s

नेपाली ठग्‍ने नेपाली

वैदेशिक रोजगारका क्रममा बिदेसिएका नेपालीलाई विभिन्न बहानामा ठग्ने दलालको धन्दा स्वदेशमा मात्रै नभएर विदेशमा पनि मौलाएको छ। पछिल्लो समय वैदेशिक रोजगारमा रहेका नेपालीलाई अपहरण गरेर बन्धक बनाउने र परिवारका सदस्यलाई फोनबाट धम्क्याएर फिरौती उठाउने काममा आपराधिक गिरोह सक्रिय भएका छन्। दलालीलाई विभिन्न चरणमा कमिसन बुझाएर विदेशी भूमिमा पसिना बगाउन पुगेका नेपाली आपराधिक क्रियाकलापमा संलग्न समूहका कारण ज्यानलाई दाउमा राखेर बाँच्नुपर्ने अवस्थामा पुगेका छन्। विदेशी भूमिमा दुःख विराम वा कुनै आपत् पर्दा सहयोग आदानप्रदान गर्नुपर्नेमा थर्काएर रकम उठाउने र आफूले भनेजति रकम नदिएमा ज्यानै लिनेसम्मका काम हुनु दुःखद् हो। यस गिरोहको पहिचान गरेर कडा कारबाही नगर्ने हो भने यस्तो धन्दा नेपाली पुगेका हरेक मुलुकमा फेसनको रूपमा मौलाउनेछ।

श्रम गर्न विदेश पुगेका नेपाली कामदारले कहिले रोजगारदाता कम्पनीले कबुल गरेअनुसारको काममा नलगाउने त कहिले सम्झौतापत्रमा तोकिएअनुसारको सेवासुविधा नपाउनेजस्ता समस्या भोगिरहेका छन्। त्यसैमाथि सात समुद्रपारि पुगेर पनि आफ्नै दाजुभाइबाट ठगिनुपर्ने र कहिलेकाहीं त ज्यानकै जोखिम मोल्नुपर्ने कठिन परिस्थति आउनुले उनीहरूको सुरक्षामा चिन्ता थपेको छ। हालै मलेसियाको टप ग्लोभ कम्पनीमा क्यान्टिन सञ्चालन गरिरहेका मोरङका सुन्दरबहादुर श्रेष्ठले मलेसियामै दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा १६ लाख रुपैयाँ फिरौती उठाएको रहस्य खुलेको छ। मलेसियामा बन्धक रहेका पति छुटाउन मध्मकी पत्नी अनिताले दुईपटक गरेर श्रेष्ठको हिमालयन बैंकमा रहेको खातामा पैसा जम्मा गरेकी थिइन्। विगतमा खासै कारोबार नभएको बैंक खातामा दुईपटकमा मोटो रकम जम्मा भएको तर उक्त रकमको स्रोत नखुलेका कारण बैंकका कर्मचारीले अनितासँग सोधपुछ गरेपछि मात्रै घटना बाहिर आएको हो। घटनाबारे बैंकबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा समेत खबर आएपछि सुन्दर नेपालबाट पक्राउ परेका छन्। विदेशमा पत्नी धनमाया श्रेष्ठ र चालक श्याम नेपालीको सहयोगमा मध्मलाई मलेसियामा ६ दिन बन्धक राख्ने योजना बनाएर नेपालमा फिरौती उठाउन उनी नेपाल आएका थिए।

नेपालीले नेपालीलाई ठग्ने क्रम खाडी मुलुक मात्रै नभएर अन्य राष्ट्रमा पनि फैलिएको छ। नेपालीको सेवा गर्ने नाममा राजनीतिक दलैपिच्छे सम्पर्क समिति गठन गर्ने, नेपाली सेवा समाजका नाममा सञ्जाल बनाउने र नेपालीबाट सहयोग तथा लेबी उठाएर कुस्त कमाउने नेपाली गिरोह युरोप, अमेरिका, अस्ट्रेलियालगायतका मुलुकमा समेत सक्रिय छन्। यस्ता सञ्जालले केहीसँग स्वेच्छिक रूपमा चन्दा उठाए पनि निम्छरासँग भने जबर्जस्ती सहयोग माग्ने र कहिलेकाहीं त धम्की दिने, नेपाली समुदायबाट एक्ल्याइदिनेजस्ता गतिविधि पनि गर्ने गरेका छन्। कतिपय अवस्थामा संस्थाका पदाधिकारी त लेबी तथा अन्य प्रकारको सहयोग नदिने कामदारको मालिकसँगै साँठगाँठ गरेर उक्त व्यक्तिलाई रोजगारबाटै निकालिदिने हैसियतमा समेत पुगेका छन्। कुनैकुनै मुलुकमा त दैनिक रोजगारमा लाग्नुको सट्टा यस्तै गतिविधिमा लागेर गुजारा टार्नेहरूको बिगबिगी नै छ।

सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपाली संघलगायतका जिम्मेवार संस्थाले यस्तो काम रोक्न विशेष पहल गर्नुपर्छ। कामदार ठगिएपछि ठगलाई पक्रेर कानुनी कारबाही गर्नु एउटा पक्ष भए पनि यस्ता गतिविधि निरुत्साहित गर्नेतर्फ सबैको शक्ति परिचालन गर्नुपर्छ। कामै नगरी अरूका कमाइमा मोजमस्ती गर्न पल्केकालाई निरुत्साहित गर्नुपर्छ। आफू काम नगर्ने तर अरूका कमाइमा गिद्धे नजर लगाउनेलाई श्रम गर्न सिकाउनुपर्छ।

Published on: 9 October 2020 | Annapurna Post

Link

Back to list

;