s

एनएमबी बैंक अब मलेसियामा

नेपाल राष्ट्र बैंकले एनएमबी बैंकलाई मलेसियामा आफ्नो सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्ने स्वीकृति दिएको छ। केन्द्रीय बैंकको स्वीकृतिसँगै विदेशमा यस्तो कार्यालय खोल्ने एनएमबी दोस्रो बैंक भएको छ। यसअघि नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई अस्ट्रेलियामा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्न स्वीकृति दिएको थियो।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलका अनुसार मलेसियाको केन्द्रीय बैंक, बैंक निगाराबाट, सम्पर्क कार्यालय खोल्न आवश्यक स्वीकृति लिइसकेपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो। एनएमबी बैंकले छिट्टै नै सम्पर्क कार्यालय खोल्ने तयारी गरेको पनि उनले बताए। सम्पर्क तथा प्रतिनिधि कार्यालयले मलेसियन बैंकहरूसँग सहकार्य गरी सम्पर्क बिन्दुका रूपमा कार्य गर्नुका साथै ग्राहकलाई मलेसियन व्यवसायीसँग कारोबार गर्न सल्लाहकार सेवासमेत प्रदान गर्नेछ। यसबाट दुई देशबीच व्यापार अभिवृद्धि हुनुका साथै नेपाली अर्थतन्त्र एवं उपलब्ध वित्तीय सेवासम्बन्धमा जानकारी आदानप्रदान गर्न सहयोग मिल्नेछ। अघिल्लो साता नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई अस्टे्रलियामा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्नका लागि यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको छ। नेपाल राष्ट्र बैंकले नेपाली बैंकलाई विदेशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्ने मात्र होइन शाखा नै खोल्न पनि छुट दिएको छ।

नेपाली बैंकहरू अन्य देशको नियमन एवं पुँजीको संरचना अध्ययन गर्दैछन् । पौडेलका अनुसार नेपाली बैंकको सम्पर्क कार्यालय खोल्ने हालका प्रयास विदेशमा शाखा कार्यालय खोल्ने प्रयासको पहिलो चरण हो।

Published on: 20 November, 2014 | Annapurna Post

Back to list

;