s

नेपालीलाई सुरक्षित फर्काइदिन आग्रह

सरकारले द्वन्द्वग्रस्त राष्ट्र इराकबाट नेपाली नागरिक प्रवेश गरे सहज रूपमा स्वदेश फर्कने वातावरण बनाइदिन इरान र टर्कीसँग आग्रह गरेको छ। पाकिस्तानस्थित नेपाली दूतावासले इराकमा द्वन्द्व चर्किंदै गएकाले त्यहाँबाट भागेर छिमेकी राष्ट्रमा पुग्नसक्ने नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काइदिन आग्रह गरेको हो।

'इराकसँग सीमा जोडिएका राष्ट्र इरान र टर्कीलाई कोही नेपाली नागरिक इराकबाट त्यहाँ आइपुगे मानवीयताको आधारमा घर फर्किने वातावरण बनाइदिन आग्रह गरेका छौं,' पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले टेलिफोनमा नागरिकसँग भने, 'सीमा जोडिएका अन्य राष्ट्र कुवेत, साउदी अरब र जोर्डनसँग् पनि यस्तै अनुरोध गर्न परराष्ट्र मन्त्रालयलाई सुझाव दिएको छु।'

पाकिस्तानस्थित नेपाली दूतावासलाई इराक, इरान र टर्कीको समेत हेर्ने जिम्मेवारी दिइएको छ। इराक, इरान र टर्की आफ्नो जिम्मेवारीभित्र पर्ने हुनाले सहयोग गरिदिन आग्रह गरेको उनले बताए। इरान र टर्की आफ्नो आग्रहप्रति सकारात्मक भएको समेत उनले जनाए। इराकलाई समेत नेपालीलाई स्वदेश फर्कने वातावरण सहज बनाइदिन आग्रह गरेको राजदूत पौड्यालले बताए। इराकी कानुनअनुसार कामदार जुन विमानस्थलबाट प्रवेश गरेको हो, त्यहीँबाट बाहिरिनुपर्ने हुन्छ। द्वन्द्व चर्केका कारण अहिले यो सम्भव देखिँदैन। 'विषम परिस्थितिमा जुन विमानस्थलबाट प्रवेश गरेको हो, त्यहीँबाट बाहिरिन सम्भव देखिँदैन। त्यसैले तत्कालका लागि यो कानुनमा छूट दिन नेपाल सरकारको तर्फबाट इराकसमक्ष अनुरोध गरेको छु,' उनले स्पष्ट पारे। 

द्वन्द्वका कारण अप्ठेरोमा परेका नेपालीलाई उद्धारमा सहयोग गरिदिन इराकमा रहेको आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) लाई विशेष अनुरोध गरिएको उनले जानकारी दिए। इराकको टिक्रिटबाट उद्धारका लागि सहयोग मागिरहेका तीन नेपालीलाई सहयोग गरिदनसमेत आइओएम र आइसिआरसीलाई अनुरोध गरिएको छ। उनीहरु बसेको इराकी नेताको घरमा विद्रोही सेनाले आक्रमण गरेपछि भागेर सुरक्षित स्थान पुगी उद्धारका लागि उनीहरुले आग्रह गरेका हुन्। 'फसेकालाई छिटो उद्धार गरिदिन इराकी विदेश मन्त्रालयका एसिया तथा प्यासिफिक महाशाखा प्रमुखलाई आग्रह गरेको छु। आइओएम र आइसिआरसीलाई समेत औपचारिक तथा मौखिक रुपमा अनुरोध गरिएको छ। केही दिनमै उनीहरुको उद्धार हुने आश्वासनप्राप्त भएको छ,' उनले भने। 

राजधानी बग्दादबाहिरको अवस्था एकदमै चिन्ताजनक छ। उत्तरी इराकमा इस्लामिक कट्टरपन्थी सुन्नी समूह (आइएसआइएस) ले 'इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया' माग गर्दै युद्ध सुरु गरेपछि सुरक्षा स्थिति बिग्रिएको हो। आइएसआइएसले इराकी सेनाको अड्डामा आक्रमण गरिहेको छ भने उत्तरी भागका केही सहर कब्जामा लिइसकेको छ। विद्रोही समूह अहिले राजधानी बग्दादबाट ६० किलोमिटरमात्र टाढा छ। 
आइएसआइएसले चार नेपालीसहित ४८ विदेशी कामदारलाई केही दिनअघि अपहरण गरेको थियो। उनीहरुलाई गत शुक्रबार मुक्त गरिएको छ। अपहरणमुक्त भएका नेपालीसहित बंगलादेशी र भारतीय कामदारलाई एक होटलमा राखिएको र एकसाथ स्वदेश फर्काउने तयारी भइरहेको राजदूत पौड्यालले जनाए। 

इराकबाट नेपाल फर्कने चाहनेलाई राहदानीको समस्या नहुने समेत उनले स्पष्ट पारे। 'राहदानी नभएकालाई स्वदेश फर्कन ट्राभल डकुमेन्ट दिइन्छ, यो समस्या होइन। आवश्यक परे आइसिआरसीले समेत यस्तो ट्राभल डकुमेन्ट उपलब्ध गराउँछ,' उनले भने। 
राजदूत पौड्यालका अनुसार अहिले उद्धारका लागि इराकका विभिन्न ठाउँमा रहेका नेपालीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ। ज्यादै सानो संख्याले मात्र दूतावासमा सम्पर्क गरेको उनले जनाए। 'हामी कसरी हुन्छ छिटो, सहज र सुरिक्षत तवरले नेपालीलाई स्वदेश फर्काउने प्रयासमा छौं,' उनले बताए। 

इराकमा द्वन्द्व चर्किंदै गएपछि सरकारले त्यहाँ रहेका नेपालीको उद्धार प्रक्रिया अघि बढाउन शुक्रबार टोल फ्रि नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको थियो। सरकारले वैदेशिक रोजगारको सिलसिलामा इराक जान प्रतिबन्ध लगाए पनि त्यहाँ अवैधरुपमा गएका नेपाली कामदार १५ हजार हाराहारी रहेको अनुमान छ।

Published on: 23 June2014 | Nagarik

Back to list

;