s

म्यानपावरले बुझाएनन् कामदारको विवरण

वैदेशिक रोजगारका लागि कामदार पठाउने म्यानपावर कम्पनीले कामदारको वाषिर्क बिवरण वैदेशिक रोजगार विभागलाई बुझाउने गरेका छैनन् । रोजगार ऐन अनुसार आर्थिक वर्षान्तपछिको एक महिनाभित्र आफूले पठाएका हरेक कामदारको कम्तीमा १० प्रकारका जानकारी सहित विभागलाई प्रतिवेदन बुझाउनुपर्छ । अहिले म्यानपावर कम्पनीको संख्या ७ सय ५१ छ ।

म्यानपावर कम्पनीले बुझाउनु पर्ने विवरणमा कामदारको नाम, स्थायी ठेगाना, विदेशको ठेगाना, नेपालबाट उडेको र विदेश पुगेको मिति, रोजगारदाता कम्पनीको नाम, कामको प्रकृति, मासिक तलब र अन्य सुविधा, करार अवधि पूरा हुने मिति र नेपालमा सम्पर्क व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर लगायत छ । 'हरेक कामदारको विवरण पठाउनुपर्नेमा अहिलेसम्म कसैले बुझाएको पाइएन,' विभागका महानिर्देशक विश्वनाथ ढकालले कान्तिपुरलाई भने, 'बुझाउन भनेका छौं, नबुझाएमा कारबाही गर्छौं ।' विभागले कात्तिक ३ गतेको मितिमा म्यानपावर कम्पनीहरूलाई लेखेको 'वाषिर्क प्रतिवेदन' बुझाउनु भन्ने पत्र ५ गते आफ्नो वेबसाइटमा राखेको छ । म्यानपावर कम्पनीको छाता संस्था 'नेपाल वैदेशिक रोजगार व्यवसायी संघ' लाई पनि पत्र पठाएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायी भने विभागसँग कामदारको रेकर्ड भएर पनि व्यवसायीलाई दुःख दिने नियतले विवरण मागेको आरोप लगाउँछन् । 'विभागसँग अन्तिम स्वीकृति लिँदा दिएकै विवरण छ, फेरी किन चाहियो ?' व्यवसायी संघका द्वितीय उपाध्यक्ष कुमुद खनालले कान्तिपुरलाई सुनाए, 'यो व्यवसायीलाई दुःख दिएर चर्चा बटुल्ने नियत हो ।'

विभागले व्यवसायीको अनुगमन गर्ने प्रक्रियाअनुसार कामदारको प्रतिवेदन र म्यानपावर कम्पनीकै विवरण मागेको उल्लेख गरेको छ । श्रम स्वीकृति लिएकामध्ये कति गए/गएनन् ? कुन कम्पनीले पठाएको कामदारको अवस्था कस्तो छ ? कतिले दुःख पाए ? कति कामदारको गुनासो व्यवयायीले 'रेस्पोन्स' गरे भन्ने थाहा पाउन पनि विवरण मागेको विभागको दावी छ । विभागमा कामदारको विस्तृत व्यक्तिगत विवरण नहुँदा कुन कामदार के कामको लागि कहाँ गए भन्ने जानकारी नहुनेमात्र होइन उद्धारमा समेत कठिनाईछ । 

म्यानपावर कम्पनीले २ महिनासम्म पनि वार्षिक प्रतिवेदन नपठाएको भन्दै विभागले एक साताको म्याद राखेर पत्र पठाएको थियो । कात्तिक ५ गते प्रेषित पत्र अनुसार म्यानपावर कम्पनीहरूले मंगलबारसम्म विवरण बुझाउनुपर्ने भए पनि विभागमा पुगेको छैन । 'केही कम्पनीले सम्पर्क गरेका छन् तर विवरण आएको छैन,' ढकालले भने, 'विवरण नबुझाउनेलाई ५० हजार रुपैयाँ जरिवानादेखि इजाजतप्राप्त संस्था (म्यानपावर कम्पनी)को लाइसेन्स खारेजसम्म गर्न सक्छौं ।' 

म्यानपावर कम्पनीहरूले विदेश पठाउन कामदारको छनोट प्रक्रिया, विवरण र पठाउन बाँकी कामदारको विवरण समेत विभागलाई नपठाउने गरेको विभागको दाबी छ । म्यानपावर कम्पनीहरूले २०७०/०७१ को आर्थिक वर्षमा ११ लाख २५ हजार कामदार पठाउन भनेर पूर्वस्वीकृत लिएकोमा साढे ४ लाख मात्र पठाएका छन् । म्यानपावर कम्पनी, व्यक्तिगत र वैधानिकीकरण गरी गत आर्थिक वर्ष ५ लाख २७ हजार कामदारले अन्तिम स्वीकृत लिएका थिए ।

विभागले कात्तिक महिनाभित्र म्यानपावर कम्पनीलाई उसको ठेगाना, सम्पर्क नम्बर, सञ्चालकको नाम, सेयर संख्या, श्रम प्रतिनिधि, एजेन्ट र शाखाको विवरण पठाउन पनि पत्राचार गरेको जनाएको छ । कैयौं म्यानपावर कम्पनी ठाउं, ठेगाना, सञ्चालक, एजेन्टको नाम, ठेगाना सही नहुँदा कामदार समस्यामा पर्दा उनीहरूले खोज्न समेत सक्दैनन् । 

चापले कार्यालय समय बढी

चाडबाडका लागि छुट्टीमा घर आएर फर्किने कामदारको श्रम नवीकरण गर्न चाप बढेको भन्दै विभागले कार्यालय समय बढाएको छ । कार्यालय खुला हुने दिन बिहान साढे ७ बजेदेखि साँझ ६ बजेसम्म काम हुने महानिर्देशक ढकालले बताए । 'बिदामा चाप बढेकोले कार्यालय समयभन्दा अघि र पछि पनि खुला गरेको छौं,' उनले भने, 'चाप नघट्ने दिनसम्म यो जारी रहन्छ ।'

विभागले ताहाचलस्थित श्रमग्राम कार्यालयमा व्यक्तिगत श्रम स्वीकृत, नवीकरण र वैधानिकीकरण गर्दै आएको छ । श्रमग्राममा मलेसिया, साउदी अरब र कतारको छुट्टाछुट्टै शाखा र अन्य देशको लागि काठमाडौं कार्यालय छ । विभागका अनुसार अहिले दैनिक एक हजारदेखि १२ सय कामदारले व्यक्तिगत श्रम स्वीकृत, नवीकरण र वैधानीकरण गरेका छन् । 

Published on: 30 October 2014 | Kantipur

Back to list

;