s

मिजोरममा जमेका नेपाली

कुनैबेला गाईपालन र खेतीपातीमा सीमित भारतको पूर्वोत्तर राज्य, मिजोरमका नेपालीभाषी (गोर्खा) अहिले व्यापार व्यवसायमा त जमेकै छन्, त्यस अलावा सरकारी नोकरीदेखि गीतसंगीत क्षेत्रमा पनि स्थापित छन्।

खासमा करिब १० लाखजति जनसंख्या रहेको सानो राज्यमा नेपालीभाषीको संख्या १० हजारको हाराहारीमा छ । सन् १९५० अघि मिजोरममा बसोबास गर्ने नेपालीको पहिचान गरी सरकारी तथ्यांकमा सूचीकृत गरिएअनुसार ६ सय ९० परिवार नेपालीलाई मात्रै रैथानेको दर्ता दिइएको छ । राज्यमा सूचीकृत नेपालीलाई मात्र व्यापार व्यवसाय, सरकारी नोकरी र ठेकेदारी गर्ने सरकारले सुविधा उपलब्ध गराएको छ । 

जसका कारण धेरै नेपालीभाषीले राज्यको उच्च सरकारी निकायको जिम्मेवारी सम्हाल्ने मौका पनि पाएका छन् । त्यसमध्येका एकजना भाग्यमानी हुन्-तामलाल लोहार, ५८ । उनी हाल मिजोरमको लोक सेवा आयोगका प्रमुख आयुक्त छन् । उनी पहिला पनि तीन पटकसम्म लोक सेवा आयोगकै कार्यवाहक आयुक्त बनेका थिए । तामलाल भन्छन्, 'मिजोरममा धेरै नेपाली सरकारी नोकरीमा आश्रति छन् ।' सरकारी सेवाप्रति युवा पुस्ताको मोह पनि क्रमशः बढ्दो छ ।

'युवा पुस्ताको आकर्षण सरकारी सेवामा बढेको छ', उनी थप्छन्, 'तर मिजो समुदायसँग प्रतिस्पर्धा गर्न भने ज्यादै कठिन छ ।' तामलाल जस्तै बुद्धिराज उपाध्याय, योगराज उपाध्याय, एचबी थापा, दीपक बसेल, प्रताप क्षेत्री, नारायण थापा, दिनेश कुँवरलगायत नेपालीभाषी मिजोरम सरकारका उच्च अधिकारी बन्ने भाग्यमानी हुन् । केही सेवा निवृत्त भइसके भने केही अझै कार्यरत छन् । 

भारतको उत्तरपूर्वका ८ राज्यमध्ये अरुणाञ्चलपछि सबैभन्दा कम जनसंख्या भएको शान्त राज्य मिजोरममा सरकारी सेवाका अतिरिक्त व्यापार व्यवसायमा बढी आकर्षण देखिन्छ । सेना जैसी, ४५, एकजना यस्ता नेपालीभाषी व्यवसायी हुन्, जसको व्यावसायिक पहिचान मिजोरममा ज्यादै लोकपि्रय मानिन्छ । उनको लोकपि्रयता देखेर रैथाने मिजो समुदायका व्यवसायी पनि छक्क पर्ने गर्छन् । सन् १९८० ताका सामान्य व्यापार थाल्दा पुँजीका नाममा जैसीसँग १० हजार मात्रै थियो । त्यही थोरै रकमबाट उनले थालेको व्यापार अहिले सिंगो मिजोरममा मात्रै सीमित छैन, नजिकैको छिमेकी मुलुक बर्मामा पनि लोकपि्रय बनेको छ । जैसीको सेना स्टोरले वाषिर्क ४० करोडभन्दा बढी कारोबार गर्छ । 

थोरै पुँजीबाट व्यापार थालेका उनले २००३ सालयता पछाडि फर्किएर हेर्नुपरेको छैन । साबुन, तेल, रस मिठाई, कस्मेटिक, एल्केन वाटर प्युरिफाइजस्ता विलासी वस्तु वितरण गर्ने राज्यकै एक मात्र वितरक हुन् सेना । सरकारले नेपालीभाषीलाई व्यवसाय गर्न पाउने सम्पूर्ण अधिकार दिए पनि जग्गा जमिन किनेर घरै बनाउनचाहिं प्रतिबन्ध छ । पहिलाचाहिं थियो, अहिले स्थगित छ । तर, व्यापारमा रोकावट छैन । जैसी भन्छन्, 'मिजोसँग चाहिं प्रतिस्पर्धा बढी गर्नुपर्छ ।' 

मिजोरमको खट्ला, कोलोसिप, आइजोल लगायत क्षेत्रमा नेपाली व्यापारमा जमेका छन् । पछिल्लो समय उनले व्यापारलाई 'फेमिली बिजनेस' का रूपमा विस्तार गरिरहेका छन् । व्यापारलाई भविष्यमा बंगालको सिलिगुडीसम्म विस्तार गर्ने योजनामा छन् सेना । 'गुवाहाटीमा अवसर पाएको हो तर गर्ने इच्छा भएन । अब सिलिगुडीमा विस्तार गर्ने सोच छ,' उनी भन्छन् । 

मामा (सेना जैसी) को प्रेरणाबाट व्यापारमा फाल हानेका वसन शर्मा, ३०, पनि मिजोरममा पछिल्लो पुस्ताका सफल व्यवसायी मानिन्छन् । सन् २००४ मा ग्रेजुएसन सकेर उनी व्यापारमा छिरेका हुन् । भन्छन्, '९९ प्रतिशत व्यापारी मिजो छन् । १ प्रतिशतमा गोर्खा, मारवाडी, बंगाली छन् ।' मिजोरममा सानाठूला गरी ३० देखि ४० प्रतिशत नेपालीभाषी व्यवसायमा आश्रति छन् । उनीहरूको वाषिर्क कारोबार २ अर्ब नाघ्छ । 

सन् १९७४ ताका भोजपुरबाट कामको खोजीमा मिजोरम पुगेका जसबहादुर राई, ६०, मिजोरमको राजधानी आइजोलमा होटल व्यवसायमा जमेर बसेका छन् । मिजो महिलासँग घरजम गरेपछि उनको भाग्य चम्किएको हो । 'काम खोज्दै आएको यतै घरजम गरियो,' जसबहादुरले भने । उनी ५ वर्षदेखि होटल व्यवसायमा छन् । उनको पर्यटकीय स्तरको निजी होटल छ । बहुसंख्यक मिजोहरूको भीडमा गायिका रुपा लोहार, ४० हराउन पनि सक्थिन् । तर, संगीतप्रतिको उनको निरन्तरको मिहिनेतले उनी मिजोमाझ पनि लोकपि्रय बनिन् ।

रुपाको गायनप्रतिको मोह बाल्यावस्थादेखिकै हो । रुपाको नेपाली लवज जति मीठो छ, त्योभन्दा धेरै गुणा सुरिलो छ स्वर । नेपाली गीतसंगीतप्रति हुरुक्किने मिजोरमका नेपालीभाषीमाझ उनी त्यत्तिकै लोकपि्रय बनेकी भने होइनन्, लामो संघर्ष र निरन्तरताले लोकपि्रय बनाएको उनी ठान्छिन् । 'यो अवस्थामा आउन मैले ३० वर्षभन्दा बढी संघर्ष गर्नुपर्‍यो,' उनले विगत कोट्याइन्, 'त्यो बेला नेपाली गीतसंगीत सिक्न चानचुने थिएन ।' हरेक क्षेत्रमा मिजोहरूको एकाधिकार रहेको यो पहाडी राज्यमा रुपाले गायनमार्फत स्थापित हुन कति पापड पेल्नुपर्‍यो, त्यसको कुनै लेखाजोखा नै छैन । अझै पनि मिजोरममा नेपाली गीतसंगीतको अवस्था त्यति राम्रो भइहालेको छैन । 

नेपाली संगीत अहिले जुन स्तरमा पुगेको छ त्यसको सम्पूर्ण श्रेय जान्छ बैरागी संगीत परिवार र त्यसका संस्थापक डा. गुनू घर्ती, ५६ लाई । बामे सर्दै नेपाली साहित्य र संगीतलाई बैरागी संगीत परिवारले नै उकासेको हो । २५ वर्षअघि डा. गुनूलाई लागेछ, मिजोहरूको आफ्नै गीतसंगीतका संस्थाहरू प्रशस्त छन् । तर, गोर्खाको किन नहुने ? त्यसपछि गीतसंगीतका माध्यमबाट नेपाली जातिको उत्थान गर्ने सोचका साथ सन् १९८८ सालमा संगीत परिवारलाई जन्माए गुनूले । 'त्यसपछि मिजोरमका नेपालीभाषीहरूको गीतसंगीतप्रति रुचि पनि बढेर गयोे,' भन्छन्, 'जसका कारण बैरागी संगीत जन्मियो ।' संगीत परिवार जन्माएका गुनूले त्यसपछि रवि तामाङ, रुपा लोहारलगायतका सर्जक स्थापित गरेका हुन् । गूनु आफैँ बहुप्रतिभाशाली व्यक्ति हुन् । गानाबजानादेखि अभिनयसम्म गर्न उनी अब्बल छन् । गीतसंगीतका अलावा फिल्म क्षेत्रमा पनि उनले हात हालेका छन् । रिलिजको तयारीमा रहेको नेपाली चलचित्र 'गोरे' मा गूनुको अभिनय हेर्न सकिन्छ । 

Published on: 29 September 2014 | Kantipur

Back to list

;