s

मानव बेचबिखनविरुद्ध म्याराथन

मानव बेचबिखनको समस्याले मुलुकमा भयावह रूप लिएकामा सबैलाई सचेत बनाउन इलाम सरमुकामस्थित एक विद्यालयका विद्यार्थीले चेतनामूलक म्याराथन आयोजना गरेका छन् । जुविलेन्ट इलाइट एकेडमीमा रहेको एसयूपीडब्लू क्लबको आयोजनामा सोमबार बिहान करिब हजार जनाले दौडमा भाग लिएका थिए । महिला र बालबालिका बेचबिखनविरुद्ध लेखिएका प्लेकार्डसहित विद्यार्थीले बजार क्षेत्रमा र्‍यालीसमेत निकाले । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र सहायक प्रजिअ सुजन फागोले उद्घाटन गरेको म्याराथनमा व्यावसायिक धावक, फुटबल र अन्य खेलमा संलग्न खेलाडी, विद्यार्थी, प्रहरी, सैनिक, सामाजिक संघसंस्थाका सदस्य, कर्मचारी व्यापारीलगायत सहभागी थिए । 


'बेचिनबाट जोगिन बालबालिकासँगै अभिभावक र समाज सचेत हुनुपर्छ भन्ने सन्देशका लागि म्याराथन गरिएको हो,' क्लब सदस्य स्वस्तिका बस्नेतले भनिन्, 'हामी आफू सचेत हुनुपर्छ अनि यस्ता समस्यासँग लड्न अरूलाई पनि सचेत गराउनुपर्छ ।' सीमावर्ती जिल्ला भएकाले बालबालिको बेचबिखन जोखिम उच्च रहेको आयोजकको भनाइ छ । सन् २०१४ मा मात्र पशुपतिनगरस्थित माइती नेपाल आवधिक गृहले ८८ बालबालिका सीमा क्षेत्रबाट उद्धार गरेको थियो । 'अब केन्द्रीयस्तरमा कार्यक्रम गर्नुभन्दा विद्यालयस्तरबाटै चेतना बढाउन सके नियन्त्रणमा सहयोग पुग्छ,' माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले भने ।

टुँडिखेलवाट सुरु म्याराथन, जिरो किलोमिटर, धोवीधारा, नारायणस्थन र चोकबजार हुँदै ३ किलोमिटर दूरी पार गरी विद्यालय प्रांगणमा पुगेको थियो । विभिन्न बाहनामा बालबालिकालाई अपहरण गरेर भारत पुर्‍याइने गरेको सरोकारवालाको भनाइ छ । मानव अंग प्रत्यारोपण गरी बिक्री गर्न, भारतीय सहरमा मगन्ते बनाउन र बालमजदुरका रूपमा प्रयोग गर्न चोरी गर्ने गरेको उनीहरूले बताए ।

यस्तो आपराधिक गतिविधिमा संलग्नको पहिचान गर्न हरेक व्यक्ति चनाखो हुनुपर्ने प्रहरी नायव उपरीक्षक अनुपमशम्शेर जवराको भनाइ थियो । मानव बेचबिखन विरोधमा राज्यले कडा पहल गर्नुपर्ने स्थानीयको माग छ । 'भएको कानुन पनि कार्यान्वयन हुँदैन,' स्थानीय शान्ति समिति संयोजक वसन्ती घतानीले भनिन्,' 'यस्तो आपराधिक गतिविधि रोक्न सकारात्मक सोच हुनु आवश्यक छ ।' समाजमा कलंकका रूपमा विकास भइरहेको यस्तो समस्याप्रति समाज पनि बेखबरजस्तै भएको दौडमा सहभागीको भनाइ थियो । 'विद्यार्थीहरूलाई पढाइका साथै सामाजिक अभियानमा सक्रिय गराउने उद्देश्यले सोसियज युजफुल प्रोडक्टिभ वर्क -एसयूपीडब्लू) क्लब निर्माण गरिएको हो,' विद्यालयका निर्देशक दीपराज आङदेम्बेले भने, 'यसअघि विद्यार्थीले खाजा खर्च कटाएर नजिकैको आदर्श निमाविमा रकम प्रदान गरे । त्यही रकमलाई अहिले बढाएर त्यो विद्यालयका विद्यार्थीले ठूलो अक्षय कोष निर्माण गरेका छन् ।'

Published on: 3 February 2015 | Kantipur

Back to list

;