै विषयमा सेमिनारबाटै बुझाएकाले मेला सहज बनेको छ,' निर्देशक अधिकारीले भने, 'विद्यार्थीको मुख्य आकर्षण एकाउन्टेन्सी, होटल व्यवस्थापन, इन्जिनियरिङ, आइटीलगायत विषयमा देखियो।' उनका अनुसार विशेष गरी अमेरिकन डिग्रीका मलेसियन कलेज तथा विश्वविद्यालयमा विद्यार्थीको आकर्षण छ। मलेसियन शैक्षिक संस्थाले ७५ प्रतिशतसम्म छात्रवृत्ति र एकतर्फी हवाई टिकटसमेत छुट गरेका छन्। सनवे युनिभर्सिटीले भूकम्पपीडित गरिब तथा जेहेन्दार ५ नेपाली विद्यार्थीका लागि कुनै पनि स्नातकका कोर्समा पूर्ण छात्रवृत्ति व्यवस्था गरेको छ।
 
काठमाडौं विश्वविद्यालय तथा साइपल एकेडमीका खेलकुद इन्चार्ज विनोद बुढाथोकीले मलेसियामा अस्ट्रेलियन, युके र अमेरिकन डिग्रीका कलेज तथा विश्वविद्यालयबाट विद्यार्थीले स्तरीय शिक्षा र तीन गुणा सस्तो शुल्कमा डिग्री हासिल गर्ने व्यवस्था मलेसियन शिक्षाको आकर्षण रहेको जनाए।
 
Published on: 3 October 2015 | Nagarik
 

Back to list

;