s

नेपाल-कतार श्रम वार्तामा आ-आफ्नै अडान

होम कार्की

नेपालले कतार सरकारलाई कम्पनीले भिसा नलगाइदिएको कामदारलाई पक्राउ गरी स्वदेश फिर्ता पठाउने कार्यलाई रोक्न अनुरोध गरेको छ । कतार र नेपालबीच भएको श्रम सम्झौता कार्यान्वयन गर्न देखिएको जटिलतालाई हटाउन दुई देशबीचका अधिकारीबीच चलेको पहिलो 'प्राविधिक बैठक' मा नेपालले यो विषयलाई औपचारिक रूपमा उठाएको हो । 'भिसा लगाउने काम कम्पनीको हो । भिसा नलगाइदिने कम्पनीविरुद्ध कारबाही हुनुपर्छ,' वार्ता टोलीका सदस्य समेत रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसीले भने, 'कामदारलाई पक्राउ गरेर पठाउनु भएन भन्ने विषय राखेका छौं ।' कामदारहरूले आईडी कार्ड नहुँदा प्रहरीले पक्राउ गर्ने गरेको भन्दै कम्पनीविरुद्ध नेपाली दूतावासमा उजुरी दिइरहेका छन् । कतारले अहिले गैरकानुनी कामदारलाई समात्ने अभियान थालेको छ । त्यसमा आईडी नलगेका कामदार पनि परिरहेको दूतावासले जनाएको छ ।   

बैठकमा नेपालले दोहोरो श्रम सम्झौता हुने प्रक्रियालाई रोक्नको लागि विशेष सहयोग गर्न अनुरोध गरेको छ । 'रोजगारदाता कम्पनीले चेम्बर अर्फ कमर्स र दूतावासबाट प्रमाणित गरेर पठाएको करारपत्रअनुसार कामदार कतारमा आएका हुन्छन् । तर, कतारमा आउँदा रोजगारदाता कम्पनीले पुनः दोस्रो करारपत्र गराउँदा अर्को गराउने गरेको छ,' श्रम मन्त्रालयका श्रम महाशाखाका प्रमुख तथा वार्ता संयोजक वृद्धिबहादुर खड्काले भने, 'अब कतारको श्रम मन्त्रालयले रोजगार करारपत्रमा प्रमाणित गर्नुअघि पहिलेसँग मिलान गरिदिनुपर्‍यो भनेर उठाएको छ ।'

नेपालले कतारमा आउने कामदारको न्यूनतम तलब खानासहित १२ सय रियाल लागू गरे पनि दोहोरो करारपत्र गर्दा तलब फरक पर्ने गरेको छ । बैठकमा करार अवधि सकेका र आपतकालीन परेकालाई घर जान पाउने व्यवस्था मिलाइदिन, कतारमा ल्याइएको कामदारलाई अन्य मुलुकमा काम गर्न नपठाउन, २४ घन्टे बिमा व्यवस्था मिलाउन, देशको आधारमा तलब फरक गर्ने व्यवस्था हटाउन, मुद्दा खेपिरहेकालाई अल्पकालीन रूपमा काम गर्न पाउने, अदालत र श्रम विभागमा दोभाषेको व्यवस्था गर्नुपर्नेजस्ता एजेन्डा अघि सारेको छ । कतारको तर्फबाट नेपालबाट कामदार आपूर्ति निकै ढिलो हुने गरेको, हडतालमा जाने गरेको भन्दै समस्या नेपालबाटै हुनेमा जोड दिएका थिए । 'हामीलाई कामदार पठाउने प्रक्रिया एकदमै ढिलो भइरहेको छ । व्यक्तिगत रूपमा हाउसमेड ल्याउन पाउनुपर्नेमा जोड दिएका छन्,' केसीले भने, 'त्यसमा हामीले नेपालबाट कामदार पठाउने प्रक्रिया सरकारबाट ढिलो नभई रोजगारदाता कम्पनी र म्यानपावरबीचको ढिलोले भएको भन्ने जवाफ दिएका छौं ।' श्रम सम्झौतापछि बसेको पहिलो प्रबिधिक बैठकलाई कतारले निकै महत्त्व दिएको खड्काले बताए । 'यस बैठकले उठेको महत्त्वपूर्ण एजेन्डाहरूलाई कार्यान्वयन गर्न निर्णय हुनेछ,' उनले भने, 'यो बैठकको अन्तिम निष्कर्ष आइतबार हुनेछ ।' कतार नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो । यहाँ चार लाख नेपाली कार्यरत रहेका छन् ।

Published on: 30 June 2013 | Kantipur

Back to list

;