s

नाना, खाना र छानामै सिद्धिन्छ रेमिटेन्स

रेमिटेन्समार्फत भित्रिएको रकमको झन्डै ९५ प्रतिशत अंश दैनिक उपभोग्य वस्तु, मोबाइल, लुगा, तथा मनोरञ्जन लगायतमा खर्च हुने गरेको छ। रेमिटेन्स रकम पुँजी निर्माणको काममा जान सकेको छैन। गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका अनुकम्पबाट क्षति पुगेका भवनको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि पनि रेमिटेन्सको रकम खर्च हुने गरेको छ। उत्पादनमूलक क्षेत्रमा अझै पनि त्यस्तो रकम परिचालन हुन नसकेको अर्थविद्हरु बताउँछन्।
 
विदेशमा रोजगारीका लागि गएकाले पठाएको पैसा रेमिटेन्स दैनिक उपभोग्य सामग्रीमै खर्च हुने गरेको अर्थ मन्त्रलयको निजीकरण इकाईका उपसचिव बासुदेव शर्मा पौडेलले बताए। 'रेमिटेन्सको अधिकांश हिस्सा खाद्यान्न तथा कपडा, मोबाइल फोन, विवाह र घर निर्माणमा खर्च हुने गरेेको छ,' उनले भने, 'गाँउमा बाटो पुगेकाले रेमिटेन्स मोटरसाइकल किन्नमा पनि खर्च हुने गरेेको छ।'
 
शर्माले रेमिटेन्स प्राप्त गर्ने ग्रामीण र सहरी भेगका क्रमशः ७७ र १५ गरी ९२ घरधुरीमा सर्वेक्षण गरेर उक्त निष्कर्ष निकालेका हुन। नमुना छनौट परिवारको आर्थिक तथा सामाजिक अवस्थामा उल्लेख सुधार आएको र गरिबी कम भएको शर्माको भनाई छ।
 
रेमिटेन्सबाट आएको रकमको सानो हिस्सा मात्र बचत हुने गरेको छ। वैदेशिक रोजगारमा गएकाले पहिलो वर्ष कमाएको रकम ऋण भुक्तानीमै खर्च हुने गरेको सेवा रेमिट प्रालिका मेनेजर विभयराज आर्चायले बताए। 'त्यसपछि कमाएको रकमको बढी अंश दैनिक उपभोग्ामा खर्च हुने गरेको छ,' उनले भने, 'पुँजी निर्माणमा त्यस्तो रकम कम प्रयोग भएको छ।'
 
गत आर्थिक वर्षमा ६ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आव २०७०/०७१ मा ५ खर्ब ४३ अर्बभन्दा बढी रेमिटेन्स आएको थियो। त्योभन्दा अघिल्लो वर्ष रेमिटेन्स ४ खर्ब ३४ अर्ब नाघेको थियो।
 
भूकम्पपछि रेमिटेन्स भित्रिने क्रममा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए। वैशाख १२ र २९ को शक्तिशाली भुइँचालोले घर भत्काएपछि विदेश बस्नेले स्वदेशमा रहेका आफन्तलाई साबिकको तुलनामा बढी पैसा पठाउन थालेपछि रेमिटेन्सको आकार बढेको पंगेनीले बताए।
 
भूकम्पपछि रेमिटेन्स कम्पनीहरुले निःशुल्क रकम पठाउने व्यवस्था गरेका थिए। यसले पनि रेमिटेन्स बढ्न मद्दत पुगेको विज्ञहरुको भनाइ छ। चालु आर्थिक वर्ष रेमिटेन्स आउने क्रम अझै बढ्ने अनुमान छ।
 
भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माण, नाना र खानाको प्रबन्ध गर्न विदेश बसेका आफन्तले बढी रकम पठाउने भएकाले रेमिटेन्सको आकार अझै बढ्ने अनुमान गरिएको पंगेनीले बताए। 'भूकम्पअघि डलरको भाउ बढ्ला र पठाउँला भनेर बाटो हेरी बस्नेले तत्काल राहतका लागि रकम पठाउन थालेकाले रेमिटेन्स बढेको हो,' उनले भने, 'दसैंतिहारमा पनि यो क्रम जारी रहने देखिन्छ।'अवैधानिक बाटो (हुन्डी) बाट पनि ठूलो परिमाणमा आउजाउ हुने गरेको विज्ञहरुको अनुमान छ।
 
वैदेशिक रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै धान्ने गरी रकम पठाएका छन्। त्यस्तो रकमबाट पुँजी निर्माण भने हुन नसकेको बताइन्छ। तर अहिले विदेशबाट आएको रकम भूकम्प प्रभावित क्षेत्रमा उत्पादनमूलक क्षेत्रमा लगानी हुन थालेको राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रमणि अधिकारी बताउँछन्। 'भूकम्प प्रभावित क्षेत्रमा पहिलो आवश्यकता आवास भएकाले पुनः निर्माणका लागि रेमिटेन्सको रकम परिचालन हुने क्रम बढेको छ,' उनले भने, 'आवश्यकता पहिचान गरी त्यसैमा लगानी केन्द्रित हुन्छ।'
 
भूकम्पले प्रभाव नपारेको क्षेत्रमा पनि पछिल्लो समय विदेशबाट आएको पैसा बालबालिकाको शिक्षा, स्वास्थ्य, जग्गा तथा आवास, व्यवसायमा लगानी हुन थालेको अधिकारीको भनाइ छ। खाडी क्षेत्रबाट आउने रेमिटेन्स भने पुँजी निर्माणमा प्रयोग हुन नसकेको एक अध्ययनले देखाएको उनले जानकारी दिए।
 
'खाडी गएका नेपालीको आम्दानी कम हुने र त्यस्तो रकम दैनिक उपभोग्य वस्तु र मनोरन्जनका साधनमै खर्च हुने भएकाले पुँजी निर्माण हुन नसकेको हो,' उनले भने, 'अन्य देशबाट आउने रकमबाट भने पुँजी निर्माण हुन थालेको छ।' पहिलाको जस्तो समाज अहिले छैन। उज्वल भविष्यका लागि पुँजी निर्माण गर्नुपर्छ भन्ने भावनाको विकास भएको उनको भनाइ छ।
 
सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। विदेशबाट नगदबाहेक सुन, मोबाइल, टिभी जस्ता भौतिक सामान पनि आउँछन्।
 
झिटीगुन्टा व्यवस्थाअन्तर्गत विदेशबाट फर्किने नेपालीले प्रतिव्यक्ति ५० ग्रामसम्म (४.३ तोला) सुन भन्सार नतिरी ल्याउन पाउँछन्। उक्त सुविधाअन्तर्गत सुन ल्याएर स्वदेशमा बिक्री गर्दा २५ हजार रुपैयाँसम्म फाइदा हुन्छ। यसैगरी ६ महिनाभन्दा बढी विदेशमा बस्नेले ३२ इन्चसम्मको टिभी भन्सार नतिरी ल्याउन पाउने सुविधा सरकारले दिएको छ।
 
केन्द्रीय बैंकका अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जानेको संख्या पनि निरन्तर बढेकाले रेमिटेन्स बढ्दै गएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल भित्रिने रेमिटेन्स वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेका थिए। त्यसविपरीत रेमिटेन्स प्रत्येक वर्ष बढ्दै गएको छ।
 
वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रकम पुँजी निर्माणको काममा खर्च हुन नसके पनि परिवारको जीवनस्तरमा भने सुधि्रएको विज्ञहरुको भनाई छ।
 
रेमिटेन्सले कामदार, सरकार, रेमिटेन्स कम्पनी र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ। कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म्ा पुर्यानउने काम रेमिटेन्स कम्पनी र बैंकहरुले गरेका छन्।
 
Published on: 1 October 2015 | Nagarik
 

Back to list

;