s

परदेशीका पत्नी लुट्ने पक्राउ

परदेशीका पत्नी फकाएर रकम लुट्ने समूहका दुई जनालाई प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोले सुनसरी इटहरीबाट पक्राउ परेको छ। पक्राउ पर्नेमा भोजपुरको नेपालडाँडा ६ घर भई इटहरी बस्दै आएका प्रकाश न्यौपाने र मोरङको केरौन ५ घर भई इटहरी बस्ने घनश्याम न्यौपाने छन्।

दुवैले आफूलाई थोरै लगानीमा धेरै पैसा दिने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका हाकिम र कर्मचारी बताएर महिलालाई प्रेमजालमा पारी लुट्ने गरेको खुलेको प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताए। भदौ १७ मा ताप्लेजुङको फुङलिङ ६ की इन्दिरा बस्नेतलाई इलामको गाउँबेसी होटलमा बोलाएर ६ लाख ५० हजार लुटी फरार भएपछि उनीहरूविरुद्ध उजुरी परेको थियो। बस्नेतले ताप्लेजुङ फर्केर जिल्ला प्रहरीमा खबर गरेपछि क्षेत्रीय ब्युरो परिचालित भएको प्रहरी निरीक्षक यामल  सुब्बाले बताए। 

दुवैले इलाममा बस्नेतलाई बोलाएर आफूहरूको नाम दीपक दाहाल र अशोक थापा भनी परिचय दिएका थिए। बेहोस बनाई लुटेर उनको ब्यागमा कागजका मुठा राखिदिई भागेपछि पच्छ्याएको प्रहरीले अहिलेसम्म यसरी लुटिने दर्जनभन्दा बढी भएको जनाएको छ। बेग्ला-बेग्लै ठाउँमा नाम र फोन नम्बर फेर्दै दुवैले लुटेकामध्ये आधा दर्जन महिला सम्पर्कमा आएको बैदवारले जनाए। 

'मायाजालमा परेर लुटिएपछि समाजमा भन्न मिलेन, जाहेरी दिँदा पनि परिचय खुल्ने भो भनेर हतास रहेका महिलाको फोन आएका छन्,' उनले भने, 'विदेश बसेका लोग्नेले कसकसलाई कति पैसा पठाउँछ भन्ने खोजी गरेर तिनलाई ललाइफकाइ सहकारी र गैससको नाममा लुटेको खुलासा भएको हो।'

दुवैका गतिविधि दुई सातासम्म निगरानीपछि मंगलबार प्रमाणसहित पक्राउ गरिएको दाबी प्रहरीको छ। न्यौपानेद्वयका साथबाट ७ वटा मोबाइल बरामद भएको छ। उनीहरूमध्ये घनश्याम खम्बुवान मुक्ति मोर्चा संयुक्तका कोषाध्यक्ष हुन्। उनी चार वर्षअघि इटहरीमा बम विस्फोटमा संलग्न रहेको दाबी प्रहरीको छ। उनी तीन वर्षअघि हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परी ३ महिना १५ दिन थुनामा बसेर १५ हजार धरौटी राखी छुटेका हुन्। मुद्दा छिनोफानो भइसकेको छैन।

असन्तुष्ट राजनीतिक शक्तिसँग शान्ति तथा पुनर्निर्माण मन्त्रालयको टोलीले इटहरीमा वार्ता गर्दा उनी मोर्चाका तर्फबाट वार्ता संयोजकसमेत बसेका थिए। दुवैले सुनियोजित तवरले लुट्ने काम गरिरहेको पाइएको बताएको प्रहरीले प्रयोग भएका सबै मोबाइलमा अरूका नामबाट झिकेका सिम प्रयोग भएको पाएको जनाएको छ। 

'यिनीहरूले सीम लिने एरिया एउटै छ तर, कुनै गोर्खाका मान्छेको नाउँमा छ कोही कताको,' बैदवारले भने, 'भोजपुर, संखुवासभा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटा यिनीहरूले गतिविधि गरिरहेको जिल्ला रहेछ।' यसरी लुट्नेमा यिनीहरूका अरू साथीहरू पनि हुन सक्ने आशंकामा खोजी जारी रहेको उनले बताए।

Published on: 7 October 2014 | Kantipur

Back to list

;