s

ओमन र बहराइनमा पनि दूतावास

दिनेश रेग्मी

खाडी मुलुकको ओमन र बहराइनमा कार्यरत नेपालीले वर्षौंदेखि नेपाली दूतावास खोल्न गरेको माग अब पूरा हुँदैछ । दुवै मुलुकमा दूतावास खोल्न परराष्ट्र मन्त्रालयबाट ती देशका लागि दुई कार्यवहाक राजदूत गइसकेका छन् ।

ओमनका लागि नेपाली कार्यवहाक राजदूत उपसचिव झवीन्द्रप्रसाद अर्याल बिहीबार ओमनको राजधानी मस्कट पुगेका छन् । बहराइनका लागि कावा राजदूत उपसचिव दुबसु छेत्रीले मन्त्रालयबाट रमाना लिइसकेका छन् । निजी कामका लागि बैंकक गएका उनी सम्भवतः यही शनिबार बहराइन पुग्ने मन्त्रालयका अधिकारीले बताए ।

कावा राजदूत स्तरीय दूतावासका लागि ओमान र बहराइनमा कावा राजदूतहरूको लगत्तै एक-एक जना नायब सुब्बाहरू परराष्ट्रबाट जाने तय भइसकेको छ । कावा राजदूतहरूले त्यहाँस्थित विदेश मन्त्रालयसँग सम्पर्क गरी नेपालीलाई पायक पर्ने ठाउँमा दूतावास भवन खोल्ने छन् । उनीहरूले स्थानीय कर्मचारीसमेत भर्ना गरी दूतावास सञ्चालन गर्ने परराष्ट्रका अधिकारीले बताए । दूतावास सञ्चालन भएपछि एक-एक श्रम सहचरीसमेत जानेछन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को ०६९ फागुन १० को बैठकले ओमानको राजधानी मस्कट र बहराइनको मनामामा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको थियो । सोही बैठकले साउदी अरेवियाको जेद्धामा कन्सुलेट र चीनको ग्वाङडोङ प्रदेशको राजधानी ग्वाङजाउमा कन्सुलेट जनरल स्थापनाको निर्णयसमेत गरेको थियो ।

दूतावास नभएको ओमान र बहराइनलाई यसअघि साउदी अरेवियाको रियादस्थित नेपाली दूतावासले सहप्रमाणीकरण गर्दै आएको थियो । ओमान र बहराइनमा दूतावास खुल्ने भएपछि सबैभन्दा बढी नेपाली भएको साउदीस्थित दूतावासको भारसमेत कम हुने भएको छ ।

जेद्धा र ग्वाङजाउमा भने कन्सुलेट खुलिसकेको छैन ।

खाडी समन्वय परिषद् -जीसीसी) का ६ देशमध्ये ओमान र बहराइनमा दूतावास खुल्ने भएपछि स्थानीय रूपमा कार्यरत नेपालीले सामाजिक संजालमार्फत खुसी व्यक्त गरेका छन् । खाडीमा नेपालीले काम गर्न थालेको ३ दशकभन्दा बढी भइसकेको छ । 'नेपालीलाई गुनासो पोख्ने ठाउँ पनि थिएन, अब त अभिभावक मिल्यो' १५ वर्ष ओमानमा रोजगारी गरेर फर्केका हेटौंडाका सुवर्ण कर्मचार्यले कान्तिपुरलाई भने, 'शोषणमा परेका हाउसमेड, लेबरहरूको अब बल्ल सुनुवाइ होला ।'

जीसीसीअन्तर्गतका अरू ४ देश साउदी अरब, संयुक्त अरब इमिरेस्ट -यूएई), कतार र कुवेतमा नेपाली दूतावास छन् । जीसीसीअन्तर्गतको ओमानमा २१ जनबरी १९७७ र बहराइनमा १३ जनबरी १९७७ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बराइनसँग नेपालको श्रम सम्झौतासमेत भइसकेको छ ।

ओमानमा करिब ४० हजार र बहराइनमा ३० हजार जति नेपाली कार्यरत रहेको अनुमान छ । मन्त्रिपरिषद्को वैशाख ३० गतेको निर्णयअनुसार दुवै देशलाई १/१ उपसचिव -कूटनीतिक सेवा) सहित परारष्ट्र र स्थानीय रूपमा कर्मचारी नियुक्तको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

Published on: 3 September 2013 | Kantipur

Back to list

;