s

मे दिवस र नेपालको मजदुर आन्दोलन

पुरुषोत्तम बस्नेत 
 
मे महिनाको पहिलो दिन मजदुर वर्गले ठूलो संघर्ष र बलिदानबाट आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो। मजदुर वर्गको हक र हित प्रबर्द्धन भएको दिनको स्मरणमा यो दिनलाई मजदुर दिवसका रूपमा संसारभर मनाइन्छ। 
 
अठारौं शताब्दीको उत्तरार्द्धतिर अमेरिका औद्योगिक मुलुकका रूपमा विकसित हुँदै थियो। त्यहाँका औद्योगिक प्रतिष्ठानहरुमा काम गर्ने मजदुरको संख्या हजारौं पुगिसकेको थियो। तर मजदुरहरुको हक र हितका कुनै पूर्वाधार थिएनन्, बिहान उज्यालो भएदेखि साँझको अँध्यारो नभएसम्म, हरेक दिन एघार–बाह्र घण्टा मजदुरले अनवरतरूपमा काम गर्नुपर्थ्यो। तर उनीहरुले ज्याला थोरै पाउँथे। कतिपय कारखाना अस्वस्थकर अवस्थामा थिए। त्यसबाट मजदुरको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको थियो। उनीहरुको उपचारको कुनै व्यवस्था थिएन। उद्योगपतिहरुले प्रशस्त नाफा कमाउँथे। मजदुरहरुलाई कुनै सुविधा र सहुलियत दिनेतिर उनीहरुको सोचाइ थिएन। मजदुरले चौतर्फी शोषण बेहोरिरहन परेको थियो।
 
शोषण र थिचोमिचो चरम अवस्थामा पुगेपछि मजदुरहरु बिस्तारै चलमलाउन थाले। उनीहरु विस्तारै संगठित हुँदै गए। अन्ततोगत्वा प्रत्येक दिन आठ घण्टाभन्दा बढी समय काम गर्न नपरोस् भन्ने प्रमुख माग राखेर, सन् १८८४ को मे १ का दिन मजदुरहरुले अमेरिकाका धेरै कारखानामा हड्ताल गरेर आफ्नो आन्दोलन प्रारम्भ गरे। त्यो आन्दोलनमा हजारौं मजदुर सम्मिलित भए। त्यसले मजदुरहरुमा उत्साह, साहस र आत्मविश्वास वृद्धि गरायो। उनीहरु अझ संगठित हुँदै गए। एउटा संगठित आधार तयार पारिसकेका मजदुरले दुई वर्षपछि सन् १८८६ को मे १ कै दिनदेखि फेरि आफ्ना माग राखेर आन्दोलन सुरु गरे।
 
प्रारम्भमा यो आन्दोलनको मुख्य केन्द्र सिकागो सहर भए पनि अमेरिकाका अरु कतिपय सहरमा पनि तुरुन्तै फैलियो। मजदुरहरुको यो आन्दलोलनलाई दमन गर्न सरकारले सैनिक बलसमेत प्रयोग गर्‍यो। मे ३, ४ र ५ का दिन अनेकौं ठाउँमा निहत्था मजदुरमाथि निर्ममतापूर्वक गोली चलाइयो। अनेकौं मजदुर नेता मारिए, कैयौं घाइते भए। तर मजदुरहरु आफ्नो आन्दोलनबाट पछि हटेनन्। आपसको अटुट एकता, वर्गीय हितप्रतिको निष्ठा र आफ्नो न्यायोचित अधिकार प्राप्त गर्ने दृढ अठोटका कारण त्यो बर्बर दमन भइरहँदा पनि मजदुरले आफ्ना कतिपय माग पूरा गराइछाडे। मे १ मजदुरले दृढ साहस र संकल्पका साथ लडेर आफ्ना अधिकार प्राप्त गरेका दिन हो। यस दिनले मजदुर वर्गलाई ‘प्रत्येकका लागि संगठन र संगठनका लागि सबै' भन्ने एकता र भाइचाराको सूत्रमा आबद्ध हुने पे्ररणा दियो।
 
नेपालमा पनि मजदुर आन्दोलन नेपालको प्रजातान्त्रिक संघर्षको एक अभिन्न अंगका रूपमा रहेको छ। २००३ साल माघ १२ का दिन नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। त्यसको डेढ महिना पनि नपुग्दै, २००३ को फागुन २० देखि विराटनगरमा ऐतिहासिक मजदुर आन्दोलन प्रारम्भ भयो। दोस्रो विश्वयुद्धको बेला नेपालमा मात्र होइन, भारतमा पनि उपभोग्य वस्तुहरुको ठूलो अभाव थियो। तिनीहरुले नेपालमा उत्पादन सुरु गरे। भारतीय बजारमा ती वस्तुहरु सजिलै निर्यात हुनसक्ने सम्भावनालाई दृष्टिगत गरेर केही व्यापारी र उद्योगपतिले विराटनगरमा उद्योग सञ्चालन गर्न थालेका थिए। विराटनगरमा दक्षिण किनारको करिब डेढ माइल क्षेत्रफलको भू–भागलाई औद्योगिक क्षेत्रका रूपमा छुट्याइएको थियो। त्यसमा जूट मिल, कटन मिल, राइस मिल, तेल मिल, सलाई कारखाना र केमिकल कारखाना खुलेका थिए। ती सबैमा कार्यरत मजदुरहरुको संख्या पच्चीस–तीस हजार पुगिसकेको थियो। त्यहाँको कटन मिलमा केही समयदेखि गिरिजाप्रसाद कोइरालाले काम गर्न थाल्नुभएको थियो। जूट मिलमा तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारी एवं केमिकल कारखानामा मनमोहन अधिकारी काम गर्नुहुन्थ्यो।
 
त्यसबेला सबै मिल राम्रो अवस्थामा चलेका थिए तर मजदुहरुको हितका निम्ति भने मिल मालिकहरुले कुनै चासो दिएनन्। मजदुलाई बिमा, बोनस इत्यादिको कुनै प्रबन्ध थिएन। विराटनगरकै सीमावर्ती स्थान भारतको जोगबनीका मिलहरुमा काम गर्ने मजदुलाई जति सुविधा दिइएको थियो, जति ज्याला उनीहरुले त्यहाँ पाउँथे, त्यसको तुलनामा विराटनगरका मजदुरलाई कुनै सुविधा थिएन। उनीहरु ज्याला पनि निकै कम पाउँथे। बिरामी परे वा कारखानामा काम गर्दागर्दै दुर्घटनामा परे पनि त्यसको उचित उपचारको व्यवस्था थिएन। कामको सुरक्षा थिएन। मिल मालिकले कुनै पनि मजदुरलाई, कुनै पनि बेला हटाउन सक्थ्यो। मजदुरहरुले कति घण्टा काम गर्नुपर्ने हो, त्यो पनि निर्धारण गरिएको थिएन। कतिले दस–एघार घण्टासम्म निरन्तर काम गरिरहनुपर्थ्यो। काम गर्ने ठाउँ फोहर र अस्वस्थकर थियो। त्यस स्थितिमा आफूमाथि शोषण भइरहेको छ भन्ने कुरा तमाम मजदुर वर्गले महसुस गरिरहेका थिए। तर त्यो शोषणको अन्त्य कसरी गर्ने? उनीहरुको आपसमा बसेर छलफल गर्ने, विचार आदान–प्रदान गर्ने कुनै ठाउँ वा मञ्च केही थिएन। शोषण, असुविधा र असुरक्षालाई सबैले एक्लाएक्लै बेहोरिरहेका थिए। यी यावत् विसंगतिलाई दृष्टिगत गरेर गिरिजाप्रसाद कोइराला मजदुरहरुलाई एक सूत्रमा आबद्ध गर्ने कार्यमा सक्रियतासाथ लाग्नुभयो। 
 
कोइरालाले २००३ को फागुन १८ गते आफू कार्यरत् कटन मिलको सामान्यरूपमा सफाइ गराउनुभयो। केही ठाउँमा फोहोर फाल्न र खाएको पान थुक्न काठको बाकसमा बालुवा भरेर राख्न लगाउनुभयो। त्यसले मिल मालिकलाई कुनै नोक्सान वा अतिरिक्त बोझ पुर्‍याएको थिएन। तर अनुमतिबिना किन यसो गरियो भनेर मिल मालिक रिसाए। उनले ती सबै बाकस फाल्न लगाए। यसले फगत गिरिजाप्रसाद कोइरालालाई मात्र होइन, सम्पूर्ण मजदुर वर्गलाई उत्तेजित र आक्रोशित गरायो। फागुन १९ कै साँझ मजदुरहरुले आफ्ना माग राखेर हड्तालमा उत्रने निर्णय गरे। अन्ततः २००३ को फागुन २० गते प्रातः ठीक ७.१५ बजे गिरिजाबाबुको नेतृत्वमा सर्वप्रथम जुट मिलमा र त्यसपछि अरु सम्पूर्ण कारखानामा आफ्ना माग राखेर मजदुर हड्तालमा एकत्रित भए। त्यसै दिन अपराह्न २ बजे मजदुरहरुले जुट मिलको प्राङ्गणमा एक विशाल आमसभा आयोजना गरे। उनीहरुले राखेका मागमध्ये एउटा– आफ्नो छुट्टै युनियन बनाउने भन्ने पनि थियो। त्यहीअनुसार त्यो आमसभामा मजदुरले आफ्नो युनियन गठन गरे। त्यसको नाम ‘विराटनगर मजदुर युनियन' राखियो। गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मतिले त्यो युनियनको अध्यक्षमा छान्यो।
 
यो आन्दोलनलाई सहयोग गर्न फागुन २५ का दिन बीपी कोइराला पनि पटनाबाट विराटनगर आउनुभयो। अरु नेता पनि आए। आन्दोलन प्रत्येक दिन चर्कंदै गयो। त्यसलाई क्रुरतापूर्वक दबाउन राजधानीबाट पठाइएको २५० जनाको सैनिक टोली चैत १० का दिन विराटनगर आयो। त्यसबाट मजदुरहरु आक्रोशित भए। चैत ११ गते मजदुरहरुको एक विशाल जुलुस निक्स्यो। गोश्वारा चौरमा आइपुगेपछि त्यो आमसभामा परिणत भयो। आमसभालाई बीपीले सम्बोधन गर्नुभएको थियो। भोलिपल्ट चैत १२ का दिन बिहान बीपी कोइरालालगायत तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीलाई पक्राउ गरियो र धनकुटा लगियो। पक्राउ गरिएका नेताहरुको रिहाइको थप माग गर्दै चैत १४ गते मजदुरहरुले विशाल जुलुस प्रदर्शन गरे। जुलुसमाथि निर्ममतापूर्वक गोली चलाइयो। घटनास्थलमै मजदुर नेता तुलाराम तामाङ मारिए। अरु दर्जनौं घाइते भए। त्यसै दिन आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत धेरैलाई पक्राउ गरियो।
 
मजदुरहरुमा मात्र सीमित आन्दोलन त्यसपछि आमजनतासम्म पुगेर अघि बढ्यो। चैत १६ का दिन नेपाली राष्ट्रिय कांग्रेसले आन्दोलन स्थगित गर्‍यो र पक्राउ परेका सबैलाई तुरुन्त रिहा नगरे २००४ को वैशाख १ गतेदेखि देशव्यापी सत्याग्रह गर्ने निर्णय गर्‍यो। राणाहरुले कसैलाई रिहा गरेनन्। अन्ततः नेपाली राष्ट्रिय कांग्रेसले देशका धेरै ठाउँमा सत्याग्रह प्रारम्भ गर्‍यो। सयौं मानिसले गिरफ्तारी दिए। त्यो नेपाली जनताले एकतन्त्रीय शासनको विरोधमा प्रारम्भ गरेको प्रजातन्त्र स्थापनाको पहिलो लडाइँ थियो। नेपाली राष्ट्रिय कांग्रेस अहिंसात्मक पद्धतिमा विश्वास राख्ने पार्टी थियो। यसका सबै गतिविधि अहिंसात्मक पद्धतिमा आधारित थिए। तर निहत्था मानिसको शान्तिपूर्ण आन्दोलनमाथि राणाहरुबाट भएको बर्बर दमन, सबै कुराको समाधान केबल कठोर दमनमात्र हो भन्ने उनीहरुको सोचाइ तथा कुनै नियम र कानुन पालना नहुने राणाहरुको हुकुमी शासन जस्ता सबै पक्ष नजिकैबाट अनुभूत गरेपछि त्यसलाई अहिंसात्मक तवरबाट होइन, सशस्त्र क्रान्तिबाट मात्र परास्त गर्न सकिन्छ भन्ने निष्कर्षमा बीपी कोइराला पुग्नुभयो। 
 
त्यसै कारण नेपाली राष्ट्रिय कांग्रेस र सशस्त्र संघर्षको नीति अपनाएको नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण भयो र २००६ को चैतमा नेपाली कांग्रेस गठन भयो। नेपाली कांग्रेसको २००७ को ऐतिहासिक जनक्रान्तिले राणातन्त्र समाप्त पार्‍यो र नेपाललाई युगान्तकारी परिवर्तनको नयाँ युगमा प्रवेश गरायो। जननायक बीपी कोइरालाको प्रधानमन्त्रीत्वमा २०१६ मा जननिर्वाचित सरकार गठन भयो। त्यो सरकारले मजदुर वर्गको हितमा अनेक उल्लेखनीय कार्य गर्‍यो। त्यही सरकारले नेपालमा सर्वप्रथम मजदुर र कारखानासम्बन्धी ऐन निर्माण गर्‍यो। नेपालमा मे दिवसको स्मरण गर्दा, नेपालको त्यही ऐतिहासिक मजदुर आन्दोलन र त्यसले नेपाली जनतालाई क्रान्तितिर प्रवृत्त गरेको वस्तुगत यथार्थ एवं जननिर्वाचित सरकारले लागु गरेको ‘मजदुर र कारखानासम्बन्धी ऐन २०१६' अनि त्यसले मजदुर वर्गको समग्र हक र हितको सम्बर्द्धनमा पुर्‍याएको योगदानलाई बिर्सनु हुँदैन। 
Published on: 01 May 2014 | Nagarik

Back to list

;