s

नेपालमै पढ्दा पनि बिदेसिन्छ वार्षिक पाँच अर्ब

सूर्यप्रसाद पाण्डे

विदेशी विश्वविद्यालयहरूसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम चलाउने संस्थामार्फत वार्षिक पाँच अर्ब रुपैयाँ बिदेसिने गरेको छ। शैक्षिक कार्यक्रम चलाउन विदेशी विश्वविद्यालयलाई तिर्नुपर्ने सम्बन्धन शुल्क, परीक्षा शुल्क तथा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने प्रमाणपत्रलगायतका शीर्षकमा यति ठूलो रकम बाहिरिने गरेको हो। शिक्षा मन्त्रालयको पछिल्लो अध्ययनअनुसार यसरी बिदेसिने रकम वार्षिक पाँच अर्बको हाराहारीमा छ। तर यसको आधिकारिक अभिलेख मन्त्रालयले राख्‍न सकेको छैन।

मन्त्रालयको तथ्यांकअनुसार विदेशी विश्वविद्यालय तथा बोर्डबाट सम्बन्धन लिएका ६९ वटा संस्थाले विभिन्न शैक्षिक कार्यक्रम सञ्‍चालन गरिरहेका छन्। यीमध्ये ३३ वटा संस्थामा ए लेभलको पढाइ हुन्छ। बाँकीले प्रमाणपत्रदेखि स्नातकोत्तर तहसम्मका विभिन्न प्राविधिक तथा व्यावसायिक विषयमा शैक्षिक कार्यक्रम सञ्‍चालन गर्दै आएका छन्।

विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको संख्या पाँच हजारभन्दा बढी छ। ए-लेभल पढ्ने विद्यार्थीले परीक्षाका लागि प्रतिविषय करिब सात हजार रुपैयाँ बुझाउनुपर्छ। स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले विश्वविद्यालय र विषयअनुसार सबा लाखदेखि दुई लाख रुपैयाँसम्म बुझाउँदै आएका छन्। यो रकम कलेजले विद्यार्थीसँग उठाएर सम्बन्धित विदेशी संस्थाको खातामा जम्मा गर्नुपर्छ।

यसरी विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्‍चालन गरेबापत कलेज सञ्‍चालकले प्रतिविद्यार्थी एक हजार दुई सयका दरले शिक्षा मन्त्रालयलाई सेवाशुल्क बुझाउँदै आएका छन्। नेपालमा अमेरिका, बेलायत, थाइल्यान्ड, मलेसिया, भारत, फिलिपिन्स, सिंगापुरलगायत मुलुकका विश्वविद्यालयबाट सम्बन्धन लिएर कक्षा सञ्‍चालन गर्ने संस्थाको संख्या धेरै छ। नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएपछि यस्ता कलेजको संख्या बढेको हो।

विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार हृदयरत्‍न बज्राचार्यले भने, ‘डब्लूटीओको सदस्य भए पनि जथाभाबी सम्बन्धन लिने प्रवृत्ति रोक्‍नुपर्छ। देशको आवश्यकता र मागका आधारमा मात्र अनुमति दिनुपर्छ।’ अनुमतिमा कडाइ गर्न सकिए मुलुकमा विदेशी उत्कृष्ट विश्वविद्यालयका गुणस्तरीय कार्यक्रम मात्र सञ्‍चालन गर्न सकिने र सम्बन्धनबापत बिदेसिने रकम पनि रोकिने बज्राचार्यको भनाइ छ।

यस्ता शैक्षिक संस्थालाई कक्षा सञ्चालन अनुमति दिने शिक्षा मन्त्रालयअन्तर्गत उच्‍च तथा प्राविधिक शिक्षा शाखाका प्रमुख तुल्सी थपालियाले ए लेभल पढ्ने विद्यार्थीको संख्या घट्दै गए पनि अन्य विषय पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको बताए। ‘विदेशी विश्वविद्यालयसँगको सम्बन्धन भन्नेबित्तिकै विद्यार्थीको आकर्षण बढी हुने भएकाले पनि यस्ता संस्था खोल्ने क्रम बढेको हो’, थपलियाले भने। उनका अनुसार यसरी सम्बन्धन लिएर पढाइ चलाउन थप ५५ वटा संस्थाले मन्त्रालयमा निवेदन दिएका छन्। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजमा पढ्दा नेपाली विद्यार्थीले ती विश्वविद्यालयमै गएर पढ्दा तिनुपर्ने कुल रकमको करिब २० प्रतिशत कम तिरे पुग्‍ने सञ्‍चालकहरू बताउँछन्।

Published on: 14 September 2013 | Annapurna Post

Back to list

;