s

नेपालीको उद्धारमा मलेसियाली सहयोग

मलेसियामा विभिन्न अभियोगमा जेलसजाय भोगेका तर हवाई टिकट अभावमा घर फिर्न नसकेका नेपालीहरूलाई उद्धार गर्न तीन मलेसियाली कम्पनीले आर्थिक सहयोग गरेका छन् । सुरक्षागार्ड भर्ती गर्ने मलेसियाली कम्पनीहरू एमएसी सेक्युरिटी कन्सल्ट्यान्ट्स, युनिभर्सल गार्डस् र अल सेफ गार्डस् एसडीएन बीएचडी नामक कम्पनीले १५ हजार रिंगिट आर्थिक सहयोग गरेका हुन् । नेपालीको उद्धारका लागि स्थानीय कम्पनीहरूको सहयोग लिइएको यो पहिलोपटक हो ।

मलेसियाली कम्पनीहरू र यहाँस्थित नेपाली दूतावासबीच बुधबार एक सम्झौतापत्रमा यससम्बन्धी हस्ताक्षर भएको छ । कम्पनीका प्रतिनिधि र दूतावासका तर्फबाट राजदूत निरञ्जनमान सिंह बस्न्यातले उक्त पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार तीनवटै कम्पनीले प्रत्येक वर्ष संयुक्तरूपमा फिर्ती केन्द्रका नेपालीलाई घर फर्काउन ४० वटा हवाईटिकट उपलब्ध गराउनेछन् ।

आफ्ना नागरिकको उद्धारका लागि विदेशी कम्पनीसित आर्थिक सहयोग लिँदा राम्रो सन्देश नजाने भन्दै कतिपयले सरकारले नै आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । 'आफ्ना नागरिकलाई सरकारले नहेरे कसले हेर्ने ?' एक नेपाली व्यवसायीले भने, 'विदेशीसित सहयोग लिँदा राम्रो सन्देश जाँदैन ।' 

दूतावासले भने सामाजिक उत्तरदायित्वको अवधारणाअन्तर्गत सहयोग लिएको जनाएको छ । राजदूत बस्न्यातले कान्तिपुरसित भने, 'संसारका सबैजसो देशमा यो अवधारण अन्तर्गत सहयोग दिने/लिने गरिन्छ ।' यसले दूतावासको कामकारबाहीमा समेत कुनै असर नगर्ने उनको भनाइ थियो । उनले सामाजिक उत्तरदायित्वको अवधारणाअन्तर्गत अन्य इच्छुकले पनि पीडित नेपालीका लागि आर्थिक सहयोग गर्न सक्ने बताए । 

दूतावासका अनुसार मलेसियाका घरफिर्ती केन्द्रहरूमा अझै ६ सय ११ जना छन् । तीमध्ये ३५ जना नेपालीलाई केही दिनपछि फर्काइँदै छ । दूतावासले करिब एक साताअघि ३५ नेपालीलाई हवाई टिकटको व्यवस्था गरी फर्काएको थियो । यसअघि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट रु २० लाख प्राप्त भएपछि मलक्कास्थित फिर्ती केन्द्रमा रहेका नेपालीहरूको उद्धार गरिएको थियो । 

Published on: 27 June 2014 | Kantipur

Back to list

;